काठमाडौँ, २३ पुस – पूर्वसभामुख सुवास नेम्वाङले निर्वाचनमा प्राप्त जनादेशलाई निर्वाचन आयोगले दराजमा थन्क्याइरहेको भन्दै रोष प्रकट गरेका छन् । संविधानको त्रुटिले नभइ पालनाकर्ताहरुको नियतका कारण गलत व्याख्या भएकोमा आश्चर्य प्रकट गर्दै नेम्वाङले आयोग र सरकारलाई जनमतको सम्मान गर्न आग्रह गरे ।
‘प्रश्न सरकारमा शेरबहादुर देउवा रहने वा केपी ओली रहने भन्ने होइन, कति लोकतान्त्रिक बन्न सक्यौं भन्ने हो’, सञ्चार केन्द्र नेपालद्वारा आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले भने- ‘जनताले अपार सहभागितासहित दिएको जनादेशलाई दराजमा थन्क्याउन मिल्दैन ।’
एमालेका नेतासमेत रहेका नेम्वाङले जनमतअनुसार नयाँ सरकार गठनमा ढिलाई, वाम एकता प्रक्रिया, सरकार र निर्वाचन आयोगको भूमिकाबारे सार्वजनिक रुपमा टीकाटिप्पणी हुन थालेकोले राज्यका जिम्मेवार निकायको ध्यानाकृष्ट हुनुपर्ने सुझाए । राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश जारी भएपछि सरकारबाट राजीनामा दिन्छु भनी देउवाले दिएको अभिव्यक्ति कार्यान्वयन नभएकोमा पनि उनले आशंका उठाए ।
‘अध्यादेश जारी भयो, राजीनामा आएन । राष्ट्रिय सभाको चुनाव हुनुपर्छ भन्न थालिएको छ’, नयाँ सरकारका लागि मार्गप्रशस्त नगरेको भन्दै नेम्वाङले भने-‘यस्तो लाग्छ, राष्ट्रिय सभापछि विद्यार्थी युनियनको पनि चुनाव छ, त्यसपछि राजीनामा आउला भनी जनमानसले व्यंग्य गर्न थालेका छन् । यो राम्रो होइन ।’
आयोगले प्रतिनिधिसभामा ३३ प्रतिशतको सुनिश्चितासम्बन्धी प्रश्न उठाएको तर अहिले नै मत परिणाम सार्वजनिक गर्दा महिला सांसद ३७ प्रतिशत हुने जानकारी नेम्वाङले दिए । ‘आयोगले अहिले मत परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदा संसदमा महिला सहभागिता ३७ प्रतिशत हुन्छ । राष्ट्रिय सभाको चुनावपछि गर्ने हो भन्ने त्यो भन्दा कम हुने पक्का छ’, उनको प्रश्न थियो -‘यो वा त्यो नाममा आयोग महिला सहभागिता बढाउन चाहन्छ कि घटाउन, मैले बुझ्न सकिनँ ।’
संविधानसभाका अध्यक्षसहित रहेका नेम्वाङले आफ्नो अध्यक्षतामा बनेको संविधान जारी भएताका दिएका अभिव्यक्ति स्मरण गराउँदै भने – ‘राम्रो संविधान बनेको छ । संविधानले व्यवस्था दिने हो । बुद्धि, विवेक र क्षमता दिँदैन । संविधान कार्यान्वयन गर्नेले यो कुरालाई ध्यान दिनुपर्छ भनी मैले त्यतिबेलै भनेको थिएँ । अहिले स–साना छिद्र खोज्दै आफ्नो आयू लम्बाउन सरकारले मिल्दैन ।’
ठूला लोकतान्त्रिक मुलुकमा समेत नयाँ जनादेश आएपछि त्यसको पालना गर्ने, सरकारबाट बिदा हुने र विजयीलाई बधाई दिने प्रचलन स्मरण गर्दै नेम्वाङले कटाक्ष गरे–‘हामीकहाँ प्रधानमन्त्रीज्यूले त्यो पनि कञ्जुस्याइँ गर्नुभयो । परिणाम आएको महिना बित्यो, ३ दिन अघि बधाई दिनुभयो ।’ वाम तालमेल र एकता प्रक्रिया अघि बढिरहेको भन्दै उनले दुवै पार्टीका अध्यक्षको सल्लाहमा सबै काम भइरहेको जानकारी दिए ।