काठमाडौं,१३ माघ – मुलुकका लागि जीवन उत्सर्ग गरेका व्यक्तिहरूलाई अवमूल्यन गर्दै सरकारले आफूखुसी सहिद घोषणा गर्न थालेको छ । कामचलाउ सरकारले कुर्सी छाड्नुअघि मन्त्रीको गोजीबाट नाम निकाल्दै सहिद घोषणा गर्न अग्रसर रह्यो । गृह मन्त्रालयका सहायक प्रवक्ता उमेश ढकालले मापदण्ड नै नभएकाले सहिद घोषणा प्रक्रिया वैज्ञानिक र वस्तुनिष्ठ हुन नसकेको स्वीकार गरे । शेरबहादुर देउवा नेतृत्वको सरकारले आठ महिनाको अवधिमा २ सय ६६ जनालाई सहिद घोषणा गरिसकेको छ । तीमध्ये १ सय ९० जनालाई गत पुस ३ मा एकैदिन सहिद घोषणा गरिएको हो ।
पछिल्लोपटक बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५६ जनालाई सहिद घोषणा गरेको छ । साउन १२ मा आठ जनालाई र साउन ५ मा १२ जनालाई सहिद घोषणा गरिएको थियो । पुस ३ को निर्णय भने सरकारले गोप्य राखेको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार उक्त दिन तीन दर्जन व्यक्तिलाई मात्रै सहिद घोषणा गर्ने प्रस्ताव गृहबाट आएकोमा मन्त्रीका गोजीबाट नाम थपेर १ सय ९० जना पुर्याइएको थियो।
प्रधानमन्त्री कार्यालयले १ सय ९० जनालाई सहिद घोषणा गरिएको चिठी झन्डै एक महिनापछि गृहमा पठाएको थियो । राणाशाहीविरुद्ध लड्ने हुँदा फाँसीमा चढाइएका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको सम्झना अहिले पनि गरिन्छ । पहिलो र दोस्रो जनआन्दोलनमा मारिनेप्रति पनि स्मरण र सम्मान उत्तिकै रूपमा गर्ने गरिन्छ ।
पञ्चायतकालमा भएका छिन्ताङ, पिस्कर, सुर्खेतको दशरथपुर घुम्नेकाण्ड लगायत स्थानमा भएका हत्याकाण्डमा मारिएकालाई पनि सहिदकै रूपमा मानिँदै आएको छ । यद्यपि ती घटनामा मारिएकामध्ये केही सहिद घोषणा भइसकेका छन् । पञ्चायती व्यवस्थाविरुद्ध लड्दा सहादत प्राप्त गर्ने धनकुटा छिन्ताङका नागरिकलाई सरकारले झन्डै चार दशकपछि सहिद घोषणा गरेको थियो । २०३१ सालमा सोलुखुम्बुको टिमुरबोटेमा मारिएका ४७ जनामध्ये केहीलाई सहिद घोषणा गरिएको हो। अन्नपूर्णपाेस्ट