शेखर अधिकारी
काठमाडौँ, २६ माघ – सत्ताबाट बहिर्गमन हुने बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाले थप १४ करोड रुपैयाँ आर्थिक सहायता वितरणको तयारी गरेका छन्। सम्भवत: अब बस्ने मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता वितरण कार्यविधिको ठाडो उल्लंघन गर्दै राज्यको ढुकुटीबाट आफु, मन्त्रीहरु र प्रभावशाली नेताका पहुँचवाला आफन्त र कार्यकर्तालाई उक्त रकम बाँड्ने निर्णय गर्ने छन् ।
अब बस्ने मन्त्रिपरिषद्का लागि तयार भएको प्राप्त सूचीअनुसार सरकारले झन्डै १ हजार ६४ जनालाई ५० हजार रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म वितरण गर्ने प्रस्ताव तयार पारेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १ हजार जनालाई आर्थिक सहायता रकम उपलब्ध गराउनका लागि प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ ।
आर्थिक सहायता कार्यविधिले भने आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई उपचार खर्चबापत सोझै अस्पताललाई बिलभर्पाइ अनुसार मात्र रकम दिने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्ले नै बनाएको कार्यविधिको उल्लंघन गर्दै प्रधानमन्त्री र मन्त्रीहरूले यसअघि पनि आफूखुसी कार्यकर्ता र आफन्तलाई मोटो रकम वितरण गर्दै आएका छन् ।
आर्थिक सहायता दिन लागिएको सूचीमा प्रदेश ७ का ३ सय ५८ तथा प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुराका मात्र २ सय १० जना छन् । डडेलधुरामा पनि प्रधानमन्त्री देउवाको घर रहेको गन्यापधुरा गाउँपालिकाका बढी छन् । प्रधानमन्त्रीको सिफारिसमा ७ सय ९५, स्वास्थ्य मन्त्री दीपक बोहराको सिफारिसमा १ सय ७८ र अरू मन्त्रीको सिफारिसमा ९१ जनालाई आर्थिक सहायता वितरण गर्न लागिएको हो ।
सरकारले पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता रामकृष्ण ताम्राकारलाई सबभन्दा बढी २५ लाख रुपैयाँ दिने तयारी गरेको छ । चितवनका कांग्रेसनिकट शिक्षक संघका अध्यक्ष देवेन्द्रप्रसाद उपाध्यायलाई १० लाख दिन लागिएको सूचीमा उल्लेख छ । रकम पाउने सूचीमा चुनावमा पराजित कांग्रेस नेताहरू पनि छन् । झापा–३ बाट पराजित कांग्रेस जिल्ला सभापति उद्धव थापालाई ६ लाख रुपैयाँ दिने तयारी छ । कांग्रेस गुल्मीका पूर्वसभापति चन्द्रबहादुर केसीलाई २ लाख दिने तयारी छ ।
सल्यानका कांग्रेस नेता ध्रुवबहादुर मल्ललाई ४ लाख तथा कांग्रेसका पूर्वसांसद ललिता किङरिङ मगरलाई ३ लाख दिने तयारी छ । आर्थिक सहायताका लागि मन्त्री तथा पूर्वसांसदहरुलेसमेत सिफारिस गरेका छन् । उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापा, उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ, श्रममन्त्री फरमुल्लाह मन्सुर, वाणिज्य मन्त्री मीन विश्वकर्मा, सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत, रक्षामन्त्री भीमसेनदास प्रधान, भूमिसुधार मन्त्री गोपाल दहित, खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव, युवा तथा खेलकुदमन्त्री राजन केसी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वसांसद रामहरि खतिवडा, पूर्वगृहमन्त्री जनार्दन शर्मासमेतको सिफारिसमा आर्थिक सहायता वितरण गर्ने तयारी गरिएको हो ।
स्वास्थ्यमन्त्री दीपक बोहराले भने उपचार खर्चबापत अस्पतालमै दिने गरी १ सय ७८ जनालाई आर्थिक सहायता दिने सूची बनाएका छन् । यसअघि नै देउवा सरकारले मापदण्डविपरीत करोडौं रुपैयाँ आर्थिक सहायता वितरण गरिसकेको छ । कांग्रेस महामन्त्री शशांक कोइराला अध्यक्ष रहेको सुशील कोइराला मेमोरियल फाउन्डेसनलाई ३० लाख, पूर्वराष्ट्रपति रामवरण यादवलाई उपचार खर्चबापत ५० लाख ९८ हजार, पूर्वमन्त्री विश्वेन्द्र पासवानलाई ४३ लाख ४१ हजार, पूर्वसभामुख तारानाथ रानाभाटलाई ७ लाख रुपैयाँसहित पटक–पटक गरी ३४ करोड १९ लाख १० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरिसकेको छ । कान्तिपुर