बागलुङ, २८ फागुन – आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तरगतको आफ्नो अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । हङकङले दिएको १५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ५५ बल बाँकी छँदै भेट्टाएको हो । नेपाललाई जिताउने क्रममा नटआउट रहेका रोहितकुमार पौडेलले सर्वाधिक ४८ रन बनाए । उनले ८६ बलको सामना गर्दै ५ चौका पनि हाने ।
त्यसैगरी नटआउट रहेका सोमपाल कामीले पनि उत्कृष्ट पारी खेल्दै ४० बलमा ३७ रन बनाए । सुरुवाती ब्याट्सम्यानहरु लगालग आउट भएको अवस्थामा सोमपाल र रोहितले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई तीन खेलको पराजयपछि जित दिलाएका हुन् । हङकङका लागि इशान खान र ऐज खानले समान २-२ विकेट लिन सफल भए । यसअघि पहिले टस जितेर ब्याटिङ गरेको हङकङले ४८.२ ओभर खेल्दै १५३ रन बनाएको थियो ।
हङकङका लागि निजाकत खानले ४७, बाबर हायातले २० तथा क्रिस्टोफर कार्टर ९ तथा तनवीर अफ्जरले १० रन बनाए । नेपालका सन्दिप लामिछानेले ३ विकेट लिए भने करण केसी र बसन्त रेग्मीले २/२ विकेट लिए । सोमपाल कामी र ललितनारायण राजवंशीले १/१ विकेट लिए
Previous Articleविमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइते
Next Article भाग्यले बाँचें – बसन्त बोहोरा