डा. सूर्य पाठक
जनप्रतिनिधिकाे रूपमा हामीसँग जनताका अपेक्षा धेरै छन्। त्यसमाथि म प्रदेश चारमै सबैभन्दा बढी मत अन्तरले विजयी भएर आएको हुँ। आइतबार संसदको शपथ लिन जाँदा र सोमबार संसदको पहिलो बैठकमा सहभागी हुँदा मलाई झलझली जनतासँग गरेका वाचाहरु सम्झनामा आए। संघीय संसद बजेट तिवरण गर्ने, सडक बनाउने वा पुल बनाउने निकाय होइन। यो त नितान्त नीति निर्माण गर्ने ठाउँ हो। म पहिलो पटक संसदमा आए पनि मुलुकका नीति नियमहरु कसरी बनाउँदा जनता लाभान्वित हुनसक्छन् भनेर क्षेत्रहरुको खोज गरिरहेको छु .
पछिल्लो समय ‘इन्ट्रेष्ट ग्रुप’का मान्छेहरु पैसाका भरमा सांसद हुने प्रचलन बढेको देखिन्छ। व्यापारिक पृष्ठभूमिबाट संसद छिर्ने र आफ्नो स्वार्थ पूर्ति गर्ने यस किसिमको प्रतिनिधित्व के का लागि भनेर प्रश्न गर्नुपर्ने अवस्था छ। शिक्षा, स्वास्थ्य, मेडिकल शिक्षा नीति जनतासँग सोझै सरोकार राख्ने गम्भीर विषयहरु हुन्। यी विषयहरु व्यापारीमुखीभन्दा जनमुखी बनाइनु पर्दछ। नेपालमा मात्र नभई राजनीतिमा पैसाको प्रभाव बढेका अरु देशमा पनि राजनीति मूल्यहीन बन्दै गएको देखिन्छ। तर हाम्रो संविधानले लोक कल्याणकारी राज्यको कल्पना गरेको छ।
समावेशी र संघीयताको कल्पना गरेको छ। महिला, दलित, जनजाति, पिछडिएको क्षेत्रको अधिकार सुरक्षित हुनुपर्ने कल्पना गरेको छ। त्यसैले हामीले यी आधारभूत विषयलाई बिर्सन मिल्दैन। संविधान आफैँमा समाजवाद उन्मुख भनिएको छ तर हाम्रा शिक्षा, स्वास्थ्यनीति संविधानसम्मत छन् ? यी विषयमा अब संसदमा छलफल चलाइनु पर्दछ। संसद भवनमा पहिलो पटक पाइला राख्दा बडो रोमाञ्चक अनुभूति हुँदो रहेछ। सायद अरुहरुलाई पनि त्यस्तै भएको हुँदो हो। आइतबार संसद भवन नयाँ वानेश्वर परिसरमा सांसदहरु आ–आफ्ना परम्परागत पहिरनमा देखिएका थिए। त्यो दृश्य आफैँमा समावेशी नेपालको दृश्य हो। तामाङ, लामा, मधेसी, थारु, नेवार, क्षेत्री, बाहुन सबै जातजाति देखिनु संसदको सौन्दर्य पनि हो। यसले हामी कुन डिग्रीको समावेशी छौं भन्ने कुरालाई प्रस्ट्याइदिएको छ।
आईतबार र सोमबार मैले मेरै पार्टीका अध्यक्ष केपी शर्मा ओली एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गरेँ। पार्टी एकीकरण हुन लागेकाले पनि मैले माओवादीका अरु साथीसँग चिनजान अघि बढाएँ। उहाँहरुसँग सौहार्दपूर्ण कुराकानी भयो। यो भन्दा रोचक पक्ष चाहिँ संसदमा मेरा कलेज जीवनका प्रतिस्पर्धी गगन थापासँग पनि भेट भयो। हामी दुवैले कलेज जीवन सम्झियौं। २०५५ सालमा हामी दुवैजना त्रिचन्द्र क्याम्पसका विद्यार्थी थियौं। स्ववियुमा हामी एकअर्काबीच प्रतिस्पर्धा गरेका थियौं। हिजाआजको भाषामा भिडन्त भन्न मिल्ला। म अनेरास्ववियूको तर्फबाट उम्मेदवार थिएँ उहाँ नेविसंघको उम्मेदवार हुनुहुन्थ्यो।
