तारानाथ आचार्य
बागलुङ, १० माघ– जिल्लामा भुकम्पका बेला भत्केका घरहरुको पुर्ननिर्माण गर्न सरकारले उपलव्ध गराएको अनुदान रकम पाउनेमध्ये अधिकांश सम्पर्कमा नै आएका छैनन् । पुर्ण रुपमा क्षति भएका २ हजार ३ सय ७५ घरमध्ये ४ सय ९९ जना पहिलो किस्ताको अनुदान रकम लिन सम्पर्कमा नआएको जिल्ला समन्वय समितीले जनाएको छ । पुर्ण क्षति भएकाहरुको लगत संकलनको क्रममा रातो किताब पाएर अनुदान पाउनेको लिस्टमा समबेश भएकापनि पहिलो किस्ताको रकम लिन सम्पर्कमा नआएको जिल्ला समन्वय समितीका स्रोतव्यक्ति अखिलनाथ शर्माले बताए ।
२०७२ सात बैसाख १२ गतेको बिनासकारी भुकम्पका बेला जिल्लामा पुर्ण रुपमा क्षति भएका घर पुर्ननिर्माणको लागि पहिलो किस्ताको रकम बितरणको काम भैरहेको छ तर घर भत्केको लगतमा परेका सयौं नागरिक अनुदान रकम लिनको लागि सम्पर्कमा नै नआएको शर्माले बताए । ‘पुर्ण क्षति भएकाहरुको लिस्टमा परेकाहरुलाई अनुदान उपलव्ध गराउन कुनै समस्या छैन्’ शर्माले भने ‘प्रक्रिया पु¥याएर आएका सबैलाई रकम उपलव्ध गराएका छौं ।’ गाउँपालिका तथा नगरपालिकाका वडा कार्यालयमार्फत सम्झौता भएको भएपनि झण्डै ५ सय जना सम्पर्कमा नआएकाले रकम बितरण गर्न नसकिएको शर्माले बताए । जिल्लाको पश्चिमका साविकका केही गाविसबाट पीडितहरु सम्पर्कमा नआएको समन्वय समितीले जनाएको छ । साविकका गाविस पाण्डवखानी, बोङ्गादोभान, निसी ताराखोला, अमरभुमीबाट सम्झौता भएका पीडितहरु समेत सम्पर्कमा नआएको शर्माले बताए ।
जिल्ला समन्वय समितीले सम्पर्कमा आउन आग्रह गरेपछि केही सम्पर्कमा आएको र खातामा रकम पठाउने प्रक्रिया सुरु भएको उनको भनाई थियो । ‘केही पीडितहरु बिदेशमा हुनुहुन्छ केही मृत्यु भैसकेको छ’ शर्माले भने ‘बिदेशमा भएकाको मञ्जुरी चाहिने र मृत्यु भएकाको प्रक्रिया पु¥याउनु पर्ने भएकाले पनि समस्या भएको हुन सक्छ ।’ हालसम्म जिल्लाभर गत आर्थिक बर्षमा १ हजार १ सय ९ जना र यस आर्थिक बर्षमा ५ सय ६३ जनाले पहिलो किस्ताको रकम लिईसकेको शर्माले जानकारी दिए । पुर्ण क्षति भएकामध्ये १ सय ४ जनाको नाम तथा थरमा केही फरक परेकाले त्यसलाई पुनारावलोकन गरेर प्राधिकरणमा पठाईएको र १ सय ५० जनाभन्दा धेरैको नाम थर र ठेगाना मिलाएर पठाउनु पर्ने अवस्था रहेको शर्माले जानकारी दिए । ‘बजेटको समस्या छैन्, सम्झौता भएअनुसार प्रक्रिया पु¥याएर आउनेलाई रकम उपलव्ध गराउनु भन्ने निर्देशन छ’ शर्मा भन्छन् ‘लगतमा परेका समेत रकम लिन आएका छैनन् ।’ हालसम्म जिल्लाभर अघिल्लो आर्थिक बर्षमा ५ करोड ५४ लाख ५० हजार र यस आर्थिक बर्षमा २ करोड ८१ लाख ५० हजार रुपैया गरी ८ करोड ३६ लाख रुपैयाँ अनुदान बितरण भैसकेको छ ।
पहिलो किस्तको रकम पाएका पीडितहरुले पुर्ननिर्माण प्राधिकरणको निमय अनुसारको घर बनाउन थालेपछि पुनः दोस्रो किस्ताको रकम पाउने व्यवस्था रहेको छ । ‘पहिलो किस्ताको रकम लिएर घरको डिपिसि गरेर गाह्रो लगाउन थालेपछि दोस्रो किस्ताको रकमको प्रक्रिया सुरु हुन्छ’ शर्माले भने ‘दोस्रो किस्ताको प्रक्रिया सुर गर्न नगरपालिका तथा गाउँपालिकामा प्राधिकरणका तर्फबाट खटिएका प्राबिधिकले नापजाँच गरी सिफारिस गर्नुपर्ने हुन्छ ।’ पहिलो किस्ताको रकम लिएका पीडितलाई घर नबनाएको भए तत्काल काम सुरु गर्न र बनाएको भए प्राबिधिक चेकजाँच गरी दोस्रो किस्ताको रकमका लागि प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको शर्माले बताए ।