देशमा राज्यको उपस्थिती रहेको क्षेत्र होस् या निजी क्षेत्र र गैह्रसरकारी संघ संस्थाको क्षेत्र होस सर्वसाधारणका सामान्य कामको लागि पनि कुनै न कुनै एजेण्टहरुको प्रयोग गर्नुपर्ने बाध्यता बिद्यमान छ । संक्रमणमा रहेको राज्यको उपस्थिती कम भएका बेला बिभिन्न बहानामा ठेकेदारहरले सर्वसाधारणका काम गर्नको लागि जिम्मेबारी लिएको बहानामा आम सर्वसाधारण लुटिने गरेको यथार्थ त हाम्रो सामु बिद्यमान छँदैछ । देशकै गहनाको रुपमा परिचय बनाएको कला र संस्कृति तथा सांगीतिक क्षेत्रका धरोहरमा पनि पछिल्लो समय ठेकेदारी प्रथा हाबी हुँदै गएको छ । पछिल्लो समयमा कलाकारको आम्दानीको मुख्य स्रोत भनेको स्थलगत कार्यक्रमहरु हुन् । कलाकारिताको मैदानमा भर्खर पाईला टेकेका हुन् या बर्षौं यो क्षेत्रमा काम गरेर ख्याती कमाएका कलाकार नै किन नहुन यतिबेला उनीहरुको आम्दानीको मुख्य स्रोत देश–बिदेशमा हुने कार्यक्रम हुन् ।
क्यासेट बजारमा बिक्न छोडेको छ । सिआरबिट, पिआरबिटी जस्ता फोनको कलमा बज्ने ध्वनी र आधुनिक युट्युव च्यानलले निश्चित कोटा पुगेपछि मात्रै दिने रोयल्टीले कलाकारहरुले यस क्षेत्रमा गरेको लगानी उठ्नेवाला छैन् । किनभने त्यो रकम निकै न्युन हुन्छ भने उनीहरुले गरेको खर्च भनेको धेरै ठुलो मात्रामा रहेको हुन्छ । अर्कोतर्फ आधुनिक डिजिटल प्रबिधिका कारण व्यवसायिक हिसावबाट बजारमा आएका गीत संगीत मुल्यमा बिक्री हुनुको साटो चरम चोरी पैठारीको सिकार बनिरहेको अवस्था छ । पेशागत हिसाबले आधुनिक दुनियाँसँग संघर्ष गरिरहेका कलाकारहरु यतिबेला आफ्नै कालाकारीता भित्रका ठेकेदार र बाहिरी बजारका ठेकेदारहरुका कारण मारमा परेका छन् । पछिल्लो समय स्टेजमा हुने कार्यक्रममा स्थान बिषेशका स्थानिय र नाम चलेका राष्ट्रिय कलाकारलाई निकै चर्को मुल्य तिरेर ल्याउने र दर्शकबाट रकम असुल्ने गरिएको छ । दर्शक तान्नकै लागि प्रयोग गरिएका कलाकार यो वा त्यो ढंगले यस्ता कार्यक्रममा प्रयोग भएका हुन्छन् । उनीहरु प्रयोग मात्रै भएका छैनन् । चरम श्रम शोषणको सिकार पनि भैरहेका तथ्यहरु बाहिर आउन थालेका छन् ।
प्रायः गरेर निजी तथा सामाजिक क्षेत्रमा हुने यस्ता खालका कार्यक्रममा कलाकारलाई ल्याउनको लागि कुनै आधिकारी संस्थाको सट्टा सांगीतिक क्षेत्रका ठेकेदारको प्रयोग बढि हुने गरेको छ । आयोजकले ठेकेदारसँग मोलमोलाई गर्ने र ठेकेदारले कलाकारसँग श्रमको मोलतोल गरेर कार्यक्रममा ल्याउने परिपाटीको बिस्तारै बिकास हुँदै गैरहेको छ । यसका कारण एकातर्फ आफ्नो व्यवसाय नाफा मुखी भन्दा सेवामुखी बन्दै गएको बेला यस क्षेत्रमा मेहेनत गर्नेहरु मर्कामा परेका छन्भने अर्कोतर्फ कलाकारका नाममा बिचौलीया ठेकेदारले आयोजकबाट निकै ठुलो रकम असुल्दा आयोजकहरु स्वयम मर्कामा परेका छन् । यसै पनि बजार खस्केको अवस्थामा कलाकारिताको बजारमा संघर्ष गरिरहेका कलाकारलाई टिकाउन गाह्रो छ भने बिचौलीया ठेकेदारका कारण स्थलगत कार्यक्रममा समेत यदि आयोजकले कलाकारको महसुस कम गर्न थाले भने के होला । पेशा गरेर खान पाउने कसैको अधिकार कुण्ठीत नहुने गरी कलाकारिता क्षेत्र भित्रको ठेकेदारी प्रथा तत्काल नियन्त्रण गर्नुपर्छ । यदि त्यसो गरिएन भने समयले कलाकारलाई ठुलो मुल्य चुकाउन बाध्य पार्ने छ ।
Previous Articleमहोत्सवलाई नियालेर हेर्दा
Next Article २०७४ पुस २६ गते बुधबारको राशिफल