धनगढी, २८ फागुन – कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको छ। गोली र खुकुरी प्रहारबाट चौधरी घाइते भएका छन्। आफ्नै निवासमा बसिरहेको अवस्थामा सोमबार करिब राति ८ बजेर १५ बजेतिर आक्रमण भएको बताइएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार चौधरीको कम्मरमा गोली लागेको छ भने टाउँकोमा खुकुरी प्रहार भएको छ। उनको अवस्था गम्भीर रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। बोक्सीको आरोपमा राधा चौधरीलाई मरणासन्न हुने घटनामा मिलापत्र गराएको भन्दै मेयरको आलोचना भैइरहेका बेला उनीमाथि आक्रमण भएको हो।
गत बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरेको आरोपमा पक्राउ परेका रामबहादुर चौधरीलाई मताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा छुटाइएको थियो।