काठमाडौं, ६ माघ – अरू बेला आआफ्नै क्षेत्रको काममा व्यस्त रहने राजनीतिज्ञ, कलाकार, प्राध्यापक र सञ्चारकर्मी शुक्रबार भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फरक शैलीमा देखा परे। सधैंजसो देश विकासको एजेन्डा बोकेर विभिन्न सभा÷सम्मेलनमा सहभागी हुने विभिन्न राजनीतिक दलका नेताहरू शुक्रबार विपक्षीको प्रहारलाई चौका हुनबाट रोक्न बलको पछाडि सकिनसकी दौडिएको दृश्य दर्शकका लागि पनि नितान्त नौलो थियो।
यसैगरी सधैं सुटिङमा व्यस्त रहने अनि टेलिभिजनको पर्दामार्फत दर्शकलाई पेट मिचिमिची हाँस्न बाध्य बनाउने कलाकारले क्रिकेटको ब्याट नचाएको र बल हुइँक्याएको दृश्य पनि कम्ता रोचक थिएन, त्रिवि क्रिकेट मैदानमा। मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा शुक्रबार राजधानीमा सुरु भएको क्रिकेट कार्निभलमा फरक क्षेत्रका व्यक्तित्वहरू केही समय भए पनि क्रिकेटमा रमाए।
कार्निभलअन्तर्गत कलाकार, राजनीतिज्ञ, खेलाडी र सञ्चारकर्मीको प्रदर्शनी खेल आयोजना गरिएको थियो। कलाकार, राजनीतिज्ञ, खेलाडी र सञ्चारकर्मीको दुई टोली बनाइएको थियो। प्रदर्शनी खेलमा नीलो टोलीले रातो टोलीलाई ५० रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको नीलो टोलीले निर्धारित १० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय १५ रन बनायो। नीलो टोलीका लागि पूर्वगृहमन्त्री जनार्दन शर्माले सर्वाधिक ३० रनको योगदान गरे। यस अर्थमा राजनीतिका यी चतुर खेलाडीले क्रिकेटमा पनि आफूलाई सफल साबित गरे।
अलराउन्डको भूमिका निर्वाह गरेका शर्माले पहिले बलिङ गर्दै रातो टोलीको पालिलाई ध्वस्त बनाएका थिए। उनले पहिलो ओभरमा नायक रमेश उप्रेती र गजित विष्टलाई पेभेलिन फर्काए। जवाफी ब्याटिङ गरेको रातो टोलीले १० ओभरमा पाँच विकेट गुमाएर ६५ रनमात्र बनाउन सक्यो। खेलपछि नेता शर्माले राजनीतिज्ञले सधैंजसो नियम मिचिरहने भए पनि आफूले क्रिकेटको नियम थाहा नपाउँदा आउट हुन परेको प्रतिक्रिया दिए।
‘नेपालका राजनीतिज्ञले सधैं नियम मिचिरहेका हुन्छन्। मचाहिँ क्रिकेटको नियम थाहा नपाएर आउट भएँ’, शर्माले भने। उनी नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डेको बलमा स्टम्पिङ भएर पेभेलियन फर्किएका थिए। पहिलोपटक क्रिकेट मैदानमा उत्रिएका शर्माले केही समय अभ्यास गरेमा आफू खेलाडी बन्नसक्ने पनि बताउन भ्याए।
‘मैले पहिलोपटक क्रिकेट खेलेको हो। अलिकति प्राक्टिस गरेँ भने म पनि खेलाडी बन्न सक्छु’, शर्माले भने, ‘म पनि छक्का र चौका हिर्काउन सक्छु।’ हास्य कलाकार दीपा श्री निरौलाले प्रदर्शनी खेलमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरिन्। नीलो टोलीबाट खेलेकी उनले पाँच रन बनाएकी थिइन्। यसैगरी कलाकार निर्मल शर्माले कार्निभलले विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट हुने अवसर जुराइदिएको बताए। यसैगरी अर्का हाँस्य कलाकार दिपकराज गिरीले खेललाई रोचक बनाउन फरक शैलीमा क्रिकेट खेलेको बताए। अन्न्पूर्णपोष्ट
Previous Article६ माघ २०७४, ढोरपाटन दैनिक
Next Article एमाले-माओवादी एकता प्रयास निर्णायक मोडमा