काठमाडौँ, १८ माघ-परराष्ट्र मन्त्रालयले भारतीय विदेशमन्त्री सुष्मा स्वराज करिब २५ घण्टे ‘राजनीतिक’ यात्रामा बिहीबार (आज) काठमाडौं ओर्लने औपचारिक रूपमा सार्वजनिक गरेको छ । भारतीय विदेश मन्त्रालयले भ्रमण घोषणा गरेको दुई दिनपछि परराष्ट्रले त्यस्तो जानकारी गराएको हो ।
परराष्ट्रमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भने मन्त्रालयले बिहीबार (सुष्मा आइपुग्नु केही घण्टाअघि मात्र) भ्रमणको औपचारिक जानकारी गराउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालय बुधबार मात्रै दुईपक्षीय एजेन्डा र खाका तयार गर्नमा जुटेको छ । परराष्ट्रमन्त्रीको कार्यभार आफैंले सम्हालेकाले सुष्मासँग दुईपक्षीय वार्ता पनि प्रधानमन्त्री देउवाले नै गर्दैछन् ।
अहिलेसम्म अघि बढेका परियोजना, सीमाको विवाद र समाधान, डुबान समस्या, सडक सञ्जाल, रेलमार्ग, सीमा अपराध नियन्त्रण, प्रबुद्ध व्यक्ति समूहको लगातार बैठक र प्रगतिलगायत समय–समयमा उठ्ने दुईपक्षीय मामिलाका विषयमा परराष्ट्रले प्रधानमन्त्री देउवालाई जानकारी गराउने तयारी गरेको छ । त्यही आधारमा देउवाले स्वराज नेतृत्वको समूहसँग छलफल गर्नेछन् ।
कान्तिपुर दैनिक लेख्छ-राजनीतिक भेटघाट हुने भएकाले स्वराजको भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ । सामान्यतया यो स्तरको भ्रमण औपचारिक वा कुनै कार्यक्रममा सहभागी हुन आउने प्रचलन हुन्छ । तर अहिले उनी आफैं आउने भन्दै परराष्ट्र मन्त्रालयसँग समन्वयबिना हुन लागेको बताइएको छ ।
यो भ्रमणलाई नरेन्द्र मोदीको आगामी नेपाल भ्रमणसँग पनि जोडेर हेरिएको अधिकारीहरूले बताए । यो भ्रमणले केपी ओलीलाई दिल्ली होइन मोदीलाई काठमाडौंको यात्रा तय गर्ने सम्भावना रहेको एक अधिकारीले बताए । ओलीले मोदीसँगको टेलिफोन वार्तामा नै जनकपुर र मुक्तिनाथको भ्रमणका लागि निम्ता दिइसकेका थिए ।
‘स्वराजको भ्रमणले ओलीको होइन, मोदीको यात्रा तय’
Previous Articleसांसद थापासँग १ कराेड माग्ने चार जना पक्राउ
Next Article ओली-स्वराज भेट ‘वन टु वन’ नहुने