मुस्ताङ, १४ असोज – सोह्श्राद्धका अवसरमा दिवंगत पितृको उद्धार हुने धार्मीक विश्वासका साथ यस वर्ष करिब एक लाख भक्तजनले मुस्ताङको कागबेनीमा पुगेर पिण्ड तथा तर्पण दान गरेका छन् ।
काली र गण्डकी नदीको संगम स्थल कागबेनीमा पिण्त तथा तर्पण दान गरी मुक्तिनाथको दर्शन गरे दिवंगत पितृको उद्धार हुने विश्वासका साथ भक्तजनको भिड लागेको पुजारी हरि सापकोटाले बताए ।
कागबेनीमा हरेक वर्षको आश्विन र चैत महिनाको कृष्ण प्रतिपदादेखि औँसीसम्म मृत्यु तिथी नखुलेका, दुर्घटना र अन्य कारणले अकालमै ज्यान गुमाएकाहरु पितृहरुको सम्झनामा पिण्डदान गर्ने चलन छ ।
नेपालका सबैजसो ठाउसंगै भारतबाट समेत तिर्थयात्री र भक्तजन कागबेनीमा पिण्डदान गर्न आएका छन् । सोह्श्राद्धको सुरुमा बेनी जोमसोम सडकमा भएको अवरोधका कारण भक्तजनको संख्यामा कमी भएपनि अन्त्यतिर सडकमा सवारी आवागमन सहज भएपछि तिर्थयात्रीको घुईचो लागेको थियो ।
सडक, हवाईमार्गका साथै कतिपय भक्तजनहरुले हेलीकप्टर चार्टर गरेर समेत कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्न गएका छन् । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको यस वर्षको सोह् श्राद्ध शुक्रबार सकिएको छ ।
Previous Articleकुशको शव बनाएर पूर्वगृहमन्त्री घिमिरेको अन्तिम संस्कार गरियो
Next Article आज दसैंको पहिलो दिन, जमरा राख्ने शुभसाइत ०८:३५ बजे