पर्वत, २८ माघ– महाशिला गाउँपालिकाले विद्यार्थी आकर्षित गर्न गाउँपालिकाका सबै सामुदायिक विद्यालयका शिशु कक्षादेखि ३ कक्षासम्म पढ्ने विद्यार्थीलाई दिवा खाजा खुवाउने भएको ।
गाउँ परिषद्मार्फत विद्यार्थीलाई दिवा खाजा खुवाउन बजेटसमेत विनियोजन भएको छ । गाउँपालिकाका २९ सामुदायिक विद्यालयमा शिशु कक्षादेखि ३ सम्म खाजाको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिएका छन् । गाउँपालिकामा छ माध्यामिक र २३ निम्न माध्यामिक तथा प्रावि छन् । “हरेक दिन प्रतिविद्यार्थी रु १० का दरमा खाजा दिने व्यवस्था मिलाएका छौँ”, अध्यक्ष पौडेलले भने “विद्यार्थीको संख्या यकिन भएपछि सबै विद्यालयमा यो लागू भइहाल्छ ।” दिवा खाजाको व्यवस्थापछि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्ने र विद्यालय छाड्ने दर कम हुने विश्वास लिइएको छ । दिवा खाजा कार्यक्रमका लागि चालू आवमा रु. १५ लाख खर्च हुने भएको छ ।
“निजी विद्यालयमा पढ्ने बालबालिकालाई घरबाटै खाजा बनाएर वा पैसा दिएर पठाइए पनि सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय जान नमाने पिटेर वा यातना दिएर पठाइन्छ, यो विभेद अन्त्य गर्नका लागि दिवा खाजाको व्यवस्था गर्न लागेका हौँ”, अध्यक्ष पौडेलले भने ।
Previous Articleफुकेन एमाले-माओवादी एकताको गाँठो
Next Article मृत्यु राहत रकम हस्तान्तरण