पोखरा, १३ चैत– प्रदेश नं ४ को सोमबारको प्रदेशसभा बैठकले प्रदेशको राजधानी एवं नामाङ्कनका लागि समिति गठन गरेको छ । प्रदेशसभा सदस्य मायानाथ अधिकारीले गरेको प्रदेशको नामाङ्कन र राजधानी तोक्नका लागि गठित समितिका सदस्यको नामसहितको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको थियो । समितिका सदस्यमा धनञ्जय दवाडी, मीनप्रसाद गुरुङ, भगवतप्रकाश मल्ल, विन्दुकुमार थापा, दीपक कोइराला, चन्द्रबहादुर बुढा, कृष्ण थापा र हरिशरण आचार्य तथा प्रदेशसभाका सचिव पदेन सदस्य सचिव रहने छन् ।
समितिको कार्यावधि समितिले काम शुरु गरेको मितिले एक महिना हुने जनाइएको छ । सोमबारको बैठकमा प्रदेश एवं स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक पेश भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले मुख्यमन्त्री तथा मन्त्रीले पाउने पारिश्रमिक तथा सुविधाका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका हुन् । मन्त्री चुमानले प्रदेश सरकारका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सभामा पेश गरेका थिए । बैठकले प्रदेशसभाअन्तर्गत यसअघि नै गठित चार समितिमा सदस्य थप गर्ने निर्णय गरेको छ ।
विधायन समितिमा धनञ्जय दवाडी, सावित्रा राना र मनबहादुर गुरुङको नाम थप गरिएको छ । विधायन समितिमा यसअघि मोहनप्रसाद रेग्मी, विष्णुप्रसाद लामिछाने, आशा कोइराला, टेकबहादुर घर्ती मगर, धनमायाच्स् लामा, ललितकला गुरुङ, कृष्णचन्द्र नेपाली र चन्द्रबहादुर बुढा चयन भएका थिए । त्यस्तै सार्वजनिक लेखा समितिमा राजीव पहारी, प्रभा कोइराला र महेन्द्रबहादुर थकालीको नाम थप गरिएको छ । यसैबिच प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । पृथ्वीसुब्वा गुरुङ मुख्यमन्त्री, किरण गुरुङ आर्थिक मामिला तथा योजनामन्त्री, हरिबहादुर चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री, रामशरण बस्नेत भौतिक पूर्वाधार विकासमन्त्री, नरदेवी पुन सामाजिक विकासमन्त्री, विकास लम्साल उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री र लेखबहादुर थापा भूमिसुधार तथा व्यवस्थामन्त्री रहेका छन् ।
Previous Articleसरुभक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार
Next Article १३ चैत २०७४, ढोरपाटन दैनिक