झलनाथ खनाल
वर्तमान संविधानको चरित्र :
नेपाली समाज अत्यन्त महत्वपूर्ण मोडबाट अगाडि बढिरहेको छ । हामीले नयाँ जनवादी क्रान्तिको थालनी पुष्पलालको अगुवाइमा ००६ सालमा गरेका थियौँ । त्यो क्रान्ति अनेकौँ मोड र धुम्ती हुँदै ०६२–६३ को जनक्रान्तिमा आएर टुंगियो । सो जनक्रान्तिको उपलब्धि नै अहिलेको संविधान हो । संविधान बनाउन पनि लामो समय लाग्यो । १० वर्ष लगाएर हामीले संविधान निर्माण गरेका छौँ । यो संविधानका अत्यन्त महत्वपूर्ण चरित्र छन् ।
लोकतान्त्रिक संविधान :
यो अत्यन्तै लोकतान्त्रिक संविधान हो । यसले सम्पूर्ण जनतालाई सबै प्रकारका हक अधिकारले सुसम्पन्न गरेको छ र सम्पूर्ण विभेद अन्त्य गर्ने ठोस आधार तयार पारेको छ । अविकासको अवस्थालाई तोडेर विकासको मार्गतर्फ अगाडि बढ्ने आधार यसले तयार पारेको छ । संविधानले मुलुकको राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई अत्यन्तै बलियो आधार प्रदान गरेको छ ।
देशभक्तिपूर्ण संविधान :
नयाँ संविधानले नेपाली जनताको एकता, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई अत्यन्त बलियो ढंगले उठाएको छ । यही संविधानको आधारमा अब नेपाली जनता संसारका सबै मुलुकसामु स्वतन्त्र र स्वाभिमानी नेपाली जनताका रूपमा उभिन सक्छन् ।
परिवर्तनको पक्षधर वा प्रगतिशील :
यो संविधानले नेपाली समाजलाई अरू अग्रगामी दिशातर्फ अगाडि बढाउने कुरालाई मार्ग प्रशस्त गरेको छ । नेपाली समाजलाई समुन्नति र समृद्धिको बाटोतर्फ लाने सुस्पष्ट मार्ग तयार गरेको छ ।
समाजवादोन्मुख राज्यको परिकल्पना :
यो संविधान आफैँमा समाजवादोन्मुख छ । यसले पुँजीवादी व्यवस्था स्थापनाको परिकल्पना गर्दैन । यसको परिकल्पना भनेको समाजवादतर्फ जाने हो । समाजवादले मात्र विश्वमा उन्नति, समुन्नति र समृद्धि ल्याउन सक्छ भन्ने परिकल्पनामा आधारित छ यो संविधान । यो संविधान समाजवाद र पुँजीवादबीचको एउटा कडी पनि हो । हाम्रो देशलाई समाजवादमा पु-याउनका लागि यो संविधानले महत्वपूर्ण भूमिका खेल्नेछ ।
वर्तमान संविधानका मुख्य परिकल्पना :
संविधान जुन दिन घोषणा हुन्छ, त्यही दिनदेखि कार्यान्वयनको थालनी हुन्छ । संविधान कार्यान्वयनको थालनी भएको छ । तर, समग्रमा यो संविधानका परिकल्पना के–के हुन्, त्यसलाई बुझेर कार्यान्वयन गर्ने बृहत् कार्ययोजनासाथ सरकार अगाडि बढ्नुपर्छ । सरकार नै संविधान कार्यान्वयनको मुख्य एजेन्ट हो । त्यसले सम्पूर्ण जनता, राजनीतिक पार्टी र सामाजिक शक्तिलाई एकताबद्ध गरेर सिंगो राष्ट्रलाई गोलबन्द गरेर संविधान कार्यान्वयनतर्फ लाग्नुपर्छ । संविधान कार्यान्वयन गर्ने क्रममा चारवटा महत्वपूर्ण पक्ष छन् । संविधानका चार परिकल्पनालाई हामीले साकार पार्नुपर्छ ।
नयाँ राजनीतिक पद्धति :
