पर्वत, ९ चैत– लामो खडेरी पछिको वर्षासँगै गोलभेँडामा डढुवा रोगको संक्रमण देखिएपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । लटरम्म फलेर पाक्ने समयका गोलभेँडाका पातमा कालो दाग देखिने र एक सातामै बोट मर्न थालेको किसानले बताएका छन् । जिल्लाको मोदी, पैयुँ, जलजला गाउँपालिका र फलेवास नगरपालिकामा गोलभेँडामा डढुवाको संक्रमण देखिएको हो । बारीमा मात्रै नभएर टनेलभित्रका गोलभेँडाका बोट धमाधम मर्न थालेपछि किसान आत्तिएका छन् । “पोहोर टनेलको गोलभेँडा बेचेर दुई लाखसम्म आम्दानी गरेको थिए,” फलेवास– ६ देवीस्थानका ओमप्रसाद भुषालले भने,– “यसवर्ष पाक्ने बेलामा सबै सखाप भयो । लगानी उठ्न पनि मुस्किल छ ।” फलेवास– ४ का थानेश्वर भुषालले डढुवा रोगको संक्रमण बढेपछि कृषि प्राविधिकको सल्लाहमा विभिन्न औषधि प्रयोग गरे पनि बोट मर्ने क्रम नरोकिएको बताए। उनले दुई महिनादेखि डढुवा रोग निको पार्न विभिन्न विषादीको प्रयोग गरेको बताए ।
लाखाँै लगानी गरेर गोलभेँडाको खेती गरेका किसान डढुवा रोगका कारण निराश छन् । एउटा टनेल बनाउन रु एक लाख ५० हजारसम्म खर्च हुन्छ । दुई वर्ष लगातार डढुवा रोग लागेर गोलभेँडा मरेपछि हालसम्म लगानी जुटाउन नसकेको भुषाल बताउँछन् । खुलाबारीमा देखिएको डढुवा टनेलभित्रको गोलभेँडामा पनि फैलिएको हो ।
जलजलाका रामु सुवेदीले तीन रोपनीमा लगाएको गोलभेँडामा डढुवा फैलिएको बताए । “विगतमा गोलभेँडाबाट पाँच लाखसम्म आम्दानी हुन्थ्यो,’ उनले भने “बीउ र परिश्रम सबै खेर गयो ।” गोलभेँडाको बोट मरेपछि पारिश्रमिक उठाउन नसकेको उनको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मी मौसममा थोरै फेरबदल हुने वित्तिकै गोलभेँडा र आलुमा डढुवाले आक्रमण गर्ने बताउनुहुन्छ । खुला स्थानमा लगाइएको गोलभेँडामा छिटो आक्रमण गर्ने यो रोगले टनेलभित्र पनि असर गरेको छ ।
Previous Articleअलमलमा प्रदेश सरकार, मन्त्रिपरिषद् विस्तारमै गनगन
Next Article १० चैत २०७४, ढोरपाटन दैनिक