कृष्णराज शर्मा
आज हामी लासभेगास शहर घुम्न जाने योजनामा थियौं । दुई परिवारका दुईटै गाडी लिएर जाने कि छुट्टै अर्को गाडी भाडामा संगसंगै जाने भन्ने निर्णयमा पुग्दा ढिला भयो । छलफलपछि एउटै गाडीमा सबै सातै जना गफ गर्दै जाने भयौं तर भोली । लासभेगास भोली जाने भएपछि आजको बाँकी समय लसएञ्लस शहरकै अरू भागमा चक्कर लगायौं । जति घुमेपनि नअघाईने शहर हो यो । तै, घुम्दै बेलुका कोठामा पुगेर खानपीनपछि टिभी हेरिरहंदा लासभेगासमा ठूलै नरसंहार भएको घटना टिभीले ब्रेकिङ न्यूज प्रसारण गर्यो । यो समाचारले हामीलाई आतंकित बनायो । के गर्ने कसो गर्ने, जाने कि नजाने असमञ्जस्यमा पु¥यायो । द्विविधा श्रृजना गरिदियो । दुई परिवार दुईतिर थियौं, एउटा परिवार होटेलमा अर्को अपार्टमेण्टमा । फोनफोनमै कुरा र छलफल भए अन्तमा जाने नै निर्णयमा पुग्यौं । र पनि अगुल्टाले हानेको कुकुर बिजुली देखि तर्सन्छ भने झैं तर्सो भने मनमा रहि रह्यो । राती बिच्छ्यौनामा पल्टेर निद्रा नलाग्दा सम्म मन भित्रभित्रै धेरैचोटी बिजुली चम्क्यो । त्रसित मानसिकता मै निदायौं । गाडीले किचेर हाँस कुखुरा मरेपनि चक्काजाम, लोग्नेस्वास्नीको झगडा परेपनि सडक जाम गर्ने हाम्रो देश भैसकेको छ । अर्थात आज पनि सानो माग पुरा गर्नका लागि दबाव दिने माध्यम भनेकै चक्का जाम र बन्द हो ।
एकजना मान्छे भवितब्यले ज्यान गुमाएपनि राजनीतीकरण गर्दै शहीद घोषणाको माग राखेर देशै बन्द भएको व्यहोरेका हामीले त्यत्रो नरसंहार हुँदा लासभेगासबासीहरूले पनि कम्तिमा त्यस्तै चक्का जाम गरेको भए बीच बाटोमै बिचल्ली परिने त होईन भन्ने शँका लाग्नु स्वभाविकै थियो । यति हुँदाहुँदै पनि हामीले त्यही देशको प्रणालीगत शासन र शुसासनका बारेमा पनि तुलना गर्यौं । नेपालको पराधिन राजनीति र अमेरिकाको स्वाधिन राजनीतिका बिच तुलनायोग्य दुई देशका सरकार हुनै सक्दैनन् ।
त्यसैले यस्तो घटना भएपनि झन् राम्रो सुरक्षा प्रबन्ध गर्छ । सुशासन र सिस्टममा छिरेको समाजमा जस्तै विकराल समस्या खडा भएपनि सहज समाधान हुन्छ । त्यस्तो व्यस्त बजारीकृत सडक सञ्जालरमा एक मिनेट सडक जाम भयो भने देशको अर्थतन्त्रमा ठूलो चोट लाग्छ । त्यसैले जस्तासुकै घटना घटेपनि सरकारले त्यहाँको जनजीवनमा प्रतिकुल प्रभाव पर्न दिंदैन भन्ने आँकलन हामीले गर्यौं । त्यसपछि ढुक्कले लासभेगासको निशाना दाग्यौं । बिहान ‘ब्रेक फाष्ट’ खाएर हाम्रो लासभेगास यात्रा शुरू भयो । प्रतिघण्टा सत्तरी असी माईलको गतिमा दौडाउँदा करिव आठ घण्टा लाग्ने यात्राका शारिरिक रूपमा दुई होनहार युवा सारथी थिए– प्रज्ज्वल उपाध्याय र अनु गौतम । उनीहरू अमेरिकी ट्राफिक व्यवस्थाको बारेमा राम्रो जानकार थिए । अत्यन्त सावधानीपूर्वक हामीलाई उनीहरूले लिएर हिंडे । लसएञ्जलस क्रस गरेपछि उत्तर–पश्चिम दिशातर्फ हुईंकियो हाम्रो गाडी । त्यहाँका राजमार्गहरूको नम्वरिङ गरेको हुन्छ । हामी बसेको ठाउँबाट