बागलुङ, २१ फागुन– स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पस बागलुङले निर्वाचनको एक बर्ष पुगेको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी बर्षगाँठ मनाउन थालेको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन धौलागिरी अञ्चल कजेल स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन गरीएको छ । कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपमेयर तथा पुर्व स्ववियु सभापति सुरेन्द्र खड्काले जिल्लाको विकासका लागि खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।
उनले खेलाडीहरुको प्रोत्साहनका लागि समय समयमा यस्ता प्रतियोगिता हुन आवश्यक रहेको भन्दै नगरपालिकाबाट गर्न सक्ने सबै खालका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बागलुङ नगरपालिकालाई आम सेवाग्राहीमैत्री बनाउनका लागि आवश्यक पहल गरेपनि कर्मचारी र जनप्रतिनिधीहरु बिच केही तालमेल हुन नसक्दा समस्या सिर्जना भएको उनको भनाई थियो ।
कार्यक्रममा पुर्व स्ववियु सभापति गोविन्द नेपाली, कमल अधिकारी, त्रिवि प्राध्यापक संघ धौलागिरि क्याम्पसका अध्यक्ष डिल्लीराज गौतम, विद्यार्थी कल्याण प्रमुख जोहन बज्राचार्य, त्रिवि कर्मचारी संघका अध्यक्ष शिवप्रसाद पाध्या, जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियार, धौलागिर अञ्चल अस्पतालका अध्यक्ष रामजी सुवेदी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, नेवि संघ ईकाइ अध्यक्ष दिनेश पन्त, अनेराश्ववियु इकाई अध्यक्ष इश्वर गौतम, अखिल क्रान्तिकारीका खिमानन्द कँडेल, अखिल छैठौँका दिलिप बुढाथोकी, राप्रपा विद्यार्थी संघका सडानन्द गिरि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम स्ववियु सभापति मनिष थापाको अध्यक्षता, खेल संयोजक हरिबहादुर भण्डारीको स्वागत र स्ववियु सचिव बिष्णु पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तै पहिलो दिन धौलागिरि क्याम्पस र विद्यामन्दिर माध्यामिक विद्यालय बिच खेल सम्पन्न भएको छ । खेलमा ३–४ अन्तरले धौलागिरि क्याम्पस दोस्रो चरणमा प्रवेश गरेको छ । सुरुवाती खेल देखी अन्त्य सम्म गोल गर्न नसकेपछि पेनाल्टी सुटआउट गर्दै धौलागिरि बहुमुखी क्याम्पसले ४ गोल र विद्यामन्दिर माविले ३ गोल गरेका थिए । धौलागिरि बहुमुखी क्याम्पसका तर्फबाट चिरन श्रीष, सुमन थापा, सन्दिप कँडेल, बिबश थापाले गोल गरेका थिए । यस्तै विद्यामन्दिर माविको तर्फबाट सुरेन्द्र उचै ठकुरी, अनिष थापा र दिलिप थापाले गोल गरेका थिए । पहिलो चरणका खेल आज पनि हुनेछन् ।
Previous Articleकालोपाटीमा आकृति कोरेर कम्प्युटर सिकाउने शिक्षक
Next Article क्षेत्री समाज जैमिनी गठन