बागलुङ, १३ माघ– स्वास्थ्यका लागि खेलकुँद, राष्ट्रका लागि खेलकुँद भन्ने नारा सहित बिहुँकोट खेलकुँद तथा समाज विकास केन्द्र र बिहुँकोट सितेरियो कराँते डोजोको संयुक्त आयोजनामा प्रदेश नम्बर ४ स्तरीय कराँते च्याम्पियनशिप हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर फागुन १ देखि ३ गते सम्म प्रतियोगिता हुने भएको हो । दुवै संस्थाले शुक्रवार संयुक्त पत्रकार सम्मेलन गरेर प्रतियोगिताका विभिन्न जानकारी गराएका हुन् । ‘शहर केन्द्रीत भएका विभिन्न क्रियाकलाप अन्त्य गर्ने, बैदेशिक रोजगारीका कारण रित्तिन लागेका गाउँमा युवाहरुलाई फर्काउने उद्धेश्यले बिहुँकोटमा लगेर प्रतियोगिता आयोजना गरिएको हो’ केन्द्रका अध्यक्ष कृष्णप्रसाद कंडेलले भने, ‘राष्ट्रिय तथा क्षेत्रीय खेलकुँद प्रतियोगिताका लागि पनि उत्कृष्ठ गन्तव्य बन्नेछ ।’
उक्त खेलमा १५ वटा सम्म टिमले सहभागिता जनाउने बताइएको छ । प्रदेश नम्बर ४ का सबै जिल्ला देखि बागलुङ, बुर्तिवाङ र आयोजकको टिम पनि हुनेछ । उक्त अवसरमा सबैका लागि जिम्न्यास्टिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकद्वारा विभिन्न क्रियाकलाप पनि प्रस्तुत गर्नेछन् । युवाहरुमा बढ्दो दुव्र्यशनी हटाउनका लागि पनि यो प्रतिष्पर्धा उपयोगी बन्दै जाने आयोजकले विश्वास गरेका छन् । आयोजकले कम्तिमा २ सय ८० खेलाडी, १८ प्रशिक्षक र निर्णायक समेतलाई बिहुँमा जम्मा पार्ने बताएको छ ।
आयोजकका अनुसार खेलमा महिला र पुरुष तर्फका ८÷८ वटा स्पर्धा हुनेछन् । एकल र सामुहिक काँताका ४ स्पर्दा समेत हुने बताइएको छ । जसका लागि २३ स्वर्ण, २३ रजत र ४६ कास्य पदक गरी ९२ पदकका लागि खेल हुने भएको हो । आयोजकले सबै खेलाडी र पाहुनालाई खानेबस्ने व्वबस्थापन गरेको छ । खेल अवधिभर ५ ला ३१ हजार २ सय ८० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसका लागि आयोजकले चन्दा तथा सामाजिक अगुवाले दिने सहयोगकै आधारमा जुटाउने योजना बनाएको कंडेलले बताए । साथै आयोजकले खेल कार्यक्रमबाट बचाएर नेपाल पत्रकार महासंघको घर निर्माण अभियानलाई ५ हजार रुपैयाँ सहयोग गर्ने समेत कंडेलले घोषणा गरे ।
Previous Article१३ माघ २०७४, ढोरपाटन दैनिक
Next Article टेलिकमले उठायो बाईस लाख बक्यौता