लामो समयदेखि बागलुङ नगरपालिकाले खाईपाई आएको खानेपानीमा आईतबार दिउँसो एक्कासी समस्या आयो, कुरा थियो पुरानो कोदो । नगर खानेपानी तथा सरसफाई संस्थाले खानेपानीको मुहान प्रयोग गर्ने बेला प्रभाबित क्षेत्रका बासिन्दासँग गरेका समझदारीको कार्यान्वयन नगरेको भन्दै स्थानियले फुटेको पाईप जोड्न नदिएपछि समस्याको चुरो बाहिर आयो । संस्थाले मुहान प्रयोगमा ल्याउने बेलामा प्रभावित क्षेत्रका सर्वसाधारणसँग बिजुलीका पोल किनीदिने, मोटरबाटो बनाईदिने, पुल बनाईदिने, तटबन्धको काम गरिदिने लगायतका समझदारी गरेको प्रभावित क्षेत्रका उपभोक्ताले बताईरहेका छन् । मोटरबाटो निर्माणका क्रममा पल्टिएको ढुंगाले लागेर फुटेको पाईप जडान गर्ने बेला पुरानो कोदो अर्थात् थाँती रहेका सम्झौता सम्झेर त्यस क्षेत्रका बासिन्दाले अबरोध गर्ने काम गरे । खानेपानी जस्तो संबेदनशिल कुरामा सामान्य समझदारीका कुराको बिषय निकालेर अबरोध सिर्जना गर्नु भनेको गैह्र जिम्मेबार कार्य हो ।
एक रात पानीको पाईप जडानमा अबरोध हुँदा जिल्ला सदरमुकाम रहेको बागलुङ बजारमा पानीको हाहाकार नै मच्चिएको छ । बागलुङ बजारको उपल्लाचौर, श्रीनगरटोल लगायतका क्षेत्रमा खानेपानीको आपुर्ति पुर्ण रुपमा बन्द भएको छ । जसका कारण उक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण महंगो पानी किनेर वा होटल तथा रेष्टुराँमा खाना खाएर छाक टार्न बाध्य भएका छन् । जसको कारण हो पानीको फुटेको पाईप जडानमा अबरोध हुनु । प्रभावित क्षेत्रका सर्वसाधारणले क्षतिपुर्ती नपाउन भन्ने हाम्रो ध्येय होईन तर भए गरेका सम्झौता कार्यान्वयन नगर्ने निस्चित पधाधिकारीका कारणले सम्पुर्ण नगरबासीले सजाय भोग्नु पर्ने अवस्था आउनु भनेको राम्रो कुरा होईन । मानिसको स्वास जस्तै महत्वपुर्ण मानिएको पानीको अबरोध गर्नु रेशबासीको अशोभनिय काम हो । यदि केही सम्झौता र समझदारीका कुराहरु थिएभने कुरा गर्ने र आफ्नो माग राख्ने निकायहरु थिए । सम्बन्धित निकायले बेवास्ता गरेकै भएपनि आन्दोलन गर्ने वा आफ्ना माग पुरा गराउने अन्य उपायहरु समेत थिए । तर त्यसको बिपरित पानीको आपुर्तिनै बन्द गराउनु भनेको कानुनको समेत उपहास गर्नु हो । संस्थाले पानीको मुहान प्रयोगमा ल्याएको लामो समय बितिसकेको छ ।
यति धेरै समयसम्म पनि भएका समझदारीको कार्यान्वयन नगर्नु भनेको संस्थाको कमजोरी हो । प्रभावित क्षेत्रका उपभोक्तालाई देखाईएका आशाहरु पुरा गर्न खानेपानी तथा सरसफाई संस्था जिम्मेबार भएर लाग्नु पदर्छ भने खानेपानीमा अबरोध गरेर गल्ती गरेको अबरोध गर्नेहरुले स्वीकार गर्न जरुरी छ । केही दिन बागलुङ बजारमा भएको खानेपानीको समस्या भन्दा पनि गम्भीर कुरा भनेको पानीको आपुर्तिनै बन्द गरेर आफ्ना माग राख्ने शैली हो । जिल्लाका धेरै स्थानमा एक स्थानिय तहमा अर्को स्थानिय तहको बाटोहुँदै खानेपानीको आपुर्ति भएको छ । आज रेशमा भएको घटनालाई भोली अन्य क्षेत्रले पनि आत्मासाथ गरेभने यो झगडाको बिउ बन्न सक्छ । त्यसैले सरोकारवालाहरुले वार्ता र सम्बादको माध्यामबाट समस्याको समाधान खोज्ने वातावरण मिलाउँ । पीडित र पीडकहरुले आफ्नो अधिकार खोज्दा अर्काको अधिकार कुण्ठित हुने कुरालाई हेक्का राख्दै रचनात्मक संघर्षका कार्यक्रमहरु तय गरौं । यसैमा सबैको कल्याण हुने छ ।