बागलुङ बजारसंगै आसपासका बजारमा हिउँदे मौसमसुरु भएसँगै दुग्ध तथा तरकारीको माग बढेको छ । सुख्खा मौसममा उत्पादन कम हुने र माग बढी हुने गरेको छ । पानी कम पर्ने र सिंचाईंको उचित व्यवस्था नहुँदा कृषकहरुले पर्याप्त मात्रामा तरकारी उत्पादन गर्न सक्दैनन् भने हरियो घाँस कम हुने भएकाले यो मौसममा दुधको उत्पादन समेत कम हुने गरेको छ । स्थानिय बजारमा जसरी दुग्ध तथा तरकारीजन्य बस्तुको माग बढी छ त्यो अनुपातमा आपुर्ति कम हुनुमा मौसम मात्रै नभएर उत्पादनशिल जनशक्ति समेत जिम्मेबार छ । आज देशमा रोजगारी नभएको बहानामा बिदेशको श्रम बजारमा दैनिक १ हजार ५ सय युवा पलायन भैरहेका छन् । उता देशको दक्ष जनशक्ति मानिएका युवा काठमाण्डौको बाटोहुँदै बिदेश गईरहेका छन्भने यता काम गर्ने जनशक्तिको अभावमा उत्पादनमा गिरावट आईरहेको छ ।
केहि दिन पहिला सञ्चारमाध्याममा आएको म्याग्दी जिल्लाको एउटा समाचारलाई आधार मान्ने होभने देशमा दुग्धजन्य पदार्थ तथा तरकारीको उत्पादन र बिक्री बितरण गर्ने होभने करोडौं रुपैयाँ आम्दानी गर्न सकिन्छ । तर मेहेनतको अभाव र काम गर्ने इच्छा शक्ति नभएका कारण देशमा आवश्यक र गर्न सकिने उत्पादन समेत गरिएको छैन् । देश चरम बेरोजारीमा छ । रोजगारी नपाएर दिन दुई गुना रात चौगुना युवाहरु पलायन भैरहेका छन् । यता देशकै साना–तिना बजारहरुमा सामान्य कृषि कर्मबाट उत्पादित बस्तु तथा सेवाहरुको माग बढ्दै गैरहेको छ । तर उत्पादन छैन् । हामी पटक–पटक राज्यलाई गाली गरिरहेका छौं । रोजगारी सिर्जना गर भन्दै कयौं आन्दोलन र कयौं संघर्षहरु भए तर स्वयम स्वरोजगार हुन सक्ने बाटोका बिषयमा हामीले कहिलै पनि बिचार गरेनौं । देशका केही युवाहरु गरेका उदाहरणीय कामबाहेक स्वरोजगार बन्नका लागि राज्यले वातावरण नबनाईदिएको मात्रै हैन् हामी आँफैले प्रयास गरेका छैनौ ।
अबको देशको विकास भनेको आर्थिक विकास हो । देशको आर्थिक विकास राज्यले बनाएका ठुला–ठुला आयोजनाहरुले मात्रै हैन् स्थानिय स्तरबाट हामीले गरेको उत्पादनमा भर परेको हुन्छ । उत्पादन बढाउन, दक्ष जनशक्तिलाई स्वदेशमा नै काम गर्ने वातावरण दिलाउनका लागि राज्यले आफ्नो तर्फबाट पहल गर्नुपर्छ । सथानिय बजारको माग, परिवारको साथमा रहेर आफ्नो माटो कोतरेर हुन सक्ने उत्पादनको पहिचान युवा स्वयमले गर्ने र कामको थालनी गर्ने काममा लाग्न जरुरी छ । हामी तत्काल प्रतिफलको पछाडि दौडिरहेका छौं । दिर्घकालिन प्रतिफल आउने कामको बिषयमा हामीले कहिल्यै पनि सोचेका छैनौं । देशको तल्लो तहदेखी माथिल्लो तहसम्म नीतिगत रुपमा युवाहरुलाई सहज रुपमा स्वरोजगारीको बाटोमा लाग्ने वातावरण बनाओस । बिदेशी श्रम बजारको खोजीका लागि ऋणधन गरेर देशका युवाहरुले खर्चने गरेको रकम देशकै माटोमा केही गर्नका लागि खर्च गरौं । दक्ष जनशक्तिको अभावमा भारतिय नागरिकहरुले बर्चस्व जमाएको हाम्रो सानो श्रम बजारमा अब हामी तल्लो तहबाट, सानो लगानीबाट स्वरोजगारका उपायहरुको अबलम्वन गर्न हिच्कीचाउनु हुन्न । समय बलवान छ । यो कुरा बुझौं ।
Previous Articleदुई कम्युनिष्ट पार्टीलाई इतिहास रच्ने अवसर
Next Article २०७४ फागुन ३ गते बिहिबार राशिफल