कृष्ण प्रसाद शर्मा
यदि लैङगिक हिंसालाई विश्वको ऐनमा हेर्ने होभने विश्वका कुनै पनि देश मुक्त छैनन् । अझै महिलाले भोट हाल्न नपाउने देशहरूदेखी गाडी चलाउन नपाउने एवं सार्वजनिक स्थलमा भएका खेलकुदसम्म हेर्न नपाउने देश छन् । ईरानमा एक ३१ बर्षिय महिलाले गत महिना त्यहाँको सार्वजनिक ठाउँमा रहेको युटिलिट बक्समा उभिएर बुर्का नलगाउने भनेपछि त्यहाँको प्रशासनले समातेर केही दिनमा छोड्यो । यस्तै घटना हरेक क्षणमा भईरहेका छन् ।
नेपालमा महिला र पुरूषले गर्ने कामहरू सामाजिक रुपमा ग्रेडिङ गरेका छन् । तर पछिल्ला समयमा महिलाले किरिया गरेका, लास बोकेर घाट पुर्याएका र गाउँ–गाउँमा हलो जोतिरहेका र घर छाउँदै गरेको देखिएका छौं । पछिल्ला समय जे देखिरहेका छौं माथी लेखेका कुराहरू कुनै बेला बहस चलाउनु पनि दुष्साहस नै थियो । महिलाले छोडौं बाहुनले हलो जोत्दा फरक पर्दैन भनेबापत घरबार छोडेर हिड्नु परेका सत्य कथा छन् । यि सबै विभेदको जरो समाज हो । समाजशास्त्री हिसावले समाज भनेको सामाजिक सम्बन्धको जालो हो । जालो बनाउने मान्छेहरू नै हुन । भनेपछि यो प्रत्येक व्यक्तिको सोचाई अनुसार हुन्छ जो सामाजिक जालमा फसाउने गरी जाल बुन्छ त्यसका सामाजिक चरित्र समाजमा विम्वित हुन्छन् । महिला हिंसा मात्रै होईन पुरुष पनि हिंसामा छन् तर समग्रमा महिलाको ठुलो प्रतिशत यसको शिकार छन् जुन विश्व तथ्याङले समेत देखाउँछ । एउटै काम गरेबापत महिलालाई पुरुष सरह समान तलब नपाएको भनि आवाज आजपनि बेलायत जस्तो देशमा सुन्न पाईन्छ भने नेपालमा कस्तो छ सोचनीय छ ।
लैङिग हिंसाका फरक–फरक घटनाहरू हरेक जसो सुनिरहेका छौं । बोक्सीको आरोपमा मलमुत्र खुवाउने, दाईजो नल्याएको निहुँमा शरीरमा तेजाव छर्किने घटना पढछौं । पहिला–पहिला यस्ता घटना समाचारका सामाग्री समेत मानिंदैनथ्यो तर पछिल्ला समयमा हरेक व्यक्ति पत्रकार हो भन्ने पब्लिक जर्नालिजमको अवधारणाले पत्रिकामा समाचार नबने पनि संजालमा भने आउन थालेका छन् । लैङगिक हिंसाबारे चारतारे होटेलमा बहस हुन थालेको लगभग बीस बर्ष जति भयो तर यसको जरो कति गहिराईमा पुगेको छ भन्ने स्वयं यस्तै बहसबाटै जीवन गुजारा गरेकालाई समेत थाहा छैन । कर्णालीकी एउटा महिला ४० पुग्दा नपुग्दै यो धर्ति छोडेर जानु पर्ने एउटै देशमा यति फरक परिस्थित देखेर पनि हामी महिला हिंसाका कुरा साँघुरो घेरामा छौं । लैङगिक हिंसा भनेको महिलाले यातना पाउनु मात्रै होईन की सामाजिक रुपमा भएको वन्चितिकरणले गर्दा छोटो उमेरमै मर्नु पनि हो यसको कारक र कारण कुनै बेला छुट्टै चर्चा गरौंला । नेपालमा हरेक दिन कम्तिमा तीन वटा बलत्कारका