राजेशचन्द्र रा.भ -माघ महिनाको जाडो बाँकी भएकै समयमा छिमेकी मुलुक भारतीय बिदेश मन्त्री सुष्मा स्वराजको दुई दिने भ्रमणले एकाएक तताउने काम गरेको छ । ‘बेला न कुबेला बजिनेला’ भन्ने उखान जस्तो भारतिय बिदेशमन्त्री नेपाल सरकारको निमन्त्रणामा नेपाल भ्रमणमा आएको भने हैनन् भन्ने कुरा स्पष्ट भएको छ । न त देशमा नयाँ सरकार बनेको छ न त पुरानो सरकार कै निम्तो छ । केही पनि नभए पनि सरासर नेपाल आउनु अनि शुरू मै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग गोप्य रूपमा भेटघाट गर्नुलाई सामान्य रूपमा लिन मिल्दैन । भारतीय विदेशमन्त्री नेपाल आउने विषयमा एमाले अध्यक्ष ओली यसअघि नै जानकार रहेको ओली निकट नेताहरुले बताइसकेका छन् । माघ ७ गते मोदीले दोस्रोपटक फोन गरेका थिए ।
सोही दिन भएको टेलिफोन संवाद अनुसार मोदीले आफ्नी विश्वासपात्र स्वराजलाई नेपाल भ्रमण पठाएका हुन् । मोदीले फेबु्रअरी पहिलो साता विदेशमन्त्री स्वराजलाई नेपाल पठाउन लागेको जानकारी दिएका थिए । पछि दिल्लीसँग समन्वय गरेर भारतीय राजदूत मञ्जिब सिंह पुरीले भेटवार्ताको तारतम्य मिलाएका हुन् । स्वराजको भ्रमणका लागि ओलीका तर्फबाट एमाले नेता विष्णु रिमालले समन्वय गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारतीय राजदूत मञ्जिब सिंह पुरीले समन्वय गरे । तर सरकारी निकाय यो बारेमा बेखर नै रह्यो । साँच्चै भन्ने होभने दक्षिण छिमेकी भारतको नेपालको राजनीतिदेखि सबै बिषयमा निकै चासो रहने गरेको छ । नेपालमा नयाँ संबिधान बनेदेखि नै छिमेकीले असन्तुष्टि जाहेर मात्रै गरेनन् नेपालमा आर्थिक नाकाबन्दी समेत गरेर तमासा हेर्ने काम गरेको पनि धेरै भएको छैन । नेपालको रा स्ष्ट्रबादी ओली सरकारलाई ढालेर नयाँ सरकार बनाउने सबै खालको रणनीति भारतले खेलेको कुरामा पनि कुनै शंका भने छैन ।
अहिले देशमा नयाँ संबिधान अनुसार स्थानीय तह प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समेत सम्पन्न भैसकेको छ । देशको ७ वटा प्रदेशमा प्रदेश सरकार बनाउने तयारी अन्तिम चरणमा पुगेको समयमा परराष्ट्रमन्त्री सुष्माको भ्रमणलाई सद्भाव भ्रमण भन्दापनि राजनीति भ्रमण भन्नू नै उपयुक्त हुने देखिन्छ । नेपालको दुई दिने भ्रमणमा रहेकी भारतिय विदेशमन्त्री सुष्मा स्वराजले नेपालका शीर्ष नेता प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई नेपालको परराष्ट्र र रक्षा नीति भारतले बनाउन पाउनुपर्ने माग अघि सारेकी छन् । उनले विगतमा भएका आपसी सहयोग र समझदारीका आधारमा भारतले नेपालको परराष्ट्र र रक्षा नीति बनाउन पाउनुपर्ने माग दाबी गर्नुलाई अझैपनि हाम्रो देश अर्धसामन्ती र अर्धऔपनिबेसिक नै छ भन्ने कुरा भारतीय परराष्ट्रमन्त्री स्वराजको भ्रमणलाई लिन सकिन्छ । अहिले बामपन्थी गठबन्धनको बहुमतको सरकार बन्ने मात्रै हैन एमाले र माओबादी पार्टी एकताहुँदै गरेको समयमा भएको भ्रमणलाई सबैले अर्थ पुर्ण रूपमा हेरिरहेका छन् । एकातिर भारत सरकारले नयाँ बजेट ल्याउन लागिरहेको छभने अहिले आफुले गर्दै आएको आर्थिक सहयोग समेत बजेटमार्फत बढाएर दिने प्रस्ताव समेत भारतले नेपाललाई गरेर हिजोका दिनमा बिग्रिएको सम्बन्धलाई सुधार गर्ने प्रयास पनि संगसंगै गरिरहेको देखिन्छ । अहिले भएको परराष्ट्रमन्त्री स्वराजको भ्रमणलाई सकारात्मक दृष्टिकोणले हेर्ने होभने हिजो केपी ओलीको समयमा बिग्रिएको सम्बन्ध सुधार गर्ने हो भन्ने देखिन्छ ।
