बागलुङ, २७ पुस – चार महिनादेखि विनाविभागीय मन्त्री रहेका नेकपा (माओवादी केन्द्र)का मन्त्रीले एकमुष्ट राजीनामा दिने भएका छन्। विनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले पार्टीकोतर्फबाट सरकार छोड्ने निर्णय भएको बताए। उनले एकमुष्ट राजीनामा दिने तयारी भइरहेको बताए।
उनले पार्टीकोतर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने पार्टीले निर्णय गरेको बताए। बस्नेतले भने, ‘सरकार छाड्ने निर्णय भएको छ, उपप्रधानमन्त्री महराले राजीनामा बुझाउनु हुनेछ।’ उनले बिहीबार नै राजीनामा बुझाउने कार्यक्रम रहेपनि बिदाका कारण शुक्रबार सर्न सक्ने बताए।
देउवा सरकारमा माओवादी केन्द्रका नौ मन्त्री, सात राज्यमन्त्रीसहित १६ जना मन्त्री छन्। उपप्रधानमन्त्री तथा विनाविभागीय मन्त्री महरा, मन्त्रीहरु गिरिराजमणि पोखरेल,जनार्दन शर्मा, प्रभु शाह, टेकबहादुर बस्नेत, शिवकुमार मण्डल, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारुले राजीनामा दिँदै छन्। त्यस्तै राज्यमन्त्रीहरुमा मोहम्मद जाकिर हुसेन, रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर, वाङदी शेर्पाले पनि देउवा सरकार छाड्ने छन्।
माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई दिएको जिम्मेवारी खोसिदिएका थिए । एमालेसँग तालमेल गरेर चुनाव लडेपनि माओवादी मन्त्रीहरु विनाविभागिय हैसियतमा सरकारका बसिरहेका छन् ।जिम्मेवारी खोसिएसँगै राजीनामा गर्ने तयारी गरेका माओवादी मन्त्रीहरु सरकारले चुनाव सार्ने चलखेल गरेको भन्दै राजीनामा नगरी बसेका थिए ।
Previous Article२७ पुस २०७४, ढोरपाटन दैनिक
Next Article पृथ्वीनारायण र उनको योगदानलाई भुल्दै गएकोमा चिन्ता