काठमाडौँ,२३ माघ – निर्वाचन आयोगले ५ फागुनभित्र प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने गरी समानुपातिक निर्वाचनसम्बन्धी निर्देशिका संशोधन गरेको छ । प्रतिनिधिसभा समानुपातिक उम्मेदवारको अन्तिम सूची माग्ने र संशोधनका लागि दिइने समयसीमा आधा घटाएर ५ फागुनभित्रै परिणाम सार्वजनिक गर्ने गरी आयोगले निर्देशिका संशोधन गरेको हो ।
राष्ट्रिय सभा निर्वाचन नभएसम्म प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्न नमिल्ने संवैधानिक व्यवस्था देखाएर आयोगले नियोजित रूपमा ढिलाइ गर्दै आएको वाम गठबन्धनले आरोप लगाउँदै आएको थियो । तर, ढिलाइको आरोप खण्डन हुने गरी आयोगले आधा समय छोट्याएको छ ।
‘संशोधित निर्देशिकाअनुसार प्रतिनिधिसभा समानुपातिक निर्वाचन परिणाम सार्वजनिक गर्ने समयसीमा १० दिनबाट घटाएर पाँच दिनमा झारिएको छ,’ आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘फागुन ५ भित्रै परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने गरी आयोगले तयारीको काम अघि बढाउनेछ ।’ उनका अनुसार आयोगको बैठकले समयसीमा घटाउन समानुपातिक निर्वाचन निर्देशिकाको दफा ३४ र ३५ को प्रावधान संशोधन गरेको छ ।
यस्तो छ आयोगको आन्तरिक कार्यतालिका
२४ माघ : राष्ट्रिय सभा निर्वाचन
२६ माघ : राष्ट्रिय सभाको अन्तिम परिणाम
२९ माघ– प्रतिनिधिसभाको अन्तिम सूची बुझ्ने
२ फागुन– संशोधित सूची बुझाउने अन्तिम समयसीमा
५ फागुन– राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने (नोट: ढिलोमा)
निर्वाचनको सम्पूर्ण परिणाम ५ फागुनसम्म-निर्वाचन आयोग
Previous Articleबागलुङमा कृषी यन्त्र र औजारहरुको ब्यवसाय सुरु
Next Article पेचिलो बन्दै प्रदेश खर्च व्यवस्थापन र स्रोत