वाशुदेव मिश्र
पोखरा, २० माघ – माघ २२ (सोमबार) का लागि डाकिएको प्रदेश–४ को प्रदेश सभाको बैठकका लागि आईतवार रिहर्सल हुने भएको छ। रिहर्सलमा बैठकको अध्यक्षता कसरी गर्ने, मर्यादा पालकहरुले कसरी प्रदेश सभाका सदस्यहरुलाई संबोधन गर्ने, प्रदेश सभाका सदस्यहरु आआफ्नो स्थानमा कसरी बस्ने लगायतका पूर्व अभ्यास गरिँदैछ।
पोखराको नदीपृरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा तय गरिएको प्रदेश सभा बैठक कक्षमा प्रदेश सभाको बैठक पूर्व यस्तो रिहर्सल आयोजना गरिएको हो। प्रदेश सभाको पहिलो बैठक कसरी सञ्चालन गर्ने भन्ने बारेमा दलहरुले शनिबार तयारी बैठक गरेका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिको छलफलले सोमबार हुने प्रदेशसभा बैठकको समय र दलको उपस्थितिबारे निर्णय गरेको छ ।
आजको सर्बदलीय बैठकले तय गरे अनुसार प्रदेश–४ को सोमबार हुने पहिलो औपचाकि बैठक सवा घण्टा चल्नेछ। बैठकले प्रदेशसभा सञ्चालन कार्यविधि– २०७४ पारित गर्ने निर्णय समेत गरेको प्रदेशसभाका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए। उनका अनुसार बैठकमा ३ ठूला दलका ३-३ जना र साना २ दलबाट १-१ जना गरी ११ जनाले बोल्नेछन्।
सभा सञ्चालनका लागि सबै दलको उपस्थितिमा कार्य व्यवस्थापन समिति गठन गर्ने र सोही समितिले सभाको अध्यक्षताबारे टुंगो लगाउने निर्णय भएको छ। आजको सर्वदलीय बैठकमा प्रदेशसभाका जेष्ठ सदस्य सहित ९ जना सांसद उपस्थित थिए। बैठकमा एमालेबाट पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ थिए भने नेपाली कांग्रेसबाट कृष्णचन्द्र नेपाली र विन्दुकुमार थापा उपस्थित थिए। माओवादी केन्द्रबाट हरिबहादुर चुमान र नेत्रनाथ अधिकारी, जनमोर्चा नेपालबाट कृष्ण थापा र नयाँ शक्ति पार्टी नेपालबाट हरिशरण आचार्य सहभागी थिए।
प्रदेश नं.४ को पहिलो बैठकका लागि आइतबार रिहर्सल गरिँदै
Previous Articleमहिलाहरुको क्षमता अभिवृद्वि गर्न तालिम-नगर प्रमुख गैरे
Next Article केन्द्रले तोक्यो प्रदेशका जिम्मेवारी