बुटवल, २ फागुन – पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता पोखरेल चुनाव अघि नै यस प्रदेशको मुख्यमन्त्रीमा एक्ला दाबेदार थिए । उनलाई प्रदेश प्रमुख उमाकान्त झाले बुधबार अपरान्ह मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । संविधानको धारा १६८ को उपधारा १ अनुसार पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले बुधबारै पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।
एमाले र माओवादी केन्द्रले पोखरेलको नेतृत्वमा सरकार गठन गर्न माघ २८ गते आइतबार दाबी प्रस्तुत गरेका थिए । उनी वाम गठबन्धनका साझा उम्मेदवार थिए । उनलाई प्रदेशसभाको चुनाव अगावै नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीको सार्वजनिक घोषणा गरेका थिए । नेता पोखरेल दाङको क्षेत्र नं. २ को प्रदेशसभा १ बाट भारी मतले निर्वाचित भएका हुन् ।
उनलाई मुख्यमन्त्री प्रदेश प्रमुखको कार्यालयमा वाम गठबन्धनका नेताहरुले संयुक्त रुपमा दाबी प्रस्तुत गरेको चार दिनपछि प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । ८७ सदस्यीय प्रदेशसभामा एमाले–माओवादीको प्रष्ट बहुमत छ । एमालेका ४१ र माओवादीका २० गरी ६१ सांसद वाम गठबन्धनकै छन् ।
को हुन पोखरेल
नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेता हुन । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको बैचारिक, राजनीतिका र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययनरत छँदा उनले प्रवासी नेपाली विद्यार्थीहरुको नेताको रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
उनले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको संस्थापक अध्यक्ष लगायतको जिम्मेवारी बहन गरेका थिए । कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेको अनुभव छ । २०१९ फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९, हाडीमा जन्मेका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य हुन् ।
यसअघि उनले एमालेको सचिवको रुपमा भूमिका निर्वाह गरिसकेका छन् । २०३६ सालमा भएको विद्यार्थी आन्दोलन, २०४५÷४६ मा पञ्चायती ब्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नु भएका पोखरेलले २०६२/६३ को जनआन्दोलनमा काठमाण्डौको मोर्चावाट आन्दोलनको नेतृत्व गरेका थिए ।
गणतन्त्रको पक्षमा काठमाण्डौ त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उनी प्रमुख वक्ता थिए । माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए ।
Previous Articleभ्यालेन्टाइन पादरी भन्दा कृष्ण-गोपिनीको प्रेम रसिलो
Next Article नेपालले क्यानडालाई हरायो, जितमा करण केसी नायक