काठमाडौँ, २५ पुस-अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् ।
सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् ।
माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा. केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए ।अनसनलगत्तै सर्वोच्चले उनलाई सोमबार राति पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखेको थियो । मंगलबार अदालतमा उपस्थित हुन आदेश दिएको थियो । डा. केसीलाई अहिले ९ बजे अदालतमा सर्वोच्च अदालतमा उपस्थित गराइँदैछ ।