कुमार शर्मा
एउटा किताब छ । किताब आफैंमा मोटो भने छैन । तर, पनि पढ्न कठिन भइरहेको छ । पात्रहरूका नाम पनि अजीव छन् । सबै उस्तै लाग्छन् । किताबमा एउटा काल्पनिक गाउँ सिर्जना गरिएको छ । यस्तो लाग्छ- लेखक त्यो गाउँको कथालेख्दैछन् एकदमै सुरुवातदेखि, जहाँबाट सभ्यता शुरु हुन्छ । एउटा आम पाठकलाई पढ्न यति कठिनाइ हुने पुस्तक कसरीविश्व साहित्यको महानतम कृतिमध्ये एक हुन सक्छ ? म आफैंलाई प्रश्न गर्छु ।यति धेरै पढिएको, यतिका भाषामा उल्था गरिएको साहित्य त अलि सरल हुनु पर्ने होइन र- अर्नेस्ट हेमिङ्वेको ‘द ओल्डम्यान एन्ड द सि’ जस्तो ?
एप्पलका संस्थापक स्टिभ जब्सलाई सम्झन्छु । उनी आफ्ना प्राविधिकहरुलाई भन्ने गर्थे, “मलाई यस्तो फोन बनाएरदेऊ, जुन एउटा आम मान्छेले पनि सजिलै चलाउन सकोस् । त्यस्तो फोन, जसलाई चलाउन कुनै पूर्वज्ञानको जरुरी नहोस् । सिम्पल क्यान बी हार्डर देन कम्प्लेक्स ।”
शायद यो कुरा किताबमा लागू हुँदैन । पेज नम्बर ५० मा अड्किएको छु । हजार कोसिसका बाबजुद अगाडि बढ्न सक्दिनँ ।किताब बन्द गर्छु ।९ वर्ष बित्छन् । किताब अझै बन्द नै छ ।
केही महिनापछि अचानक किताब फेरि पल्टाउँछु, शुरुवातदेखि । सभ्यतादेखि । यसपालि कुनै बाधा हुँदैन । दुई-तीनदिनमा किताब पढेर सकिन्छ ।
० ० ०
कोलम्बियन लेखक ग्याब्रिएल गार्सिया मार्खेजको ‘वान हन्ड्रेड इयर्स अफ सोलिटिउड’ पढेर सक्दै गर्दा मनमा धेरै विचारमनमा आए । एउटा विचार यो थियो कि यो किताबको बारेमा यति धेरै भनिसकिएको, लेखिसकिएको छ कि यसको बारेमाअब थप एक शब्द मात्रै पनि लेखिनु कुनै अपराधभन्दा कम हुनेछैन । सोचें- मौन रहनु नै सबैभन्दा उचित कुरा हो । तर,उत्तिखेरै एउटा अर्को विचार पनि आयो । यो किताब पढिसकेपछि यसको बारेमा एक शब्द पनि नलेख्नु बरु ठूलो अपराध हुनेछ । महान् लेखक मार्खेजमाथि एउटा भद्दा मजाक हुनेछ । अन्त्यमा त्यो ठूलो अपराध नगर्ने निर्णय गरें । जानी-जानी पनिके अपराध गर्नु ?शायद तपाईंलाई अन्दाज भइसक्यो होला, मार्खेजको ‘वान हन्ड्रेड इयर्स अफ सोलिटिउड’ पढ्ने यो मेरो पहिलो प्रयास भनेथिएन । वर्षौंअघि सन् २००९ तिर यो किताब पढ्ने प्रयास गरेको थिएँ । त्यसबेला मुस्किलले ५० पेजसम्म मात्र पढ्नसकेको थिएँ ।
यो मेरो अनुकूल पुस्तक नै होइन भन्दै आफैंलाई सान्त्वना दिएँ धेरै समयसम्म । तर, पनि मनमा एउटा खिन्नता भनेरहिरह्यो । अरुको अगाडि आफूलाई बडा गर्का साथ किताब, उपन्यास पढ्न रुचाउने मान्छे भनेर चिनाउने मान्छे म आफूभने बीसौं शताब्दीका महान् लेखकको महानतम कृति पढ्न सकिरहेको थिइनँ । एउटा लज्जाको विषय भयो यो मेरा लागि । दिन, महिना गर्दै वर्ष बित्दै जाँदा लज्जाभन्दा पनि एक चुनौतीको रुपमा मनमा गढिरह्यो मार्खेजको यो किताब ।आफ्ना कमजोरी हामी अरुसामु लुकाउन खोज्छौं । आफैंसँग पनि सकेसम्म लुकाउन खोजिरहन्छौं । आफ्नाकमजोरीहरुप्रति सजिलै सहज हुन सक्दैनौं । सुन्दा नाम उस्तै लाग्ने धेरै अनि अल्मल्याउने पात्र, अचम्मका घटना । त्यसबेला ५० पेजभन्दा अगाडि बढ्न नसक्नुका कारण यिनै थिए । अरुसँग पो झुट बोल्न सकिएला तर आफैंसँग कहिलेसम्म झुट बोल्नु ? ती कारण त हात्तीको देखाउने दाँत थिए । खास खाने दाँत त अर्कै थियो ।