घटना हुन्छन् भनेर केही दिन अगाडी एउटा समाचारमा आएको थियो । साँच्चै यो डाटा सही होभने कति पिडाको स्थिति छ भने अझ मेरो बुझाईमा त यो भन्दा बढी घटना घट्छन् तर तिनी घटनाहरू कतै घरको झगडा परालको आगो होभने कतै साना–तिना घटनाहरू भनेर साम्यसुम्य पारिन्छ । बलात्कार हुनुमा महिलाको दोष छ जस्तो छोटो कपडा लगाएर हिड्छन् भन्ने प्रश्नकर्ताहरूलाई शीरमा बुर्कादेखी शरिरका कुनै पनि अंग नदेखिएकाहरू पनि बलात्कार भएका घटनाले आँफै जवाफ दिन्छ । चार बर्षकी बालिकादेखी चौरासी बर्षकी वृद्धसम्मको बलात्कार हुन्छ भने यहाँ यौन चाहन मात्र नभई राक्षसीपन देखिन्छ । इच्छा बिपरित यौन गर्न खोजे श्रीमान् श्रीमती बीचमा पनि यो बलात्कार ठहरिन्छ भन्ने सोच विकसित भएको बेला बलात्कारका घटनाहरूको प्रकृति निकै भयानक छन् । आजै मात्र एउटा पत्रिकामा लेखेको थियो की गाउँबाट शहर जान लागेकी एक किशोरीलाई बजार पुर्याईदिन्छु भनेर जंगलमा पुगेर बलात्कार गरेको घटना । पहिला पहिला जंगलमा हिड्दा जंगली जनावरको डर लाग्थ्यो तर आजकाल मान्छेको । एकान्तमा मान्छे हिडेको पाईलाको भरोसामा मन ढुक्क बनाएर हिड्ने त्यो जमानामा आज कसैको हिडाईको आवाज आयो भने असुरक्षित भएको महसुस हुने दिन आएको छ ।
लैङगिक हिंसाको यो नै चरम उत्कर्ष हो जहाँ बलात्कार गरेर बीच बाटोमै फाले पनि प्रहरीले समेत मुद्धा दर्ता गर्न मान्दैन । बलात्कृतको पिडालाई थप नुनचुक छर्किदै प्रमाणिकरणमा पिडितलाई मानसिक रुपमा पिडा दिने एवं शारिरिक रुपमा थप शोषण गरेको पाईन्छ । यो बलात्कारको थप अनुसन्धानमा समेत लैङिक विभेद छ । महिलाले बलात्कृत भएँ भनेर पीडा देखेपछि पनि मिलापत्र गरेर टुङगाईन्छ भने हामी कुन युगमा छौं । मिलापत्र गर्ने कुरा कुनै घाँस दाउराको लेनदनसम्म त होला कसैको ज्यान गएको वा जीवनभर सामाजिक रुपमा हत्या गरेका घटना समेत मिलापत्र गर्न कोशिश गरिन्छ कति ठाउँमा त यो एउटा मद्धा मिलाउन उपाय भनेर बसेका छन् । बलात्कारका घटनाहरू आइरहँदा पब्लिक ईन्टलेक्चुयलहरू कति महत्व दिएका छैनन् । ठुला पत्रिका एवं चिन्तकहरूको चिन्ता बर्षमा एक दुई हप्ता जब महिला हिंसाको सप्ताह आउँछ अनि लेखे झै र बोले झै गर्दछन् । हरेक दिन घट्ने बलात्कारका घटनामा हामीले जब आफ्नै आमा र दिदिबहिनी पिडित भएको महसुस गर्दैनौं तबसम्म हामी चुप लागेर बस्छौं । के कुनै चेलीको बलात्कारको समाचार पढेर ढुक्कसँग सुत्न सक्छौं ? सकेकै छौं । यो सुताई सुतुरमुर्गको सुताई हो जबसम्म टाउको बालुवामा छोपेर सारा शरिर बाहिर भई रहन्छ तब सम्म हिंसाको यो दानवीकरणको श्रृंखला चली रहन्छ हामी सुतिरहन्छौं ।