बागलुङ, २९ पुस – चिनियाँ इन्टरनेट व्यावसायिक रूपमा नेपाल भित्रिएको छ । नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसँग इन्टरनेट खरिद गरी नेपाल भित्र्याएको हो । भारतबाहेक अन्य मुलुकबाट नेपालमा व्यावसायिक प्रयोजनका लागि यसअघि इन्टरनेट सेवा भित्रिएको थिएन । टेलिकमले रसुवाको केरुङ नाकाबाट नेपालमा इन्टरनेट भित्र्याएको हो ।
काठमाडौंमा शुक्रबार सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले टेलिकम र चाइना टेलिकम ग्लोबलबीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको उद्घाटन गरे । चीनबाट इन्टरनेट भित्र्याउने पहल एक दशकभन्दा अघिदेखि नै थालिए पनि दुई वर्षअघिको भारतीय नाकाबन्दीपछि यसले तीव्रता पाएको थियो ।
यसअघि टेलिकमले तातोपानी नाका हुँदै चाइना टेलिकम्युनिकेसन कर्पोरेसनसँग इन्टरनेट खरिद प्रक्रिया सुरु गरेको थियो । तर, भूकम्पपछि तातोपानी नाका वरपरका पूर्वाधारमा क्षति पुगेको भन्दै केरुङ नाकाबाट इन्टरनेट भित्र्याइएको हो । ‘इन्टरनेटबाट पहिलोपटक नेपाल र चीन जोडिएका छन्,’ टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन् । तातोपानी नाकासम्म फाइबर पुगेर पूर्वाधार निर्माण भए पनि इन्टरनेट नजोडिएको उनले बताइन् ।
Previous Article२९ पुस २०७४, ढोरपाटन दैनिक
Next Article स्वास्थ्यमन्त्री र डा.केसीविच सहमति, अनशन तोड्दै