बागलुङ, १४ चैत– धौलागिरि एकीकृत ग्रामिण विकास केन्द्र (डिआईआरडिसि) बागलुङले ५ दिने बहिरामैत्री शिक्षण तालिम सञ्चालन गरेको छ । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले बहिराहरुको क्षमता विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी बन्ने बताए । उनले फरक क्षमता भएकाहरुको हक हित सुनिश्चितताको लागि राज्यले नयाँ नीति अबलम्बन गर्नुपर्ने भनाई राखेका थिए । पौडेलले शैक्षिक, सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा बहिराहरुलाई पछि पारिएकाले हरेक क्षेत्रमा समान सहभागिताका लागि आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए । कार्यक्रममा धौलागिरि बहिरा आवासिय माध्यामिक विद्यालयका प्रध्यानाध्यापक मधुसुदन न्यूरे, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, बागलुङ बहिरा संघका अध्यक्ष सन्तोष पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम एकीकृत ग्रामिण विकास केन्द्र (डिआईआरडिसि) बागलुङका अध्यक्ष केवी राना मगरको अध्यक्षता र सालिकराम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । ५ दिने तालिमको जिल्ला शिक्षा कार्यालय बागलुङका स्रोत व्यक्ति ढकबहादुर पुन, हरिमाया घर्ति मगरले प्रशिक्षण दिने छन् । तालिममा झण्डै ३० जनाको सहभागिता रहेको डिआईआरडिसीले जनाएको छ । युवाहरुको बढ्दो बैदेशिक रोजगारलाई न्युनिकरण गर्नका लागि संस्थाले युवाहरुलाई विभिन्न तालिमहरु प्रदान गर्दै आइरहेको छ ।
Previous Articleबच्चा जन्मेको १ घण्टामै परिक्षामा सामेलभईन् फुलमायाँ
Next Article बिमा सम्बन्धी ज्ञान गाउँ केन्द्रित गरौं -चापागाई