बुनु थारू
बागलुङ, १३ फाल्गुन – विख्यात गायक माइकल ज्याकशन पश्चिमा संगीतका मानक थिए। उनले ५१ वर्षको उमेरमै कार्डियक अरेष्ट (आकस्मिक हृदयघात) बाट ज्यान गुमाए। चर्चित बलिउड अभिनेत्री श्रीदेवीको निधनका विभिन्न खाले कारणहरू सुरूमा अाएका थिए। सुरूमा हृदयघातबाट निधन भएको समाचार। तर चिकित्सहरुले उनलाई कार्डियक अरेष्ट अर्थात् आकस्मिक हृदयघात नै भएकाे पुष्टि गरेका छन्।
आकस्मिक हृदयघात त्यही राेग हो जसबाट केही गत मंसिरमा माअाेवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशकाे निधन भएकाे थियो। आम बुझाइमा हृदयघात र अाकस्मिक हृदयघात एउटै जस्तो लागे पनि यी दुई फरक अवस्था हुन्। वीर अस्पतालका वरिष्ठ मुुटरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्छन् ‘कार्डियक अरेष्ट भनेको हृदयगति बन्द भएर मानिसको मृत्यु हुनु हो।
कार्डियक एरेष्ट धेरैजसो हृदयघातको कारणले हुन्छ। तर हृदयघात चाहिँ कार्डियक अरेष्टको कारण भने होइन यसको अरु कारणहरु छन्। त्यसैले हृदयघात र कार्डियक अरेष्ट फरक कुरा हुन्।’ हृदयघातले कार्डियक अरेष्ट पनि निम्त्याउन पनि सक्छ। सडेन कार्डियक अरेष्ट चाहिँ त्यति बेला हुन्छ जब मुटुले रगतपम्प गर्न छोड्छ। त्यसैगरी हृदयघात हुँदा मुटुमा रगत जान नै ब्लक हुन्छ। कार्डियक अरेष्ट हृदयघातभन्दा बढी खतरनाक हुन्छ।
आकस्मिक हृदयघात कारणहरु के हुन सक्छन् ?
हर्टअट्याक भनेको चाहिँ मुटुको धमनी बन्द भएको अवस्था हो त्यो भएपछि कार्डियक अरेष्ट हुन पनि सक्छ नहुन पनि सक्छ। हेर्दा स्वस्थ्य देखिने मानिसलाई पनि कार्डियक अरेष्ट हुनसक्छ। शरीरमा पोटासियमको कमी, वंशाणुगत रोगका कारण पनि कार्डियक अरेष्ट हुन सक्छ । त्यसैगरी कसैले फुटबल खेल्दाखेल्दै पनि ज्यान गएको पाइएको छ त्यो भनेको अत्यधिक श्रम गरेर हो। अव्यवस्थित जीवनशैली, खानपान, आहारविहार, उच्च रक्तचाप, उच्च कोलोस्ट्रोल, डायबेटिज, धुमपान, धेरै रक्सी सेवन, उमेर, मुटुरोग, मिर्गौला रोग आदिले पनि कार्डियक अरेष्ट निम्त्याउन सक्छ।
के हुन्छ लक्षण ?
कार्डियक अरेष्ट एक्कासि र अचानक हुने भए पनि यसको केही लक्षण चाहिँ देखापर्न सक्छ। जस्तै छाती दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि।
कसलाई बढी जोखिम ?
कार्डियक अरेष्टको जोखिम महिला र पुरुष दुवैमा छ। आजकाल फेरिँदो जीवनशैलीले त्यसको जोखिम महिलामा पनि बढाएको छ। महिलाहरु पनि चुरोट र रक्सीसेवन गर्ने, उक्त रक्तचाप, सुगर रोगी, मोटोपन, कामकाजमा व्यस्त रहने, तनाव चिन्ता लिने आदिले गर्दा उनीहरुमा पनि जोखिम देखिन्छ। डा. रेग्मी भन्छन् ‘महिनावारी रोकिसकेका महिलाहरुमा हृदयघात हुने सम्भावना बढी हुन्छ। महिलामा हुने हृदयघात र पुरुषमा हुने हृदयघातका लक्षण फरक देखिएका छन्।’ कार्डियक अरेष्टको जोखिम महिलाभन्दा पुरुषलाई २ देखि ३ पटकसम्म हुने सम्भावना रहन्छ।
बच्न के गर्ने ?
धुम्रपान र मद्यापानबाट टाढा रहने, स्वस्थ्य जीवनशैली अपनाउने, हरियो सागपात, फलफूल खाने, कम्तिमा दिनको आधा घण्टा हल्का व्यायाम गर्ने, मोटोपन छ भने तौल नियन्त्रत गर्ने, गुलियो चिल्लोबाट टाढा रहने, मानसिक तनाव कम लिने गर्नुपर्छ। कसैलाई सुगर, प्रेसरको समस्या छ भने उपचारमा गइहाल्नुपर्छ नत्र कार्डियक एरेष्ट भइ मानिस बेहोस हुनुका साथै उपचार नपाएको खण्डमा तत्काल मृत्यु हुन सक्छ।