त्यस बेला मेरो साहित्यिक चेत अलि काँचै थियो । साहित्यको नाममा उल्लेख्य रूपमा पढेको भनेको बीपी कोइरालाका कथा/उपन्यास, पारिजातको ‘शिरीषको फूल’ र केही फुटकर कथामात्र थिए । अहिले यकिनका साथ यत्ति भन्न सक्छु कि ‘शिरीषको फूल’ पढे पनि मैले बुझेको थिइनँ, विश्व साहित्यको त कुरै छोडौं । एन्टोन चेकोभका केही कथा र हेमिङ्वेको ‘द ओल्ड म्यान एन्ड द सी’ बाहेक उल्लेख्य अरु केही पढेको थिइनँ । खालेद होसेनीको बहुचर्चित ‘द काइट रनर’ भर्खरै पढेर सिध्याएको थिएँ । हातमा गनेर अटाउने केही किताब पढेको भरमा मार्खेजको सबैभन्दा महत्वाकांक्षी कृति पढ्न तम्सिनु एउटा दुस्साहसभन्दा अरु केही थिएन । मनमनै आफैंसँग संकल्प गरें- मार्खेजको चुनौती पार गर्न मैले अरु पढ्नुपर्छ, धेरै पढ्नुपर्छ ।
सुरु त गर्ने तर कहाँबाट ? साहित्यको सागर त अथाह छ !
सम्झें- हजार माइलको यात्रा पनि त एक पाइलाबाट सुरु हुन्छ । सजिलोबाट नै सुरु गरौँ सोचेर चेतन भगत, पाउलोकोहेलोहरु सुरुवाती दिनमा पढें । ‘द काइट रनर’ले विशेष प्रभाव परेको थियो । त्यसैले होसेनीका क्रमश: सबै किताब पढें । हाम्रा आफ्नै सम्राट उपाध्याय अनि मन्जुश्री थापा पछि छुट्ने कुरै भएन । यात्रा अघि बढ्दै गयो । हारुकी मुराकामी,लहिरी, अडिची, रोयहरुसँग यात्राको क्रममा परिचय भयो । ओर्वेल, पामुक, नइपल, कोइत्जेहरुसँग पनि भेट हुने क्रमजारी रह्यो । समानान्तर रुपमा नेपाली साहित्यतिरको यात्रा पनि जारी नै थियो । पहिले नारायण वाग्ले, नयनराजपाण्डेहरुसँग परिचय भयो । बुद्धिसागर, अमर न्यौपाने, नगरकोटीहरु पछि आए ।यी सब मेरा लागि एउटा लामो भऱ्याङका खुड्किला थिए, जसमा टेकेर म टुप्पोसम्म पुग्न चाहन्थें । टुप्पोमा ममार्खेजलाई देख्थें- उही मोटो जुँगा, उही हँसिलो अनुहार । उनी माथिबाट मलाई हेरिरहेका हुन्थे । बेला-बेला खिसीगरेजस्तो पनि लाग्थ्यो ।
मार्खेजसम्म पुग्ने के यो भऱ्याङ सही थियो ? के यी सबै खुड्किलाहरु उक्लिसकेपछि प्रकट हुने दृश्यमा मार्खेज देखिन्थे ?सोचें- एकचोटि परीक्षा त लिनै पऱ्यो । अलिकति भए पनि बेस त बनेको छ जस्तो लाग्न थालेको थियो । तर, सोझै ‘वानहन्ड्रेड इयर्स अफ सोलिटिउड’ उठाइहाल्ने हिम्मत भने भएन । तयारी अलि पुगेको छैन जस्तो लाग्यो ।
सीधै एलएलसीमा बस्नुभन्दा पहिले ‘सेन्टअप’ परीक्षामा बस्नु उचित ठानें । ‘सेन्टअप’को लागि रोजें उही मार्खेजकोअर्को किताब- ‘लभ इन द टाइम अफ कोलेरा’ । फर्मिना र फ्लोरेनटिनो नाम गरेका दुई वृद्ध जोडीको एक अदभूत अनिअसामान्य प्रेमकथा पढ्न केही समस्या भएन । बढो प्रेमका साथ पढेर सिध्याइयो । यो सन् २०१५ तिरको कुरा थियो ।कुनै कठिनाइबिना ‘सेन्टअप’ परीक्षा पास गरेकोले आत्मविश्वास जरुर केही बढेको थियो । र, पनि अरु दुई वर्ष यसै बित्यो । यसबीच खुड्किला उक्लिने क्रम भने चलिरहेकै थियो ।घरनजिकैको पुस्तकालयमा अरु किताबहरुतिर नजर डुलाउँदै गर्दा कहिलेकाहीँ त्यो किताब माथि पनि आँखा पर्थ्यो ।कमजोरीले भन्थ्यो, “छोडिदे, यो तेरो क्षमताबाहिरको कुरा हो !”