यो संविधानले नयाँ राजनीतिक व्यवस्था परिकल्पना गरेको छ । हामी यही संविधानमार्फत स्थानीय निकायको निर्वाचन, प्रदेशको निर्वाचन र राष्ट्रिय स्तरको निर्वाचन गर्नेछौँ । त्यो गरिसकेपछि राजनीतिक पद्धतिले आकार लिनेछ । त्यो राजनीतिक पद्धति कति सुसंगठित हुनेछ, सुसंगत हुनेछ, गतिशील हुनेछ र नेपाली समाजका समस्यालाई ठीक ढंगले समाधान गर्दै अगाडि बढ्नेछ भन्ने भोलि हामीले व्यवहारमा देखाउनुपर्नेछ । अहिले संविधानले परिकल्पना गरेको सबैभन्दा पहिलो कुरा नयाँ राजनीतिक पद्धति नै हो । त्यसलाई हामीले कार्यान्वयनमा ल्याउन बाँकी नै
छ ।
नयाँ आर्थिक पद्धति :
यस आर्थिक पद्धतिमा राजकीय क्षेत्र, सहकारी क्षेत्र र निजी क्षेत्र हुनेछ । यी तीनवटा क्षेत्र भएको नयाँ आर्थिक पद्धतिलाई हामीले साकार गर्नुपर्छ । यो साकार गर्ने कुरा अर्को चुनौतीपूर्ण छ । हामीले राजकीय क्षेत्रलाई कति मात्रामा प्रोत्साहित गर्ने, कति मात्रामा प्राथमिकता दिने, सहकारितालाई कति मात्रामा प्रोत्साहित गर्ने र त्यसलाई स्थापित गर्ने ? निजी क्षेत्रलाई कति दिने ? यी विषयमा सन्तुलित राष्ट्रिय नीति बन्नुपर्छ । त्यही नीतिका आधारमा हामीले नयाँ अर्थतन्त्र निर्माण गर्नुपर्छ । यसका लागि ‘ग्राउन्ड’ तयार भएको छ । वातावरण तयार भएको छ । तर, यसलाई साकार पार्नका लागि राजनीतिक नेतृत्वले सशक्त ढंगले कदम चालेर अगाडि बढ्न सक्नुपर्छ ।
नयाँ सामाजिक पद्धति :
यो संविधानले नयाँ सामाजिक पद्धतिको परिकल्पना गरेको छ । हामीले ०६२–६३ को जनक्रान्तिमा आएर भन्यौँ– लैंगिक समानता, जातीय समानता, भाषिक समानता, सामाजिक समानता र भौगोलिक समानता । पहिलेको समाजमा जुन असमानताको खाडल थियो, त्यसलाई पुर्नुपर्छ भन्ने परिकल्पना संविधानले गरेको छ । संविधानको परिकल्पनालाई व्यवहारमा उतार्न ठूलो कार्ययोजना बनाएर काम गर्नुपर्ने आवश्यकता छ । नयाँ सांस्कृतिक पद्धति :
हामीले हिजोसम्म अर्धसामन्ती र अर्धऔपनिवेशिक समाज भनिरहेका थियौँ । अबको नेपाली समाज भनेको स्वतन्त्र पुँजीवादी समाज हो । स्वतन्त्र पुँजीवादी वा लोकतान्त्रिक गणतान्त्रिक समाजमा नयाँ संस्कृति हामीले निर्माण गर्नुपर्छ । त्यसका लागि अब गाइने गीत, भनिने कथा, लेखिने उपन्यास, महाकाव्य र कुनै पनि गाथा भिन्नै हुनुपर्छ । यसरी हामीले नयाँ संस्कृति निर्माण गर्नुपर्छ । अब नयाँ संस्कृति नभए यो संविधान चल्दैन र समाज पनि चल्दैन । हिजो एउटा पार्टीले बहुमत ल्याउने अनि सरकार बनाउने प्रचलन थियो । हिजोको संविधानले त्यही कुरालाई प्रोत्साहित गथ्र्यो, तर अहिलेको संविधानले संयुक्त सरकारलाई प्रोत्साहित गर्छ । अब कुनै एउटा पार्टीको मात्र बहुमत आउन सम्भव छैन । विभिन्न पार्टीले संयुक्त रूपमा सरकार बनाएर सञ्चालन गर्नुपर्ने अवस्था विद्यमान छ । त्यसकारण सबै क्षेत्रमा नयाँ संस्कृति चाहिन्छ । सामाजिक आचार विधि र संस्कार प्रणालीमा पनि नयाँपन ल्याउनुपर्छ ।
चुनौती सामना गर्नसक्ने पार्टी :