छुट्दा ४०५ नम्वरको सडक हुँदै दश र अन्तमा पन्ध्र नम्वरको राष्ट्रिय राजमार्गमा प्रवेश गरेपछि गन्तव्यमा नपुगुञ्जेल राजमार्ग परिवर्तन गर्नु परेन । सडकको माथी र दायाँबायाँ राखिएका ट्राफिक संकेतले दिशा निर्देश गरे अनुसार जानुपथ्र्याे । हामीहरू मात्र नभै स्वयं चालक केटाहरू पनि यो राजमार्गका लागि नौला थिए । एक जनाले जिपिएसको डिरेक्शन हेर्ने र अर्कोले गाडीको स्टेरिङ चलाएका थिए । मानौं, जहाज सरह गाडीका पाईलट र को–पाईलट हुन् उनीहरू ।
एउटै नम्बरको सडक भएपनि निक्कै फराकिला र ठाउँ–ठाउँमा आउने एक्जिट् प्वाईण्टको ख्याल पुर्याउनु पथ्र्याै । यदि मीस गर्यो भने सोही मार्गमा जोडिन झञ्जट् व्यहोर्नु पथ्र्याै । पछाडि बसेका पाँच जना हामीलाई यस्ता कुराले छुँदैनथ्यो । बाटो बाटोमा देखिने विविध खालका मनोरम प्राकृतिक दृश्य र सडकदेखि निकै पर देखिने मानव निर्मित अनौठा अनौठा संरचनाहरूका बारेमा उनीहरूबाटै सोध्दै बुझ्ने गथ्र्याै । लासभेगास सोझिए पछि गज्जबकै भूगोल देखा पर्यो । पर–पर हल्का अग्ला पहाड देखिन्थे । राजमार्गको नजिक बगरै बगरले जमेर बनेका अग्ला ढिस्का मात्रै । हरियाली नै नदेखिने । रूखो पाखो मात्रै । मानव बस्तिको त छाँट्छन्दै नदेखिने । जति अगाडी बढ्थ्यौं उति उराठ् लाग्दो जमीन । सडक मापदण्ड तोकेजस्तै दुईतीन सय मिटर दायाँबायाँ परबाट काँडेतारले बारबन्देज गरेको । न पशु देखिन्छन् न त पँक्षी । केवल गाडीको दोहोरो दौडादौड मात्रै । आँखाले देखेर नभ्याउने गरी क्षितिजसम्म सीधा बाटो । यहाँबाट हेर्दा ऊ पर उकालो जस्तो लाग्नो बाटो देखिन्छ तर, त्यहाँ पुग्दा उकालोको गुञ्जाएस नै छैन । करिब दुई घण्टाको यात्रापछि भने पारी पहाडका भित्तामा मालबाहक रेलको अनौठो आकृति देखापर्यो । जमीनको रँगसँगै रँग नमिलेका रेलका डब्बाहरू लुकामारी खेल्थे । लुकामारी खेल्ने दर्जनौं डब्बाहरू बक्राकारको रेलको लिकमा देख्दा केटाकेटी जीवनमा रेल घुमाएको याद दिलाउँथ्यो ।
त्यतिबेलै याद भयो नेपाली लोकगीत – रेलै घुमेर, गयो कान्छिको आधि उमेर ..! त्यो गीतको थेगो सुहाउँदो आकृति ति मालबाहक रेलले बनाउँथे । सडकको ठाउँठाउँमा प्रस्थान ९भ्हष्तभ) लेखिएका ट्राफिक संकेत देखेर अर्को शहरको लागि छुट्नको लागि हो भन्ने त थियो । तर रेलहरू देखापरेपछि सडकै सडकले जेलिएका पहाडका फेदी देखिन थाले । यो देख्दा लाग्थ्यो– नेपालको क्षेत्रफलको पुरै भाग जति त अमेरिकन सडकको भूभागले ढाकेको छ होला ! हामीले लगभग दुई सय माईलको यात्रा पुरागर्दा ‘मुग्लिङ’ देखा पर्यो । अर्थात यात्रुले खानाखाने ठाउँ फेला पर्यो । झूठ्, बेईमानी र पापको हाम्रो मुग्लिङ यो मुग्लिङ थिएन । नेपालको चितवनको ‘मुग्लिङ जक्सन’को झल्को लाग्ने तर, मनोरम सफा चिटिक्क परेका भोजन गृह देखिए । गाडी यहीं रोकिए । खानाको भोकले भन्दा हामीलाई निकासको झोक् पोख्न हतार थियो । पानी र कुरकुरे खाँदै दुई घण्टासम्म निरन्तर यात्रामा