गत शुक्रवार देखि पाँचौ बागलुङ महोत्सव शुरु भएको छ । यो महोत्सव बागलुङबासीको पहिचान, शान र भाग्यरेखाको रुपमा लिएर सबैले साथ र सहयोग गरेका छन् । प्रदेश नम्बर ४ स्तरीय कृषि, औद्योगिक व्यपार मेलाको नाम दिइएको छ । साथै लघु घरेलु बस्तुहरुको विक्रिको लागि यो मेला भनेर जसरी प्रचार गरिएको थियो त्यो हुन सकेको छैन । नत महोत्सवमा प्रचार गरिएझै कलाकार ल्याइएको छ । प्रवेशद्वारमा गएर एकैछिन बस्दा टिकट काट्नेहरुको तुलनामा पास बोकेका हरु धेरै प्रवेश गरिरेको भेटिन्छ । महोत्सवलाई जति रौनकता दिनु पर्नेहो त्यस्तो दिनमा आयोजकहरु कतै चुकेको भेटिएको छ । तर पनि बागलुङबासीले महोत्सवलाई सहयोग गरेका छन् । त्यसमा पनि संचारमाध्यम र पत्रकार महासंघले सिंगो महोत्सवको गौरवनै बागलुङको गौरवको रुपमा लिएर प्रचारप्रसार गरिरहेको छ ।
यसअघि ४ वटा महोत्सव भएका थिए । ती महोत्सवमा पनि नाराहरु भने यस्तै थिए । तुलनात्मक रुपमा ती महोत्सवको रौनकता अलि बढी थियो । ती सबै महोत्सव चैतेदशै पर्वको अवसर पारेर गरिएका थिए । तर अहिले पुसमा गरिएको छ । तुलनात्मक रुपमा सबैलाई फुर्सद हुने समय पुस हो, तर यो समयलाई सोचेजती प्रयोगमा ल्याउन नसकिएको हो की भन्ने भान सबैलाई भएको छ । त्यस्तै बागलुङको मौलिक संस्कृतिलाई प्राथमिकता नदिएको गुनासो पनि आएको छ । ग्रामीण किसानले उत्पादन गरेका कृषिजन्य, घरेलु प्रयोगका सामान र गाउँगाउँका कला तथा संस्कृतिलाई प्राथमिकता नदिएको गुनासोका बीच महोत्सव संचालनमा छ । महोत्सवले समावेश गर्नुपर्ने बिषय,क्षेत्र र संस्कृति विपरित आयातित संस्कृति, आयातित उपभोग्य बस्तु बढी देखिनुले कतै महोत्सवलाई सोचेजति सफलतामा लैजान नसकिएको हो की एकपटक समिक्षा गर्ने बिषय बनेको छ ।
अर्कोतर्फ महोत्सवको पारदर्शीताको कुरा आउँछ । महोत्सवमा कति आम्दानी हुन्छ ? कति खर्च हुन्छ ? ती खर्चहरु जायज छन् वा छैनन् ? कति खर्च गर्नै पर्ने हुन् ? कति खर्च कटौती गरेर जोगाउन सकिन्छ ? यस्ता थुप्रै प्रश्न पनि उठेका छन् । समयमा खर्च विवरण सार्वजनिक नगर्ने, ६ महिना पछि जसरी तसरी एउटा पानामा खर्च सार्वजनिक गर्ने चलनले पारदर्शीतामा शंका उत्पन्न गर्छ । समय सिमा भन्दा ढीला गरी खर्च सार्वजनिक गरेकोले सर्वसाधारणले कुनै प्रतिक्रिया दिंदैनन् । तर समयमै गर्ने हो भने त्यसमा प्रसस्त सुझाव पनि आउने थिए । प्रचार प्रसार भन्ने शिर्षकमा जहिले पनि स्पष्ट पारिएको हुँदैन । संचार माध्यममा कति रकम खर्च भयो ? अनि अन्य प्रचारमा कति भन्ने यकिन नगरी पर्चा छापेको देखि टोल सिगारेको खर्चलाई प्रचार भनेर थुपार्ने काम धेरै पटक भएका छन् । यस्तो काम बागलुङ महोत्सव मात्र नभएर गाउँगाउँमा हुने मेला, कालिका भगवती गुठीलेगर्ने महोत्सव समेतमा बढी देखिन्छ । महोत्सवको अर्को महत्वपूर्ण पक्ष भनेको बचतको कुरा हो । कति बचत गरेर उल्लेख्य के गर्न सकिन्छ ? महोत्सव गरेर व्यवसाय प्रवद्र्धनमा सहयोग गरेका छौं भन्ने रेडिमेट उत्तर उद्योग बाणिज्य संघ संग छ । तर बचतबाट सामाजिक उत्तरदायित्व बहन हुने कम्तिमा एकएकवटा काम गरेर देखाउन सकियो भने नीजिक्षेत्रको छाता संगठन मात्र नभएर बिकासको साझेदार संस्था पनि हो भनेर आम जनताले सम्मान गर्ने वातावरण बन्ने छ । त्यसकालागि उद्योग बाणिज्य संघले आजैदेखि पहल गरेर महोत्सव सकिएको एक महिना भित्र खर्च सार्वजनिक गरेर जानेहो भने आगामी महोत्सव प्रति आर्कषण बढेर जाने देखिन्छ ।