सुन्दरकुमार थकाली
मुस्ताङ, २५ फागुन – पाँच वर्षअघि बिदेश जाने योजना बुनेका हिमालपारीको जिल्ला मुस्ताङ, टुकुचेका स्थानीय युवा राजन शेर्पाले यतिखेर गाउँघरमै बसेर मनग्ये आम्दानी गर्न थालेका छन् । २०६९ सालमा टुकुचे गाउँकै थापाखोला उत्तरतर्फको सेवी किनारामा अवस्थित करिव १५ रोपनी जग्गा लिजमा लिएर हिमालयन शेर्पा स्याउ नर्सरी उद्योग संञ्चालन गर्दै आएका शेर्पाले बिभिन्न जातका स्याँउ बिरुवा उत्पादन तथा बिक्री गरेर बार्षिक ७ देखि १० लाख सम्म मुनाफा कमाउने गरेको बताए ।
जिल्लामा भित्रिएको हिमाली उपआयोजनाको आर्थिक अनुदान ७ लाख तथा व्यक्तिगत पुँजी २ लाख रुपैयाँ जोडेर करिव ९ लाख लागतमा हिमाली शेर्पा नर्सरी उद्योग स्थापना गरेका उनले वर्षेनी १३ हजार देखि १८ हजारसम्म स्याउका बिरुवा बिक्री गरेका छन ।
‘मेहनत र साधना गरे बिदेश भौतारिन पर्दैन, गाउँमै बसेर आम्दानी लिन सकिन्छ’ उनले भने ‘बिदेसिन लागेका बेला हिमाली उपआयोजनाले काम गर्ने बाटो देखाईदियो, जसलेगर्दा कृषि उद्यमीको रुपमा आफु स्थापित भएको छु ।’ उनले गाउँका युवाशक्तीलाई बिदेश पलायनबाट रोक्न गाउघरमै प्रसस्त संम्भावना भएकाले तिनको उपयोग गर्न सवैसंग आग्रह गरे ।
जिल्लाकै एकमात्र निजी श्रोतमा संञ्चालित शेर्पा स्याँउ बिरुवा नर्सरी उद्योगमा ४ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यस्तै शितोषण मार्फा बागवानी केन्द्रले पनि वर्षेनी स्याँउका बिरुवा उत्पादन तथा बिक्री बितरण गर्दै आईरहेको छ । केन्द्रले वर्षेनी ३५ देखि ४० हजार स्याँउका बिरुवा उत्पादन गर्ने गरेको छ ।जिल्लालाई चाहिने पर्याप्त स्याँउ बिरुवा उत्पादन गर्ने भएपनि केन्द्रले स्याँउ खेती गर्दै आएका अन्य जिल्लामा पनि निर्यात गर्ने गरेकाले जिल्लामा माग अनुसारको स्याँउ बिरुवा अपुग भएको हो ।
मुस्ताङको तल्लोक्षेत्रदेखि उपल्लो मुस्ताङका किसान समेत बिरुवा खरिदका लागि शेर्पा नर्सरीमा धाउने गरेको शेर्पाले बताए । ‘पछिल्लो समय स्याँउखेतीतर्फ आर्कषर्ण बढेकाले बिरुवाको माग बढ्दै गएको छ’ उनले भने ‘उत्पादित नर्सरीका बिरुवा डोल्पा, रामेछाप र सोलुखुम्बु पुग्ने गरेको छ ।’ उनले २ वर्ष हुर्किएका प्रति बिरुवा २ सय र ३ वर्ष हुर्काईएका बिरुवाको ३ सय रुपैयाको दरले बिक्री गर्ने गरेको जानकारी दिए ।
स्याउँ उत्पादन जिल्लाको रुपमा परिचित हिमालपारी मुस्ताङमा पछिल्लो समय स्याउँखेतीतर्फ कृषकको आर्कषण बढ्दै गएको छ । जसका कारण उत्पादित बिरुवाको बजारिकरण सहज भएको शेर्पाको भनाई छ । उनले बिरुवा उत्पादन तथा उद्योग व्यवस्थापनमा आम्दानीको ५० प्रतिशत खर्च हुने र बाँकी ५० प्रतिशत बचत हुने बताए । उनका अनुसार स्याँउ बिरुवामा लाग्ने बिभिन्न प्रकोप नियन्त्रणका औषधि तथा आवश्यक औजार खरिद उद्योगलेनै जुटाउनु परेको दुखेसो व्यक्त गरे ।
वर्षेनी पुस महिनाको पहिलो सातादेखि चैत्र महिनाको पहिलो सातासम्म स्याँउ बगैचामा नयाँ स्याँउका बिरुवा लगाईने र अन्य समयमा बिरुवा उत्पादनतर्फ कार्य गर्दै आएको उनले जानकारी दिए । स्याँउ बिरुवा उत्पादन गर्न २ देखि ३ वर्षको समय लाग्ने गर्दछ ।
Previous Articleतलब नबढाउन क्यानाडाका डाक्टरहरुको आन्दोलन
Next Article लक्ष्यअघिनै सिंचाइ आयोना सम्पन्न