ओली बालुवाटारबाट बाहिरिँदै गर्दा जनता माझा उनी हाईहाई थिए। भारतीय नाकाबन्दीलाई सोझो जवाफ फर्काउँदै चीनसँग पारवहन सम्झौता गरेका कारण उनले नेपालको राजनीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेखाएका थिए। तर सरकारी निवास छोड्नुअघि बालुवाटारमा नयाँ कीर्तिमान राख्ने उनको रहर जाग्यो, सानो विरुवा रोपेर। उनकै चाहनाअनुसार बालुवाटारमा नर्सरीबाट बिरुवा ल्याइयो।
ओलीले रोपेर पानी हालेको लहलहाउँदो त्यो पीपलको बिरुवा साउने झरीसँगै केही महिना बढ्यो। तर जब वर्षा रोकियो मल र पानीको अभावमा विरुवा त्यसै मुर्झाउन थाल्यो। त्यसपछि बालुवाटारमा पुष्पकमल दाहाल र शेरबहादुर देउवा प्रधानमन्त्री बनेर आए। संविधान कार्यान्वयन, तीन तहको चुनाब आदि इत्यादि जिम्मेवारी तिनका काँधमा थियो। सायद त्यही भएर होला सचिवालयको ठिक अगाडि रहे पनि उनीहरुले पीपलको यो बिरुवालाई वास्ता गरेनन्। जसरी दाहाल कार्यकालमा चीनसँग बीआरई सम्झौता भएपनि देउवा सरकारले उत्तरी छिमेकीसँग भएका सम्झौता कार्यान्वयनमा खासै रुचि दिएन।
बालुवाटार सचिवालय अगाडिको त्यो बिरुवा मलजल र पानीको अभावमा त्यसै मुर्झाइहँदा आइतबार साँझ ओली पुनः प्रधानमन्त्रीको हैसियतमा बालुवाटार छिरे। र बालुवाटार प्रवेश गर्दैगर्दा पहिला सम्झिए, त्यही पीपलको बिरुवा। यसअघि प्रधानमन्त्रीकाे रूपमा बालुवाटार भित्रिँदा धेरैले बाेकाे काट्ने परम्परालाइ निरन्तरता दिएका थिए। अाेलीले त्यसाे गर्न चाहेनन्। उनले बिरूवामा पानी हालेर निवास प्रवेश गर्न चाहे।
बिरुवा मुर्झाइरहेको थियो। सञ्चारकर्मीले सोधे, ‘देउवाले पानी हालेनछन् र ?’ ‘खोई हेर्न आउने कुरा भएन’, प्रधानमन्त्रीले जवाफ दिए। त्यसपछि श्रीमती राधिका शाक्यलाई बोलाए। दुवै जनाले मुर्झाइरहेको त्यो सानो बिरुवामा पानी हाले।
एक वर्ष ६ महिना २५ दिनपछि दोस्रो पटक प्रधानमन्त्री भएर ओली पुनः बालुवाटार प्रवेश गरेका छन्। बालुवाटार प्रवेशसँगै जसरी उनले आफुले रोपेको पीपलको बिरुवा सम्झिए, अब डेढ वर्ष अगाडि बाँडेका आर्थिक सम्वृद्धिका सपना, जो यो बीचमा अधुरै रहे, ती पूरा गर्ने जिम्मेवारी पनि अब उनैको काँधमा छ। चिनियाँ तेलदेखि रेलसम्म, घरघरमा ग्यास पाइपलाइनदेखि पानीजहाजसम्म सञ्चालन गर्ने सपना उनले देखाएका थिए। यी योजनाका थन्किएका फाइल खोज्ने जिम्मेवारी पनि इतिहासले ओलीको काँधमा सुम्पिएको छ। बालुवाटारमै पीपलको बिरुवा रोपेर र अहिले फेरि झण्डै १९ महिनापछि त्यसमा पानी सिन्चन गरेर ओलीले अवश्य नै केही राजनीतिक संकेत दिन खोजेका होलान्। सायद धेरैले यसलाई आफुले उठाएका एजेण्डाबाट पछाडि नफर्किने ओलीको प्रतिवद्धताका रुपमा बुझ्नेछन्।