राजनीतिक यात्रामा फेरि हामी सँगै हुने भइयो, प्रतिस्पर्धा गरिने भइयो भन्दै ठट्टा गर्यो। आइतबार पहिलो पटक संसद प्रवेश गर्दा मलाई एउटा फरक किसिमको जिम्मेवारी बोध पनि भएजस्तो अनुभूति भयो। म वाग्लुङको मान्छे। मेरो धरातल त्यही नै हो। स्नातकोत्तर र पिएचडीसम्मको पढाई जापानबाट पूरा गरेर नेपाल फर्किएको हुँ। मेरो अनुसन्धानको क्षेत्र सार्वजनिक प्रशासन हो। मलाई जापानकै विश्वविद्यालयमा राम्रो अवसर थियो। तर जापानमा रहँदा पनि म एमाले पार्टी नेटवर्कभित्रै थिएँ, सघन सम्पर्कमै थिएँ। त्यसैले मलाई नेपाल फर्काउन ठूलो भूमिका निर्वाह गर्यो। म पूर्णकालीन राजनीति गर्छु भनेरै फर्किएको हुँ। म नेपाल फर्किंदा कतिले यो टिक्न नसकेर ६ महिनामै जापान आउँछ भने। देशमा अव्यवस्था छ, सिस्टम छैन, यता बिग्रिएको छ उता भत्किएको छ यति राम्रो अवसर छोडेर नजाऊ भन्नेहरु धेरै थिए। मैले त्यतिबेला धेरैका कुरा सुनेँ र आफ्नो मनको निर्णय लिएँ। किनभने नेपाल बिग्रिएको छ भने जापानीले आएर बनाइदिदैन। हामी आफैँले बनाउनुपर्छ। प्रणाली बिग्रिएको छ भने अमेरिकनले आएर बनाइदिँदैन हामी आफैँले बनाउनुपर्छ।
नेपाल फर्किएपछि म काठमाडौं बसिनँ, गाउँ गएँँ। त्यहीँका सामाजिक, राजनीतिक गतिविधिमा संलग्न भएँ। २०७० को संविधान सभामा चुनाबमा पार्टीले मलाई टिकट दियो। त्यतिबेला म पराजित हुँदा जापानका धेरै साथीहरुलाई अब जापान फर्किनुपर्छ भने। कतिले जापानबाट फर्किएको ठिक्क परो भन्ने खालका प्रतिक्रिया दिए। तर म आफ्नो सुरको मान्छे छु। आफूलाई लागेको विषयबाट म पछि हट्ने कुरै थिएन। त्यसपछि म झन् गाउँ केन्द्रित भएँ। काठमाडौं र पोखरा आउजाउ पनि पातलो पार्दै गाउँतिरै सक्रिय रहेँ। यो पटक वाम गठबन्धन बन्यो र मैले चुनाव जितेँ।
पार्टीको एउटा नीति हुन्छ, एउटा निर्देशन हुन्छ तर त्योबाहेक व्यक्तित्व फरक पक्ष हो। क्षमता फरक कुरा हो। संसदमा निर्वाचित भएपछि उसले आफ्नो क्षमता राष्ट्रका लागि कति उपयोग हुन्छ भन्ने कुराकाे महत्व हुन्छ। जनतासँग प्रत्यक्ष जोडिने विषयबारे नीति नियमहरुको अवस्था के छ? कहाँनेर हामी चुकेका छौं? कहाँनेर सुधार जरुरी छ ? शिक्षा, स्वास्थ्यसहित आधुनिक अर्थतन्त्रसँग जोडिने केही विषयमा यतिबेला अध्ययन गरिरहेको छु। आर्थिक सम्वृद्धिसहितको सामाजिक रुपान्तरण अहिलेको हाम्रो आवश्यकता हुनुपर्छ भन्ने मेरो बुझाई हो। यसका केही क्षेत्रहरु छन्। ती क्षेत्रहरुलाई हामीले सम्बोधन गरेर अघि बढ्न सक्नुपर्छ। वास्तवमा सांसदहरुको सफलता भनेकै जनमुखी नीति निर्माण गर्याे कि गरेन भनेर तौलिनुपर्छ जस्तो लाग्छ। संसदमा अब के के विषयवस्तु उठाउने ? कस्तो भूमिका निर्वाह गर्ने ? यी प्रश्नहरु मेरा लागि मात्र नभई संसद भवन प्रवेश गर्ने प्रत्येक सांसदका लागि विचाराणीय छन्। (डा.पाठक संघीय सांसद हुन्)
Previous Article२५ फागुन २०७४, ढोरपाटन दैनिक
Next Article अन्तर कलेजको उपाधि डिग्नीटिलाई