बागलुङ, १८ माघ– माग अनुसारको आपुर्ती नभए पछि रासायनिक मलको विक्रि वितरण गर्दै आएको साल्ट ट्रेडिङ्ग कर्पोरेशनले वैकल्पीक मलको वितरण गर्न शुरु गरेको छ । नेपाली बजारमा रहेका रासायनिक मलहरु युरिया र डिएपि नेपाल सरकारको अनुदानमा प्राप्त हुने गरेकोमा माग अनुसार आपुर्ती नभए पछि कर्पोरेशनले नयाँ मल वितरण शुरु गरेको हो । नेपाल सरकारसँग अनुमति लिएर युरिया मलको विकल्पमा एमोनियम सल्फेट र डिएपिको बिकल्पमा सिंगल सुपर फस्फेट नामका मलहरुको वितरण शुरु गरिएको कर्पोरेशन बागलुङ शाखाका प्रमुख मनोजकुमार श्रेष्ठले बताए । नेपालमा कृषकहरुले प्रयोग गर्ने युरिया मलको माग तिन सय मेट्रिक टन छ भने डिएपिको समेत माग बराराबर अवस्थामा रहेको छ ।
‘नेपाल सरकारले १ सय ५० मेट्रिकटन रासायनिक मलको लागी मात्रै अनुदानको व्यवस्था गरेको छ’ श्रेष्ठले भने ‘माग दोब्बर भएकाले वैकल्पीक मलको वितरण शुरु गरीएको हो ।’ सरकारको अनुदान भन्दा बाहिरबाट रासायनिक मलको खरिद गर्दा निकै महंगो पर्ने भएकाले कृषकले त्यो आर्थिक भार बहन गर्न नसक्ने श्रेष्ठले बताए । ‘युरिया र डिएपि अनुदान बाहिरबाट लिँदा निकै महंगो पर्छ’ उनले भने ‘कृषि प्राविधिकहरुको सल्लाह अनुसार प्रचलनमा रहेका मल भन्दा थप फाईदाजनक मलको व्यवस्थापन गर्न थालनी गरेका छौं ।’ कृषि सामाग्री केन्द्रका विभिन्न शाखाहरु मार्फत ७० प्रतिशत र साल्ट ट्रेडिङ्ग मार्फत ३० प्रतिशत अनुदानको रासायनिक मल वितरण हुँदै आएको छ ।
दुबै तर्फबाट बितरण हुने मलको माग मध्य ५० प्रतिशत मात्रै मल उपलव्ध हुने गरेको कर्पोरेशनले जनाएको छ । जिल्ला कृषि विकास कर्यालयको सिफारिसमा विभिन्न सहकारी मार्फत बागलुङ, पर्वत र म्याग्दीका कृषकहरुको लागि कर्पोरेशनले रासायनिक मलको वितरण गर्दै आएको । ५० किलोको युरिया प्रतिवोरा ८ सय ३७ रुपैयाँमा विक्रि गर्दै आएको कर्पोरेशनले विकल्पमा ल्याएको एमोनियम सल्फेटको ५० किलोको बोरालाई १ हजार ४ सय ६१ रुपैयाँमा उपलव्ध गराउन सकिने जनाएको छ । त्यस्तै ५० किलोको डिएपि प्रतिवोरा २ हजार २ सय ८६ रुपैयाँमा विक्रि गर्दै आएको कर्पोरेशनले विकल्पमा ल्याएको सिंगल सुपर फस्फेटको ५० किलोको बोरालाई १ हजार ९६ रुपैयाँमा उपलव्ध गराउन सकिने जनाएको छ । नेपाल सरकारको अनुदान बिनानै उपलव्ध गराईएका वैकल्पीक मलहरुको मुल्य युरिया र डिएपि भन्दा कृषकको लागी लाभ दायक रहेको श्रेष्ठले दावी गरे ।
नयाँ मलको वितरण शुरु गरेको कर्पोरेशनले कृषि प्राविधिकहरुको सहयोगमा कृषकहरुलाई अभिमुखीकरण समेत गर्न थालेको छ । कर्पोरेशनले पहिलो चरणमा बागलुङ नगरपालिकामा रहेको मिर्मिरे कृषि सहकारीका कृषकहरुलाई अभिमुखीकरण गरेको जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लब अधिकारीले नयाँ रासायनिक मल र यसको फाईदा बेफाईदाको बारेमा कृषकहरुलाई जानकारी गराएका थिए । युरियामा नाईट्रजनको मात्र बढि हुने र नयाँ आएको मलमा नाइट्रोजनका अलावा सल्फर समेत हुने भएकाले कृषकहरुका लागी नयाँ मल उपयुक्त रहेको अधिकारी बताए । त्यस्तै डिएपिको विकल्पमा आएको सिंगल सुपर फस्फेटमा समेत क्याल्सीएम र सल्फर पनि हुने भएकाले कृषकहरुका लागि यो मल उपयुक्त रहेको उनको भनाई थियो । नेपाल सरकारले परिक्षण पश्चात कृषकहरुका लागि प्रयोग योग्य भनेर सिफारीस गरेकाले विकल्पमा आएका मलहरुको निर्वाद प्रयोग गर्न कृषकहरुलाई आग्रह गरे । कर्पोरेशनले कृषकको सहजताका लागी नयाँ मलको व्यवस्था गरेको भन्दै छिट्टै तिन जिल्लाका सहकारीमा आबद्ध कृषकहरुलाई नयाँ मलको बिषयमा अभिमुखीकरण गर्ने जनाएको छ । हाल कर्पोरेशन बागलुङ शाखाले पर्वत, म्याग्दी र बागलुङका ६० बढि सहकारीद्धारा कृषकहरुलाई अनुदानको मल प्रदान गर्दैछ ।