पोखरा, २१ पुस – पोखरा लेखनाथ महानगरपालिकाले गत ९ असोज राति पोखराको पृथ्वीचोकमा डोजर चलायो। नाम पृथ्वीचोक, तर त्यहाँ पृथ्वीनारायण शाहको शालिक थिएन। बरु नेपालका प्रथम शहीद लखन थापाको शालिक थियो। शालिक राखिएको आइल्याण्डले सवारी आवागमनमा बाधा पुर्याएको भन्दै मेयर मानबहादुर जिसीको अगुवाइमा शालिक हटाइपछि स्थानीय मगर समुदाय आक्रोसित भयो। बिरोध सुरु हुनासाथ मेयर जिसी हच्किए।
मुखैमा आएको केन्द्र तथा प्रदेशको निर्वाचनमा जनजातिहरुलाई बिच्काउन उनले सायद उचित ठानेनन्। त्यसैले, शालिक भत्काएको २४ घण्टा नबित्दै शालिक पुनस्र्थापनाको सहमति बन्यो। आफैले भत्काएको शालिक राख्न महानगरपालिकाले रकम बिनियोजन पनि गर्यो। केही सानो आकारमा आइल्याण्ड तयार गरी लखन थापाको शालिक राखियो।
भत्काउन त मेयरले अन्य चोकमा रहेका शालिक पनि भत्काएका थिए तर उनी लखनचोकमा रोकिए। राम्रो काम गर्न लागेको भन्दै वाहवाही पाएका मेयर एकाएक निर्णय–क्षमताविहीनमा दरिए। उनको निर्णय क्षमतालाई लिएर माओवादी केन्द्रका नेता राजकाजी गुरुङले त फेसबुकमै लेखे, ‘२४ घण्टा पनि नटिक्ने निर्णय किन गरेको?’
मेयर जिसीको निर्णय क्षमतामाथि एकपछि अर्को प्रश्नचिन्ह खडा हुँदै गर्दा महानगरपालिकाले शालिक व्यवस्थापनको लागि उपमेयर मञ्जुदेवी गुरुङलाई अगाडि सारेको छ। उपमेयर गुरुङले चोक–चोकमा रहेका शालिक हटाएर पोखरा–लेखनाथ महानगरपालिकास्थित सराङकोटको जामुने बोटमा शहीद पार्क बनाउने नयाँ प्रस्ताव अगाडि सारेकी छन्।
बिहीबार प्रस्तावित पार्कको निरिक्षणपछि गुरुङले भनिन्, ‘महानगरपालिकाले शहीदका शालिक ब्यवस्थित गर्न उदासिन बनेको जनगुनासोको सम्वोधन गर्न यो कदम चालिएको हो।’ सराङकोटमा रहेको ५७ रोपनी क्षेत्रफलमा रहेको जग्गामा पार्क बनाउने गरी गुरुयोजना निर्माणमा जुटेको महानगरपालिकाका इन्जिनियर महेन्द्रबहादुर गोदारले जानकारी दिए। ‘हामीले पहिलो चरणमा जग्गा छुटयाउने र पर्खाल लगाउन आवश्यक बजेटका लागि लागत स्टिमेट गर्दछौ, त्यसपछि पार्कको गुरुयोजना निर्माण गर्छौं।’
पोखरा लेखनाथ महानगरपालिकाले सडक फराकिलो बनाउने अभियान अन्तर्गत असोजमा पृथ्वीचोकमा रहेको लखन थापाको शालिक, अमरसिंहचोकको अमरसिंह थापाको शालिक, जिरोकिलोमिटरको योगेन्द्र शेरचनको शालिक हटाएको थियो। पार्क बनाउने ठाउँ खोजी गरेपनि योजना अगाडि बढ्नेमा भने आम पोखरेलीमा शंका रहेको छ।
Previous Articleमतपरिणाम समयमै पेस गरौं – राष्ट्रपति भण्डारी
Next Article २१ पुस २०७४, ढोरपाटन दैनिक