काठमाडौं, ११ फागुन – नामिबियामा सम्पन्न आइसीसी डिभिजन दुई खेल्दै नेपाललाई विश्वकप छनोटमा पुर्याएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुलाई जनही चार लाख रुपैया सम्मान स्वरुप प्रदान गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट जनही तीन लाख तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फबाट सम्मान स्वरुप प्राप्त एक लाख रुपैयाँ प्रदान गरेका हुन्।
सम्मानसँगै शनिबार विश्वकप छनोट खेल्न जिम्बावे जाने नेपाली टोलीलाई उक्त कार्यक्रममा विदाई पनि गरिएको थियो। विश्वकप छनोटमा जाने खेलाडीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओली उच्च आत्मविश्वासका साथ खेल्न र सफलताका साथ फर्कन आग्रह गरे। नेपालले खेल क्षेत्रमा आफूलाई अगाडी बढाएको बताउँदै ओलीले आगामी दिनमा पनि थप सफलतासँगै उच्च सम्मानहरु गर्न पाइयोस् भनि आशा व्यक्त गरे। साथै, उनले यस सम्मानले अन्य खेलाडीलाई पनि प्रेरणा मिलोस भन्ने विश्वास जताए।
मुलुकमा स्थिर तथा बहुमतको सरकार बनेकाले खेलकुद क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा पर्ने ओलीको भनाई थियो। सम्मान ग्रहणपश्चात आज जन्मदिन परेका प्रधानमन्त्री ओलीलाई राष्ट्रिय टोलीका तर्फबाट शुभकामना दिँदै कप्तान पारस खड्काले उनको कार्यकालमा कम्तिमा एउटा फुटबल र एउटा क्रिकेटको स्टेडियम बनेको देख्न पाइयोस् भनि विश्वास व्यक्त गरे।
‘यसअघिको भेटमा पनि प्रधानमन्त्रीले उहाँको सरकारले अब खेलकुदलाई प्राथमिकता दिने बताउँनु भएको छ,’ पारसले भने, ‘अब आउने सरकारको बजेटमा खेलकुद क्षेत्रले राम्रो प्राथमिकता पाउने विश्वास गरेका छौ।’ आफुहरुको राम्रो प्रदर्शनले सम्पूर्ण नेपालीहरुलाई खुशी दिएको बताउँदै पारसले आगामी दिनमा पनि अझ राम्रो प्रदर्शन गर्दै बारम्बार नेपालीहरुलाई खुशी दिलाइरहने विश्वास दिलाए।
Previous Articleएमालेमा मन्त्री छान्ने जिम्मा ओलीलाई, पार्टी अधिवेशनमा रोक
Next Article नेपालमा फेरि रक्तपात गराउने कोशिश – प्रचण्ड