अर्को तर्फबाट यसलाई छिमेकीको नाङ्गो हस्तक्षेपको रूपमा पनि लिन सकिन्छ । अब केही समयमै बन्ने बामपन्थी गठबन्धनका नेता समेत रहेका केपी शर्मा ओली अब नेपालको प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो बिशेष दुतको रूपमा स्वराजलाई पठाएर पहिलो भेटघाट एमाले अध्यक्ष ओलीसंग गर्नुलाई पनि चानचुने कुरा मान्नु हुदैन । जे–होस् सके धम्काएर नसके फकाएर जसरी पनि आफ्नो अनुकूल चलाउने प्रयास गर्ने भारतको पुरानो नीति नै हो भन्ने कुरा पनि घाम झै छर्लङ्ग छ । अहिले भारतका अर्थमन्त्री अरूण जेड्डीले अहिले सार्वजनिक गरेको बजेट भाषणमार्फत नेपाललाई १० अर्ब ४० करोड रूपैयाँ अनुदान सहयोग गर्ने भएको छ । जुन सहयोग गत बर्षको तुलनामा ७५ प्रतिशत बढी हो । भारत सरकारले गत बर्ष ३ अर्ब ५० करोड अनुदान सहयोग गरेको थियो । यसबाट पनि के कुरा बुझ्न सकिन्छ भने अहिले अर्को छिमेकी मुलुक चीन नेपालसंग नजिक हुन खोजेको भन्दै आर्थिक सहयोग बढाएको देखिन्छ । हुन त जमाना अनुसार सहयोग बढाउनुलाई नकारात्मक भन्न मिल्दैन तर सहयोग नियतबस आउनु हुदैन । छिमेकीको भुमिका छिमेकी कै हुनुपर्छ । सद्भाव हुनु सकारात्मक हो । तर हस्तक्षेप हुनु हुदैन भन्ने हामी नेपालीको अबधारणा हो । अहिले पनि स्वराजको भ्रमणलाई बर्तमान सरकार शेर बहादुर देउवाले नकारात्मक रूपमा लिएको देखिन्छ ।
कुनैपनि देशको सरकारको तर्फबाट अर्को देशको भ्रमण गर्नलाई त्यो देशको सरकारले स्वीकृति दिनुपर्छ । तरपनि भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजको भ्रमण कुटनीतिक मर्यादा बिपरित भएको भनेर टिका टिप्पणी भइरहेको छ । परराष्ट्रमन्त्री स्वराजले २ दिनको बीचमा जुन राजनीतिक भेटघाट गरिन्, नेपालको राजनीतिमा जुन नयाँ तरङ्ग ल्याउने काम गरेका छन्, यसलाई सकारात्मक मान्नुपर्छ । निर्वाचन आयोगले नयाँ सरकार गठन फागुनको पहिलो साता गर्नको लागि जुन कुरा सार्वजनिक गरेको छ यसलाई पनि परराष्ट्रमन्त्री स्वराज आएपछिको राजनीति उपलब्धि हो भनेर समेत बिश्लेशन हुनु त्यति राम्रो कुरा भने हैन । तर जे होस बल्ल मुलुकमा नयाँ सरकार गठन हुने बाटो भने खुलेको छ । नेपालले पनि आफ्नो दुबै छिमेकीसंग समान सम्बन्ध कायम गर्नुपर्छ । हिजो बिग्रिएको भत्किएको सम्बन्धलाई सुधार गर्नुपर्छ । हिजो जुन राष्ट्रबादी छवी कायम राख्न सफल भएका केपी शर्मा ओलिले भोलिका दिनमा प्रधानमन्त्री भएपछि त्यसलाई कायमै राख्न सक्नुपर्छ भन्ने नेपाली जनताको पनि चाहना छ । हिजो बिदेशी प्रभुलाई भेट्न हामी भारत मै पुग्नुपर्ने बाध्यता थियो तर अहिले हाम्रो नेताको आग्रहमा बिदेशी प्रभु नै नेपालमा दर्शन दिन आउनुलाई पनि अर्को परिवर्तन हो भन्ने राजनीतिक बिश्लेषण पनि अहिले भइरहेको छ ।
Previous Articleसामुदायिकलाई ध्यान दिनेकी
Next Article २०७४ माघ २२ गते सोमबारको राशिफल