एमाले नेता थममाया थापा मगर, (५८) एमाले केन्द्रीय राजनीतिमा पुग्ने थाेरै महिलामध्ये एक हुन्। म्याग्दीको दुर्गम गाउँ चिमखोलामा जन्मिएकी उनी पार्टीकाे पोलिटब्युरो सदस्य तथा अखिल नेपाल महिला संघकी महासचिव हुन्। राजनीतिक स्थायित्व र अार्थिक समृद्धिकाे नारासहित वाम गठबन्धनकाे नयाँ सरकार निर्माण हुँदा उनले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकाे जिम्मेवारी पाएका छिन्। बिहीबार सपथ ग्रहण गरेकी मन्त्री थापासँग पत्रकार आकाश क्षेत्रीले गरेकाे संक्षिप्त कुराकानी :
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका लागि प्रधानमन्त्रीले तपाइँलाइ नै किन चयन गर्नुभयो ?
मैले लामो समयदेखि महिलाका हक अधिकारका आवाज उठाउँदै आएकी थिएँ। पार्टीभित्र लामो समय समाजिक तथा महिलाका लागि भनेर काम गरेकी थिएँ र अहिले पनि गरिरहेकै छु। त्यसैले मेरो योग्यता र योगदानलार्इ प्रधानमन्त्रीज्यूले ध्यानमा राख्नुभएको हुनसक्छ। जब देशमा महिला तथा बालबालिकाका लागि केही गर्न सक्ने मान्छेको खोजी भयो त्यसमा स्वभाविक रुपमा म परेँ र उहाँले मलार्इ महिला बालबालिका तथा समाज कल्याण रुपमा चयन गर्नुभयो।
नयाँ संविधानले राज्य संयन्त्रमा महिला सहभागिता बढाउने कल्पना गर्छ, त्यसलाइ हाँसिलन तपाइँले अाफ्ना चुनाैती क्षेत्रहरू के के हुन् भनेर पहिचान गर्नु भएकाे छ ?
संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै महिलो महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको रुपमा म आएकी छु। मेरा चुनौतीहरु अनगिन्ती छन्। त्यस्ता अनगिन्ती चुनौतीलार्इ पार गर्नसक्ने क्षमता पनि मसँग छ। त्यसैले चुनौतीहरुलार्इ पार गर्दै महिला र बालबालिकाको हित हुने काम गर्नेछु।
तपाइँका योजनाहरु कस्ता छन् ?
म महिला बालबालिका र समाजिक क्षेत्रमा पहिलेदेखि नै काम गरिरहेकाले यस क्षेत्रबारे म जानकार छु। त्यसैकारण यस क्षेत्रमा मेरा योजनाहरु पनि धेरै छन्। महिला र बालबालिका क्षेत्रमा नीति नियम तथा विभिन्न किसिमका कानुनहरुको अभाव छ। त्यसैले मेरो मुख्य योजना भनेको महिला र बालबालिकाका लागि आवश्यक कानुन निर्माण गर्ने हुनेछ। साथै सामाजिक रुपमा कल्याणकारी कामहरु गर्ने पनि मेरा योजना छन्। नेपालमा कयौं महिलाहरुले आफूले पाउनु पर्ने हक अधिकार मात्र पाएका छैनन्, उनीहरु घरेलु तथा विभिन्न हिंसाको सिकार पनि हुनपुगेका छन्। त्यस्तै बालबालिकाको हकमा पनि त्यस्तै अवस्था छ। उनीहरुले बाध्यताले पढार्इ छोड्नुपर्ने अवस्था छ। त्यो सबै अवस्था सुधारकाे लागि नीति नियम बनाउने तहबाट म काम गर्नेछु। मेरो कार्यकालमा महिला तथा बालबालिकाले न्याय पाउँछन् भन्ने मैले आशा गरेकी छु।
नेपालमा महिलाहरुमाथि सबै क्षेत्रमा विभेद गरिन्छ, विभेदलार्इ चिर्न तपाइँकाे भूमिका के हुन्छ ?
नेपालमा यस्ता किसिमका विवेदहरु पक्कै छन्। त्यस्ता विभेदहरुलार्इ चिर्नको लागि अघिल्ला सरकारहरुले पनि विभिन्न भूमिका निर्वाह गरेकाे मैले पाएकी छु। महिलाहरुमाथि हुने विभेदको अन्त्य गर्नका लागि महिला आफू सक्षम हुनुपर्छ जस्तो मलार्इ लाग्छ। ग्रमीण क्षेत्रका महिला झन यस्ता कुराहरुबाट पीडित छन्। त्यसैले महिलालार्इ समक्ष बनाउन विभिन्न दीर्घकालिन र अल्पकालीन कार्ययोजना निर्माण गरेर अगाडि बढ्ने मेरो योजना छ।
प्रधानमन्त्री ‘समृद्ध नेपाल सुखी नेपाली‘ भन्ने नारालार्इ सफल बनाउन तपार्इको भूमिका के रहन्छ ?
हाम्रो सरकारको सबैभन्दा मुख्य काम भनेको नेपालको संविधानलार्इ प्रभावकारी ढंगले कार्यन्वयन गर्दै ऐन कानुनहरु बनाउँदै जाने हाे। निर्वाचन हुनुभन्दा पहिले संविधान कार्यन्वयन गर्नको लागि नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाहा गरेको छ। त्यस्तै निर्वाचन पछि यो संविधान एक किसिमले कार्यन्वयनको बाटोमा हिँडेको छ। यसलार्इ मूर्तरुप दिनको लागि एउटा मन्त्रीको हैसियतले मेरो सहयोग र साथ उहाँलार्इ रहन्छ। देश विकास एजेण्डा पनि त्यतिकै महत्वपूर्व छ, नेपालको अर्थतन्त्र कमजोरमा कमजोर बन्दै गइरहेका बेला यो काम एकदमै चुनौतीपूर्ण छ। तर त्यसम म र सबै मन्त्रीहरुले सकेको सहयोग गर्नेछौं। प्रधानमन्त्रीज्यूको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालार्इ पूर्णता दिनको लागि हामी सबैको सहयोग हुनेछ।