काठमाडौँ, ६ माघ – एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक पर्सि (सोमबार) बस्ने भएको छ । पार्टी एकताको साझा दस्तावेज बनाउनेलगायत विषयमा छलफलका लागि बैठक बस्न लागेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई उद्धृत गर्दै उनका प्रेस सहयोगी मनहरि तिमिल्सिनाले जानकारी दिए ।
एकता संयोजन समितिको बैठकका एजेन्डा तय गर्न शनिबार साँझ एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष दाहालबीच छलफल भएको थियो ।छलफलमा बैठकका एजेण्डाबारे छलफल भएको र सोमबार दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्ने माओवादी केन्द्रका अध्यक्ष दाहालले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
एमाले र माओवादीबीच नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्ने तयारी भइरहेको छ । प्रेस सहयोगी तिमिल्सिनाका अनुसार दुई शीर्ष नेताबीच संयुक्त कार्यदलले तयार पारेको राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकारको गठनसम्बन्धी रिपोर्टका बारेमा पनि छलफल भएको थियो ।
ओली र दाहालबीच हिजो पनि भेटवार्ता भएको थियो । दुई नेताले राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनको तर्फबाट ४३ पदका लागि उम्मेदवार उठाउन संयुक्त कार्यदलले गरेको प्रस्ताव अनुमोदन गरेका थिए । एमालेलाई २९ र माओवादीलाई १४ उम्मेदवार भाग लगाइएको छ ।
Previous Articleयस्ता छन् प्रदेश मन्त्रिपरिषद र मुख्यमन्त्रीका २५ जिम्मेवारी
Next Article डिएमसीको वार्षिकोत्सव