रहँदा शरीरले निकास नपाएर जीऊ छाडिएको थियो । ठ्याक्कै यहीबेला भात खाने मुग्लिङ भेट्दा पहिलो ध्यान निकासका लागि केन्द्रीकृत बन्यो । हतारियौं । चारैतिर पारदर्शीता भएको खाना खाने ठाउँ लोभैलाग्दो थियो । भीडम्भीड भएर पनि शान्त थियो यो ठाउँ । यहि भोजन गृह भित्र पसेपछि भान्छाको छेवैमा विश्राम गृह (च्भकत च्ययm) रहेछ । यो हाम्रो पुरूष ब्लक थियो । दौडदै सुट्ट भित्र छिर्यौं । धारा प्रवाह चल्यो । भित्र युरेटरमा सहश्रधारा प्रवाहित भैरहेका थिए । रूञ्चे अनुहारहरू फर्कंदा फुरूङ्ग ! आहा ! मान्छेको जीवनमा ‘निकास’ले जत्तिको आनन्द जस्तोसुकै विकास देख्दा पनि आउँदो रहेनछ । पुरूष ब्लकमा पसेकाहरू फर्कंदा रूपान्तरित चेहरामा देखिन्थे ।
भित्र पस्दाका कागती निचोडिए जस्ता दुःखी अनुहार निस्कँदा त रसिला भोकटे फल जस्ता देखिन्थे । अनि देखियो, डाईनिङ टेबुलमा भरिभराउ यात्रुहरू सुशान्तपूर्वक खाना लिईरहेका थिए । तिनै टेबुलमा हामी पनि बस्यौं । हाम्रा ‘ड्राईबरहरू’ खानाको अर्डर दिन काउण्टरमा गए । लामो लाईन थियो । सफाचट् खानाका डिसहरू फोटोमा देखिन्थे । अर्थात मेन्युको फोटोमा जे देखिन्थ्यो त्यही पाईन्थ्यो । भोजन गृहको नाफा घाटामा भन्दा बढी ध्यान आफ्नो ब्राण्डमा थियो । गुनासो र कैफियत भन्ने कतै देख्न नचाहने उसको भोजन गृहको ध्यान थियो । हाम्रो देशमा विदेशको नक्कल त बढेको छ तर नियतमा सक्कल छैन । नेपाली भोजन गृहहरूमा मुखै रसाउने खानाका परिकारको फोटो टाँसेर ग्राहक आकर्षित गर्न भरमग्दुर प्रयास त गर्छन् । तर त्यो त केवल ग्राहक फँसाउने ‘पानी फोटो’ मात्र हो । मेन्यु फोटो देखेर रसाएको जिब्रो अर्डर बमोजिम प्राप्त गर्दा ग्राहकलाई ज्यानजाला मिल्दै मिल्दैन । फोटो अनुसार नमिल्नु एउटा पक्ष तर कल्पेको स्वाद अनुसार नपाउँदा ग्राहक हिस्स पर्छन् । किन ? भन्ने प्रश्न गर्दा सजिलै जवाफ दिन्छन्– आज कुक् नयाँ आएको छ । थोरै स्वादमा भिन्नता आयो होला भन्दै लाचार हुन्छन् । यस्तो लाचारी हामीले भेटाएको होटलमा शून्य थियो ।
जे फोटो त्यही खाना, जे बोल्यो उही स्वाद् । हामीले यहाँ पनि मेक्सिकन खाना बुरिटोको चाह गर्यौं । काउण्टरमा अर्डर गरेर अग्रीम पैसा बुझाएपछि केहीबेरको प्रतिक्षामा हाम्रो अर्डर आयो । अधिकाँश स्थानमा युवतीहरूको सेवा दिने त्यहाँको चलन अनुसार हाम्रो खाना पनि हार्दिकता पूर्वक युवतीहरूले नै टक्र्याए । जे अर्डर भएको थियो त्यही आयो । अस्ति लसएञ्जलस खाएको र यो एउट्टै थियो । डिट्टो उही बुरिटो ! निकास पछिको भोक कत्ति मिठो ! भोक नजागेको मुखमा चौरासी व्यञ्जन भोजन पनि मिठो हुन्न सबैलाई थाहा छ । भोक जागेको जिब्रोमा मिठो भोजन कस्तो होला ? कसलाई थाहा ? हाम्ले थाहा पायौं । प्राप्त यो भोजन नाजवाफ खाना बन्यो हाम्रो लागी । एक सिता दाना बाँकी नराखि खाना खायौं । यसपछि हामी हातहातमा कफी कप लिंदै फेरी लासभेगासका लागी तयार भयौं । क्रमशः…