काठमाडौं, १८ पुस – प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै मंगलबार प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । अनेरास्ववियुले १८ पुस मंगलवार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो ।
त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीले प्रधानमन्त्री देउवा र प्रमुख निर्वाचन आयुक्त यादवको पुत्ला प्रहरीले खोसेपछि झडप भएको अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालले जानकारी दिइन्। पुत्ला खोस्ने क्रममा प्रहरीले लाठी प्रहार गरेको थियो ।झडपमा विद्यार्थीले ढुङ्गा हान्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरिएको थियो । अश्रुग्यास प्रहारपछि विद्यार्थी तितरवितर भएका थिए।
लाठी प्रहारबाट अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला र महासचिव ऐन महर घाइते भएका छन् । बर्तौलाको टाउको र महरको खुट्टामा चोट लागेको छ ।बर्तौलाको टाउकामा १७ वटा टाँका लगाइएको सचिव समीक बडालले जानकारी दिए। दुबैको प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ । रासस
पेट्रोलियम पदार्थ मूल्य वृद्धिको विरोध गर्ने विद्यार्थी रक्ताम्मे
Previous Articleसमानुपातिक सूची सच्याउन ६ पार्टीलाई पत्राचार
Next Article यी हुन सात प्रदेशका प्रस्तावित अस्थायी राजधानी