काठमाडौं, ११ चैत-तोकेको क्षेत्रमा काम गर्न अटेर गर्ने कर्मचारीलाई सरकारले आजदेखि कारबाही गर्ने जनाएको छ । सरकराले तोकेको स्थानीय तहमा जान अटेर गरेर केन्द्रमै बस्ने कर्मचारीहरु विरुद्ध आजदेखि हाजिरी र तलब भत्ता रोकिने संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
मन्त्री पण्डितले सरकारी सेवा र सुविधा लिएर कर्मचारीहरु तोकिएको ठाउँमा जान पाईन्न भन्न नमिल्ने तर्क गरेका छन् । कर्मचारीले भने विधी र प्रक्रिया पुरा नगरी हचुवाका भरमा सरकारले बलमिच्याँई गरेको आरोप लगाएका छन् । सह–सचिव र उपसचिव स्तरका कर्मचारीलाई चाही वढुवा गर्ने तर तल्लो तहका कर्मचारीलाई भने सरकारले जवरजस्ती गर्न खोजेको कर्मचारीले आरोप लगाएका छन् । मन्त्री पण्डितले भने सवै कर्मचारीलाई समान व्यवहार गरेको बताए । संघीय प्रशासनमा कर्मचारी समायोजनसँगै नयाँ भर्ना प्रक्रिया पनि छिट्टै शुरु गर्ने तयारी भइरहेको मन्त्री पण्डितले जानकारी दिए । स्थानीय तहमा कर्मचारी अभाव र खटिएका कर्मचारीमा पनि संघीय संरचना अनुसार काम गर्ने दक्षता अभाव भएपछि जनप्रतिनिधिहरु भने अन्यौलमा परेका छन् । अघिल्लो साता प्रधानमन्त्री केपी ओलीसँग सामूहिक भेटबार्ता गर्दै सातै प्रदेशका मुख्य मन्त्रीले कर्मचारी व्यवस्थापन तत्काल गरिदिन आग्रह गरेका थिए ।