चुनौती भन्थ्यो, “उठा किताब, कोसिस त गर्नेपर्छ !”
केहीबेर सुम्सुम्याउँथे अनि किताब त्यसै दराजमा राखिदिन्थें । मार्खेजको त्यो किताब बाटोमा हिँडदा भेटिने आफन्त,साथीभाइका स-साना छोराछोरीजस्ता लाग्न थालेको थियो- केही समय सुम्सुम्याएर माया गर्न त सकिने तर आफ्नो घर लैजान भने नसकिने ।
० ० ०
हामी अहिले सन् २०१७ को डिसेम्बर महिनामा छौँ । करिब ९ वर्ष बितिसकेको छ । पहिलो प्रयासको सम्झना धमिलो हुँदैछ । स्वयम् मार्खेजले यो संसार छोडेको तीन वर्षभन्दा बढी भइसकेको छ । अचानक एकदिन केही नसोची किताब उठाउँछु ।एकपछि अर्को पन्ना पल्टिँदै जान्छन्, कुनै अवरोधबिना । पहिले उस्तै लागेका पात्रहरु अहिले फरक लाग्छन्, कुनै समय’कन्फ्युजिङ’ लागेका पात्र तथा घटनाहरु अहिले ‘इन्ट्रिगिङ’ लाग्छन् । उपन्यासमा सिर्जना गरिएको ‘म्याकोन्डो’ गाउँकुनै दूर-दराजको आदिवासी बस्ती जस्तो लाग्छ । र, त्यसमा बसोबास गर्ने बुयनडिया परिवार कुनै एउटा प्राचीनसभ्यताको पहिलो पुर्खाजस्तो लाग्छ ।बुयनडिया परिवारका हरेक सदस्यको एक्लोपना मनैदेखि आत्मसात गर्छु । यो परिवारको लागि एक्लोपना कुनै अप्ठ्यारोपरिस्थिति होइन, छहारी जस्तो हो । दुश्मन नभएर एउटा जीवनभरको साथीजस्तो हो । किताबको अन्त्यतिर आउँदै गर्दाएकचोटि रुन मन लाग्छ । करिब २ सय वर्षको समयमा बुयनडिया परिवारका सदस्यले भोगेको कर्म, भाग्यसँग उनीहरुकोआ-आफ्नै लडाइँ र अन्तिम पलसम्म एक्लोपनामा रुमलिएको उनीहरु हरेकको जीवनले दु:खी बनाउँछ । तर, मार्खेजकोसाहित्यिक जादुको अगाडि यो दु:खको भावना पनि कुनै एउटा उत्सवभन्दा कम लाग्दैन । दु:खी भएकोमै खुशी मान्छु ।बेलायती लेखक/समीक्षक जोन बर्जरको एउटा भनाइ छ, “नेभर अगेन विल अ सिंगल स्टोरी बी टोल्ड याज दो इट वेर दअन्ली वन ।”
मार्खेजको ‘वान हन्ड्रेड इयर्स अफ सोलिटिउड’को अन्तिम पृष्ठ पल्टाउँदै गर्दा बर्जरको भनाइ याद आउँछ । सोच्छु- कतिमिलेको !
त्यही किताबको अन्तिम पृष्ठ पल्टाउँदै गर्दा एउटा अर्को विचार पनि मनमा आउँछ । करिब ९ वर्षको अन्तरालपछि एसएलसी उत्तीर्ण भएको छु । अन्तत: ग्र्याजुवेट भएको छु ।झन्डै एक दशकको अवरुद्ध प्रयासपछि पढिसिध्याएको यो किताब स्वयम् मार्खेजलाई लेखिसिध्याउन कति समय लाग्योहोला ?
बाह्रखरी