नयाँ राजनीतिक पद्धति, नयाँ आर्थिक पद्धति, नयाँ सामाजिक पद्धति र नयाँ सांस्कृतिक पद्धति नै अहिलेका सबैभन्दा ठूला चुनौती हुन् । त्यो चुनौती सामना गर्नसक्ने हिसाबले हामी सबै अगाडि बढ्न सक्नुपर्छ । यी चार चुनौती सामना गर्नुपर्छ भनेर सम्पूर्ण राजनीतिक दलका नेता तथा कार्यकर्ताले समान ढंगले बुझ्न सक्नुपर्छ । प्रत्येक नेतृत्वले सिंगो पार्टी पंक्तिलाई त्यसरी नै बुझाउन सक्नुपर्छ र सम्पूर्ण कार्यकर्ताले पनि त्यसरी नै बुझ्न सक्नुपर्छ । यी चारवटा चुनौती साकार पार्नु हाम्रो अहिलेको दायित्व हो भनेर त्यस लक्ष्यवरिपरि सिंगो पार्टी पंक्तिलाई एकताबद्ध गर्नु आजको अर्को चुनौतीको विषय हो । हामीले सबै प्रकारका गुटबन्दी अनुशासनहीनता र अराजकताबाट पार्टीलाई मुक्त गर्नुपर्छ ।
सिंगो पार्टीपंक्ति एकताबद्ध हुने आधार :
हामी नवौँ महाधिवेशनले अगाडि सारेका कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकताबद्ध हुनुपर्छ । नवौँ महाधिवेशनले अगाडि सारेका कार्यदिशा, नीति र सिद्धान्तकै आधारमा हामीले संविधान निर्माण गरेका छौँ । संविधानले हाम्रा सामु चारवटा मुख्य चुनौती ल्याइदिएको छ । यी चारवटै काम गर्न सकिन्छ । यी असम्भव कुरा होइनन् । तर दृढतापूर्वक काम गर्नसक्ने एउटा राष्ट्रव्यापी, जनव्यापी, अनुशासित, एकताबद्ध र जनआधारित कम्युनिस्ट पार्टीले मात्र कार्यान्वयनको नेतृत्व गर्न सक्छ । हामीले आ–आफ्नो कमिटीभित्र बसेर पार्टीको नवौँ महाधिवेशनको कार्यदिशा, नीति र सिद्धान्तलाई समात्ने र त्यसको आधारमा पार्टी कमिटीलाई गठन, पुनर्गठन र रूपान्तरणका काम गर्नुपर्छ । नवौँ महाधिवेशनको कार्यदिशा, नीति र सिद्धान्तविपरीत कुनै काम भइरहेका छन् भने ती गलत कामविरुद्ध दृढतापूर्वक उभिनुपर्छ । गाउँ गाउँ कमिटीअन्तर्गत उभिने, क्षेत्र क्षेत्रमा उभिने, जिल्ला जिल्लामा उभिने र पार्टीलाई सुदृढ बनाउँदै एकताबद्ध गर्ने काम गर्नुपर्छ ।
राष्ट्रिय सहमति निर्माण:
नेपालको कम्युनिस्ट आन्दोलन जसरी अगाडि बढेर आएको छ, ती अनुभवको समीक्षा गर्दै कम्युनिस्ट आन्दोलनलाई अझ शक्तिशाली, सुदृढ र गतिशील बनाएर लानुपर्ने आवश्यकता छ । अहिले हाम्रो पार्टीको विकासक्रम हेर्दा आठौँ राष्ट्रिय महाधिवेशनमा एक लाख ३८ हजार सदस्य रहेको पार्टी थियो । नवौँ राष्ट्रिय महाधिवेशनमा दुई लाख ५० हजार पार्टी सदस्य थिए । राम्रो ढंगले हामीले काम गर्न सक्यौँ भने दशौँ महाधिवेशनमा पुग्दा हामी पाँच लाख सदस्य बनाउन सक्छौँ । तर, गुटबन्दीको ढंगबाट जाने हो भने यो काम हुन सक्दैन । त्यसकारण पार्टीलाई गति दिन गुटबन्दी छोडेर र गुटको हिसाबले काम गर्ने शैली समाप्त पारेर सिंगो पार्टीको हितलाई केन्द्रमा राखेर काम गर्नु आजको आवश्यकता हो । त्यस्तो एकताबद्ध पार्टीको पहलकदमीमा देशका सम्पूर्ण लोकतान्त्रिक, देशभक्त र प्रगतिशील राजनीतिक शक्तिलाई एकताबद्ध बनाउनुपर्छ । हामीले हाम्रो पार्टी एमाले, माओवादी केन्द्र र कांग्रेसबीचको एकता र सद्भावलाई गहिरो बनाउनुपर्छ । त्यो राष्ट्रिय सहमति हाम्रा नीति र व्यवहार दुवैमा प्रतिबिम्बित हुनुपर्छ । त्यस्तो राष्ट्रिय सहमति बनाएर मात्र संविधान लागू गर्न सकिन्छ । अन्यथा, संविधान कागजको खोस्टो सिद्ध हुन सक्छ । राष्ट्रिय सहमति कायम गर्न सकिएन भने संविधान लागू गर्न सकिनेछैन र संविधानका जुन परिकल्पना छन्, ती पनि साकार हुनेछैनन् । (पूर्वप्रधानमन्त्री खनाल एमाले वरिष्ठ नेता हुन्)