सुर्खेत, १२ फागुन – प्रदेशसभाको बैठकले ६ नं प्रदेशलाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ । प्रदेशसभाको शनिबार बसेको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट ६ नं प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो ।
बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गरेका थिए। प्रस्तावमा नेपाली कांग्रेस जुम्लाका सांसद दीनबन्धु श्रेष्ठ, एमाले डोल्पाका सांसद वीरबहादुर शाही र राप्रपा कालीकोटका सांसद सोशिला शाही समर्थन गरेका थिए।
चालीस प्रदेशसभा सदस्यमध्ये ३७ जनाले उक्त प्रस्तावको पक्षमा मत जाहेर गरेको तथा मुगुबाट निर्वाचित सांसद चन्द्रबहादुर शाही र झोवा विक अनुपस्थित रहेको सभामुख राजबहादुर शाहीले जानकारी दिए। बैठकमा सभामुख शाहीले यस प्रदेशको नाम ‘कर्णाली प्रदेश’ भनेर घोषणा गरेका थिए। बैठकमा प्रस्तुत प्रस्तावको छलफलमा प्रदेशसभा सदस्य सीता नेपाली, कृष्णा शाह, हिमबहादुर शाही, कौशिला खत्री, दानसिंह परियार र पदमबहादुर रोकायाले भाग लिएका थिए।
कर्णाली प्रदेशको राजधानी सुर्खेत
यसैगरी बैठकले सर्वसम्मत रुपमा प्रदेश नं ६ को प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर) राख्ने निर्णय गरेको छ। प्रदेशसभाको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘प्रदेश राजधानी सुर्खेतमा राखियोस्’ भनी प्रस्ताव गरेका थिए। प्रस्तावमा नेकपा (एमाले)का सांसद गुलाबजंग शाह र नेकपा (माओवादी केन्द्र)का सांसद गणेशप्रसाद सिंहले समर्थन जनाएका थिए।
सभामुख शाहीले मन्त्री भण्डारीलाई बोल्न दिएपछि संसदीय परम्पराविपरीत सरकारका मन्त्रीले सरकारकै प्रस्तावमा भाग लिन नपाउने भन्दै सभामुखको ध्यानाकर्षण गराए। सभामुख शाहीले मन्त्री भण्डारी मन्त्री मात्र नभई जुम्लाको सांसद भएकाले प्रस्तावमाथि बोल्न समय दिएको बताएपछि विपक्षी दलका नेतासांसद शाही आशनमा बसेका थिए। रासस