त्रिभुवन विमानस्थलमा सोमबार दिउँसो यूएस बंगला एयरलाइन्सको विमान दुर्घटना भएपछि फेरि एक पटक हवाई सुरक्षा गम्भीर बहसको विषय बनेको छ । जब जब विमान दुर्घटना हुन्छ, असुरक्षित नेपाली अकाश विमर्शको विषय बन्छ । दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिन्छन् । समितिले निश्चित समयमा प्रतिवेदन दिन्छ । प्रायः प्रतिवेदनमा मानवीय त्रुटि औंल्याइन्छ । एउटा कर्मकाण्डी प्रक्रिया पूरा भएपछि हवाई सुरक्षाजस्तो संवेदनशील विषय त्यसउप्रान्त सरकारको प्राथमिकतामा खासै पर्दैन । सोमबारको दुःखद दुर्घटनापछि हवाई सुरक्षा केन्द्रीय प्रश्न भएको छ र सरकारले तत्काल पूर्व पर्यटन समिति यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय उच्चस्तरीय छानबिन समिति बनाएको छ । संवेदनशील विषयमा सरकारले तत्काल कदम चाल्नु सकारात्मक हो । यद्यपि, विगतका नजिर हेर्ने हो भने यस्ता छानबिन समिति र तिनका प्रतिवेदन नितान्त औपचारिक प्रक्रियाकै बन्दी भएका छन् ।
अहिलेसम्मका हवाई दुर्घटनासँग सम्बन्धित धेरै प्रतिवेदनले मानवीय त्रुटि खासगरी पाइलटको गल्तीलाई औंल्याउने गरेको पाइन्छ । सोमबारको दुर्घटनामा पनि ‘पाइलटकै त्रुटि’ भएको दाबी त्रिभुवन विमानस्थल कार्यालयले गरिसकेको छ । एयर ट्राफिकले दक्षिणतर्फबाट अवतरण गर्न निर्देशन दिँदादिँदै पाइलटले अटेरी गरेकाले दुर्घटना भएको दाबी विमानस्थल कार्यालयको छ । मानवीय त्रुटि मात्रै यो दुर्घटनाको कारक हो वा अन्य प्राविधिक समस्या पनि जहाजमा थियो ? वा एयर ट्राफिक र पाइलटबीचको समन्वयमा केही त्रुटि थियो कि ? अथवा अरू केही कारण पनि यस दुर्घटनाका पछाडि छन् । यी सवै पक्षमा गम्भीर अध्ययन गरी समितिले छानबिन गर्नु पर्दछ । यो घटनाले घना बस्तीबीच विमानस्थल हुनुको जोखिमलाई पनि उजागर गरेको छ । यसतर्फ पनि समितिको ध्यान जानु पर्दछ । नेपालमा भएका घरेलु र अन्तराष्र्टि«य हवाई दुर्घटनामा धेरैको ज्यान गएको छ । ६ अक्टोबर १९७३ मा पहिलो पटक नेपाल वायुसेवा निगमको डी एच सी सिक्स ट्वीनअटर जहाज लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन यात्रु र चालक दलका तीन सदस्य घाइते भएका थिए । त्यसयता भएका दुर्घटनामा ५ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ । ३१ जुलाई १९९२ मा थाई एयरलाइन्सको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गयो । त्यो नेपालमा भएको पहिलो अन्तराष्ट्र्रिय विमान दुर्घटना थियो । २८ सेप्टेम्बर १९९२ मा पाकिस्तान एयरलाइन्स दुर्घटनामा १६७ जनाको ज्यान गएको थियो । अहिले यूएस बंगलाको विमान दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका छन ।
घरेलु वा अन्तराष्र्टि«य विमान दुर्घटनाले नेपाली आकाशको असुरक्षालाई मात्रै उजागर गर्दैन, यसले पर्यटन उद्योगमा समेत गम्भीर असर पर्दछ । नेपाली आकाश असुरक्षित भनी विश्वमै नकारात्मक सन्देश प्रवाह भइरहँदा यस्ता दुर्घटनाले सेवाप्रतिको विश्वसनीयतामाथि पनि प्रश्न उठ्छ । जसको असर अन्ततः नेपाली अर्थतन्त्रमै पर्छ । त्यसकारण नेपाली आकाशका असुरक्षाका मुद्दा सल्टाउन जरुरी छ । छानबिन समितिले दुर्घटनाको कारण पहिल्याउँदै हवाई सेवाको जोखिम न्यून गर्ने उपाय सुझाउनु आवश्यक छ । सरकारले हवाई सेवालाई जोखिमरहित, सुरक्षित र भरपर्दो बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्नु जरुरी छ । गठन गरिएको छानबिन समितिलाई कर्मकाण्डी मात्रै बनाउनु हुदैन भन्ने कुरामा विशेष ध्यान दिनैपर्दछ । छानविन समितिले दिएकानिष्कर्ष र सुझावलाई तत्कालै कार्यान्वयनमा लैजानु पर्दछ ।
Previous Article२०७४ फागुन २९ गते मंगलबारको राशिफल
Next Article २९ फागुन २०७४, धौलागिरी स्टार साप्ताहिक