बागलुङ, २१ फागुन– सर्वसाधारणले खाने बस्तुमा सडेगलेका सामाग्री विक्रि गर्नेलाई कारवाही गर्न माग गर्दै राष्ट्रिय उपभोक्ता मञ्चले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको छ । सदरमुकाम स्थित बागलुङ कािलका सपिङ सेन्टरले बिक्री गरेका सामाग्री अखाद्य युक्त भएको भन्दै मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले उजुरी गरेका ह्ुन् । बजार अनुगमनको क्रममा सेन्टरका प्रोपाईटर जयलाल कंडेलले दुर्गन्धित भएको बस्तु विक्रि गरेको भेटिएको हो । यसअघि पनि पटक–पटक कंडेलले गैरखाद्य बस्तु विक्रि गरेको भेटिएको थियो । मञ्चकै सचिव रामबहादुर केसीले खरिद गरेको पापड खाएर घरपरिवारका सदस्यहरु बिरामी भएपछि अखाद्य बस्तु विक्रिको शंका भएको थियो ।
बालबालिकालाई एकैपटक वाकवाकी र पेट दुख्ने समस्या भएपछि उपचार गरेर केसीले कानूनी उपचारको खोजी गरेका थिए । उक्त सपिङ सेन्टरले यसअघि पनि दुइ पटकसम्म अखाद्य बस्तु विक्रि गरेको भेटिएर जिल्ला प्रशासनमा उजुरी परेपछि अनुसन्धान भैरहेको थियो । सेन्टरका प्रमुख जयबहादुर कंडेलले विक्रि गर्ने सामानमध्ये अधिकांसमा लेवल र मूल्य सूची नभएको भेटिएपछि यस अघि पनि प्रशासनले स्पष्टीकरण सोधेको थियो । प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले केसी परिवारले दिएको निवेदनसहित दुर्गन्धित पापड खाद्य नियन्त्रण तथा गुणस्तर बिभागमा पठाएको बताए ।
विभागले परिक्षण गरेर अखाद्य प्रमाणित गरेमा कंडेललाई उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार कारवाही गर्ने थापाले बताए । उक्त ऐन को दफा ९ (क) अनुसार उपभोग्य बस्तुमा उत्पादनको नाम ठेगाना र उद्योगको दर्ता उल्लेख नभएमा २ बर्ष जेल र ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान छ । साथै त्यसरी विक्रि गरेको खाद्यान्नबाट मानिस बिरामी परेमा वा अन्य दुर्घटना भएमा सोही अनुसारकै क्षतिपूर्ति भराउनुपर्ने प्रावधान छ ।