बागलुङ, १९ फागुन– बालबालिकामा हुने कुपोषण हटाउने तथा सुनौला एक हजार दिनका आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याउनका लागि बागलुङ नगर स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन गरिएको छ । त्यस्तै नगर स्तरमै हुने सबै प्रकारका विपद जोखिन न्युनिकरणका लागि बिपद तथा जलवायु उत्थानशिल समिति गठन गरिएको छ । शुक्रवार आयोजित एक कार्यक्रममा नगर प्रमुखको अध्यक्षतामा सबै वडा अध्यक्ष तथा कार्यपालिका सदस्य रहेको समिति गठन गरिएको हो ।
खाद्य सुरक्षा समितिमा सामाजिक सुरक्षा समिति, स्वास्थ्य, शिक्षा, पशु तथा कृषिक्षेत्र हेर्ने प्रतिनिधि, गैरसरकारी संस्था, उद्योग बाणिज्य संघको प्रतिनिधि रहने व्यवथा छ । उक्त समितिले नगर भित्रका बालबालिकाको पोषणको अवस्था अध्ययन गर्ने तथा ख्याउटे पन भएका बालबालिकाको उपचारका लागि पहल गर्ने समेत बताइएको छ । आगामी ५ बर्ष भित्र कुनैपनि ख्याउटे बालबालिका नभएको नगर बनाउन यो समितिले अभियान संचालन गर्नेछ । जिल्लामा संचालित सुआहारा परियोजनाले यो अभियानका लागि प्राविधिक सहयोग गर्ने परियोजनाका जिल्ला संयोजक जगदिशराम लोहारले बताए । नगरभित्रका बस्तीमा धेरै ख्याउटे अवस्थाका बालबालिका भेटिएको, उनीहरुका अभिभावकमा चेतनाको कमीले उपचार नगरेको भेटिएको अवस्था समेत छ । यो समस्या समाधानका लागि पनि समितिको भूमिका महत्वपूर्ण हुने बताइएको छ । सुआहारा परियोजनाले जिल्लाका १० वटै स्थानीय तहमा यस्ता समिति गठन गर्ने तयारी गरेको छ । केहीमा गठन भैसकेका छन् भने केहीमा गठन हुने अवस्थामा छन् ।
त्यस्तै जलवायु परिवर्तनको असर न्युनिकरणका लागि पनि सुआहारा परियोजनाकै अगुवाईमा नगर स्तरीय बिपत तथा जलवायु उत्थानशिल समिति गठन भएको छ । नगर प्रमुख, उप्रमुख, कार्यपालिका सदस्यहरु सदस्य रहने यो समितिमा बिषयगत शाखा प्रमुखहरु, जिल्लाका सुरक्षा प्रमुख समेत सदस्य रहनेछन् । त्यस्तै रेडक्रस, गैरसरकारी संस्था, विज्ञ, व्यवसायी, विपद व्यवस्थापन शाखाका सदस्य समेत रहेको समितिमा महिला पनि समावेशी रुपमा रहने व्यवस्था छ । यो समितिले जलवायु परिवर्तनको समस्या बाट निम्तने जोखिम बहन गर्न सक्ने जनशक्ति उत्पादन गर्ने, तत्काल रेस्पोन्स गर्ने तथा अनुकुलन योजना निर्माणमा पनि सहयोग गर्ने बताइएको छ । साथै नगरभित्र बन्ने हरेक संरचनामा भूकम्प प्रतिरोधी बनाउन लगाउने र जोखिम न्युनिकरण गर्ने लक्ष राखिएको हो । उक्त अवसरमा नगर स्वास्थ्य अधिकारी जीवन शाक्यले कार्यपत्र प्रस्तुतीकरण गर्दै बर्षेनी जन्मेका ३६ प्रतिशत बालबालिका ख्याउटे भएको, नगरभित्रकै महिला मध्ये ८८ प्रतिशतले मात्र स्वास्थ्य संस्थामा पुगेर सुन्केरी गराएको, ५५ प्रतिशतले मात्र गर्भ जाँच र आइरन चक्की खाएको भेटिएको बताएका थिए । ४६ प्रतिशत किसोरीको रक्त अल्पताको अवस्थामा जन्मेका बच्चामा कुपोषण बढी भएको उनले टिप्पणी पनि गरे । पोषण युक्त खाना भन्दा जंक फुडमा ध्यान दिने प्रवृत्तिले स्वास्थ्य क्षेत्र कमजोर बन्दै गएको पनि उनले बताए ।
कार्यक्रममा नगर प्रमुख जनकराज पौडेलले नगरको स्वास्थ्य अवस्थामा सुधार ल्याउन कार्यपालिकको सदस्यहरुबाट १२ बुधे प्रतिवद्धता जनाएको भन्दै त्यस अनुसार काम गर्न सबै सरोकारवालालाई निर्देशन पनि दिएका थिए । साथै नगरले गर्नुपर्ने सबै दायित्व बहन गर्दै स्वस्थ्य नागरिक उत्पादनमा पहल गर्ने पनि बताए । नगर प्रमुख पौडेलकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुआहारा परियोजना संचालन गरेको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका अध्यक्ष यामप्रसाद कंडेलले स्वागत तथा विश्वनाथ आचार्यको संचालनमा सम्पन्न भएको थियो । उक्त अवसरमा सुआहारा कार्यक्रमका जिल्ला संयोजक जगदिशराम लोहारले पनि जिल्लाको पोषण र बिपद जोखिमको अवस्था बारे जानकारी गराएका थिए । कार्यक्रममा सुआहारकै परामर्शदात गीता श्रीषले सहजीकरण गरेकी थिइन् । उक्त अवसरमा गर्भ रहेदेखि शिशु २ बर्ष नपुग्दैको सुनौला एक हजार दिन भित्रकी सुत्केरी शर्मिला पौडेललाई पोषणयुक्त खाना हस्तान्तरण पनि गरिएको थियो ।
Previous Article१८ फागुन २०७४, ढोरपाटन दैनिक
Next Article १९ फागुन २०७४, ढोरपाटन दैनिक