बागलुङ, ९ फागुन– धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा बिकास हुँदै गरेको पञ्चकोटमा बुधवारदेखि हुने महायज्ञको तयारी पुरा भएको आयोजले बताए । एकसय ८ फिट अग्लो विश्वशान्ति कलस निर्माण गर्ने, धार्मिक पर्यटकहरुको पहिलो रोजाईको केन्द्र बनाउने लगायतको उद्धेश्य राखेर चार बर्ष अघिदेखि हरेक बर्ष महायज्ञको काम थालिएको थियो । अहिले सम्म यो अभियानमा १४ करोड रुपैयाँ संकलन भएको छ भने सोही अनुसारको पूर्वाधार पनि निर्माण भएका छन् । पत्रकार सम्मेलनमा प्रतिनिधि अध्यक्ष नगेन्द्रराज शर्माले सबै क्षेत्रको साथ र सहयोगले महायज्ञ सफल बनाउन लागिएको बताए । योजना अनुसारको पञ्चकोटका पूर्वाधार निर्माण भएमा देशकै पर्यटकीय र धार्मिक गन्तव्य बन्ने पनि उनले बताए । उक्त स्थानमा गरुण नारायण मन्दिर, सिस महल, हनुमान मुर्ति, महाघण्ट स्थापना, पाहुना घर तथा गौशाला निर्माणको काम भैरहेको छ । त्यस्तै सदरमुकाम देखि उक्त स्थानमा जाने सडक पक्की बनाउने क्रम अन्तिम चरणमा पुगेको छ । धारापानी देखि पञ्चकोट सम्म पक्की सिंढी मार्फत पनि जान सक्ने बाटो बनाइएको छ । बुधवारदेखि शुरु हुने महायज्ञ फागुन १५ गते सम्म चल्नेछ । ‘वर्तमान प्रधानमन्त्री समेत यस अघि आएर पञ्चकोटको बिकास गर्नुपर्नेमा जोड दिनुभएको थियो’ शर्माले भने, ‘प्रधानमन्त्री भएको समयमा पनि यो बिषयलाई साथ दिनुभयो भने हाम्रो अभियानले सफलता पाउनेछ ।’ कार्यक्रममा बानपा ६ का वडा अध्यक्ष खेमराज सापकोटा, उबासंघका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ लगायतले उत्तर दिएका थिए ।
Previous Articleक्रिकेट खेलाडी करण केसीलाई बागलुङमा सम्मान
Next Article प्रजातन्त्र माविको ५६ औं वार्षिकोत्सव