चितवन, २० पुस – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताबारे पत्रपत्रिकामा बोल्नु जरुरी नभएको बताएका छन्। बिहीबार चितवनमा प्रेस चौतारी र प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्। उच्च नेतृत्वबीच पार्टी एकताका विषयमा गम्भीर छलफल भइरहेकै बेला तल्लो तहका नेताले अनावश्यक अभिव्यक्ति दिएकोप्रति प्रचण्डले आपत्ति जनाए।
‘पार्टी एकताको विषयमा उच्च नेतृत्वबीच गम्भीर छलफल भइराखेको छ’, प्रचण्डले भने, ‘पार्टी एकताको विषयमा केही साथीहरुले गलत कुरा बोल्नुभयो, पार्टी एकताको बारेमा पत्रपत्रिकामा बोल्नु जरुरी छैन।’ पार्टी एकता संयोजन समितिले सबै विषयमा गम्भीरताका साथ छलफल गर्ने भन्दै प्रचण्डले विवाद नयाँ पार्टी अध्यक्ष र प्रधानमन्त्रीमा नभएको प्रष्ट पारेका छन्।
‘दुवै नेतालाई जिम्मेवारी दिने विषयमा सहमति भइसकेको छ’, प्रचण्डले भने, ‘हामी अल्झिएको अध्यक्ष र प्रधानमन्त्रीमा होइन सुशासन र समृद्धिमा हो।’ उनले राष्ट्रिय सभाको निर्वाचन लगत्तै सरकार गठनको प्रक्रिया अघि बढ्ने समेत बताएका छन्।