राष्ट्रियसभामा एमालेलाई एक सिट घाटा
पोखरा, १३ माघ – निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी रद्द गरेको छ । प्रदेश नं. ४ बाट अपाङता कोटामा उम्मेदवारी दिएका थापाको अपाङ्गता परिचयपत्रको नवीकरण नगरेको पाइएपछि उम्मेदवारी रद्द गरिएको निर्वाचन आयोगले जनाएको छ ।वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका थापाले उम्मेदवारी दर्तापछि मात्रै परिचयपत्र नविकरण गरेका थिए । अपाङता कोटाबाटै थापाका प्रतिस्पर्धी बनेका कांग्रेस उम्मेदवार तनहुँका प्रकाश पन्तले थापाविरुद्ध मूख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उजुरी दिएका थिए ।
उजुरीमाथि मुख्य निर्वाचन कार्यालय कास्कीले छानबिन गरेर निर्वाचन आयोगलाई उम्मेद्वारी रद्द गर्न भनेपछि आयोगले थापाको उम्मेद्वारी रद्द गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। थापाको उम्मेदवारी रद्द भएपछि पन्त राष्ट्रियसभामा निर्विरोध निर्वाचित हुने भएका छन ।
अब प्रदेश नम्बर ४ बाट राष्ट्रियसभाका उम्मेदवार ११ जना मात्र भएका छन् । प्रदेश नम्बर ४ मा वाम गठबन्धनको बहुमत भएकाले थापाले जित्ने निश्चित जस्तै थियो । थापाको उम्मेदवारी खारेज भएपछि एमालेलाई एक सिट घाटा लागेको छ ।
पन्तसँगै राष्ट्रियसभाका लागि १८ जना निर्विरोध निर्वाचित भएका छन् । यसअघि मनोनयन दर्ताकै दिन १७ जना निर्विरोध भएका थिए । तर निर्वाचन आयोगले १५ गते अन्तिम नामावली सार्वजनिक गरेपछि मात्र निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ ।