बागलुङ, १३ चैत– स्वर्गिय प्रमोद केसी आचार्य अक्षय स्मृति कोषले उपल्लाचौर आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । प्राथमिक तहको शिक्षा उक्त विद्यालयमा अध्ययन गरेका केसीको निधन भएपछि परिवारले स्थापना गरिदिएको कोषबाट हरेक बर्ष सहयोग गरिरहेको हो । २४६ साल चैत १२ गते जन्मेका केसीको सडक दुर्घटनामा २०६८ साउन ४ गते निधन भएको थियो ।
मृतकका बाबु होमबहादुर र आमा अम्बिका केसी आचार्यले १ ला ११ हजार रुपैयाँ राखेर विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका थिए । उक्त कोषबाट आउने व्याज बाट हरेक बर्ष बालबालिकालाई उपयोगी हुने कापी कलम लगाएतका सामाग्री सहयोग गर्दै आएको छ । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा संस्थापक केसी र बागलुङ नगरपालिका ४ का वडा अध्यक्ष धु्र्रबबहादुर केसीले सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका थिए । यो बर्ष विद्यालयले नियमित कामका लागि आवस्यक भन्दै साउण्ड सिस्टम माग गरेकोले सोही अनुसारकै सामाग्री किनेर हस्तान्तरण गरिएको कोषका सचिव राजेन्द्र आचार्यले बताए । उक्त अवसरमा वडा अध्यक्ष केसीले सामुदायिक विद्यायको सुधार गर्दै सबै अभिभावकले बालबालिकालाई पढाउने वातावरण बनाउन नगरपालिकाले काम थालेको बताए । साथै उनले सरकारी विद्यालयमा पढाएर ईज्जत जान्छ भन्ने मान्यता राख्नेलाई पढाएर हेर्न आग्रह पनि गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहमद हुसेनको अध्यक्षता, कोषका सचिव राजेन्द्र आचार्यको संचालन र विद्यालयकै प्रधानाध्यापक धर्मदत्त सापकोटाको स्वागतमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष धु्रवबहादुर केसी, कोषका संरक्षक होमबहादुर केसी, पूर्व प्रशासक बुद्धिबहादुर केसी, समाजसेवी लालचन्द्र राजभण्डारी लगायतले बोलेका थिए ।
Previous Article१३ चैत २०७४, ढोरपाटन दैनिक
Next Article प्रदेश सभामा सेवा सुबिधा सम्बन्धी बिधेयक प्रस्तुत