अशिक्षाले नेपालमा बाल विवाह गर्ने प्रचलन अझैपनि कायम रहेको छ । विशेषगरी देशका अति दुर्गम क्षेत्रमा बालविवाह गर्ने प्रचलन कायम रहेको छ । तराईका अति दुर्गम र पहाडका अति विकट ठाउँमा बालविवाह हुने गरेको सरकारी तथ्यांकले देखाउँछ । देशका विकट क्षेत्रमा शिक्षाको ज्योति फैलाउन नसक्नुले बालविवाह हुने गरेको पाईएको छ । बालविवाह हुने असरका बारेमा जबसम्म दुर्गमका बस्तीमा सचेतना फैलाउन सकिदैन तबसम्म यसले निरन्तरता पाउने निश्चित छ । बागलुङ जिल्लाको सुदुरपश्चिमवर्ती बोबाङ गाविसको दलितमा अति नै बालविवाह हुने गरेको छभने तमानखोला गाउँपालिकाका विकट क्षेत्रमा पनि बालविवाह हुने गरेको छ । बाल विवाहबारे सञ्चारमाध्यममा समचारहरु छ्यापछ्प्ती आएपनि सम्बन्धित निकायले भने कुनै चासो दिएको छैन । बालविवाहकै कारण प्रजनन हुन नसक्दा कतिपयको ज्यान गएको छभने सानैमा गरेको विवाह पछि सम्बन्ध विच्छेदमा परिणत हुने गरेका छन् ।
मातृ शिशु मृत्युदरको कारक मानिने बालविवाहको अवस्था नेपालमा अझै नाजुक रहेको पाइएको छ । बालविवाहबिरुद्ध चेतनास्तरमा बृद्धि भएपनि नेपालमा बालविवाहको अवस्था अझै नाजुक रहेको छ । नेपालमा ४१ प्रतिशत केटीको बालविवाहहुँदै गर्दा ११ प्रतिशत केटाको बालबिवाह हुने गरेको सरकारी तथ्यांकमा उल्लेख छ । वालविवाह गराइदिने, वालविवाहका लागि दवाव दिनेलाई कानुनले तीन वर्ष कैद र जरिवाना तोकेपनि यस सम्बन्धि उजुरी कम पर्ने गरेको छ । बालविवाह बारेको कानुनलाई कार्यान्वयन गराउन सकेपनि नियन्त्रण गर्न सकिन्छ । तर यसको कार्यान्वयन पक्षमा सरकारी निकाय नै उदासिन देखिन्छ । नेपालले २०१५ मा वेलायतमा भएको अन्तराष्ट्रिय सम्मेलनमा सन् २०२० भित्र वालविवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । तर, लक्ष्य प्राप्तीका लागि सरकारले प्रभावकारी काम भने गरेको छैन । सरकारी काम गराईलाई हेर्नेभने लक्ष्य भेटाउन सकिने छाँट देखिदैन । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अहिले पनि नेपालमा वाषिर्क १३ हजार बालविवाह हुँदै आएको छ । जसमध्ये बढी महिलाको हुने गरेको छ ।
बालबालिकामाथि हुने दुव्र्यवहार, बाल विवाह र विद्यालय बिमुख भएका बालबालिकालाई शिक्षा, स्वास्थ्य र अधिकारको मुल धारमा ल्याउनका लागि बागलुङमा हालैदेखि पहल थालिएको समाचार आएको छ । जुन निकै नै स्वागतयोग्य छ । जिल्ला बाल कल्याण समिति र बालबालिकाको क्षेत्रमा काम गरेका सरोकारवाला संस्था तथा व्यक्तिहरुको बैठकले पहिलो चरणमा बागलुङ नगरपालिका, बरेङ गउँपालिका र निसीखोलामा तथ्यांक संकलन र श्रोत नक्सांकन गरिने जनाईएको छ । तथ्यांक आएपछि बालबलिकाको वास्तविक अवस्था थाहा हुनेछ । जिल्लाको भौगोलिक अवस्था, गरिवी, शिक्षाको कमी लगायतको समस्याले बाल विवाह हुने अवस्था छ । पारिवारिक समस्या, आफै विवाह गर्नुले बालविवाहलाई बढावा दिइरहेको देखाएको छ । बालविवाहका कारण पारिवारीक समस्या उत्पन्न हुने, विद्ययालय छाड्नुपर्ने, स्वास्थ्यमा समस्या तथा लैंगिक हिंशासमेत बढ्ने गरेको छ । यसलाई रोक्नको लागि सरोकारवाला निकायले प्रभावकारी कदम चाल्नु पर्छ ।
Previous Articleप्रधानन्याधीश र महाअभियोगका कुरा
Next Article जातिय संगठन भंग गर्न माग